+
+
Shares

मधेशमा आधा खेत बाँझै, रोपाइँ भए पनि उत्पादकत्व घट्ने

धान उत्पादन घट्नासाथ आपूर्ति शृङ्खला नै प्रभावित हुन पुगी धानचामल आयातमा वृद्धि भएर झनै महँगी बढ्छ । समग्र धान उत्पादन घट्दा जीडीपीमै असर पर्छ ।  

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ साउन १५ गते २२:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशमा आर्थिक वर्ष २०८१/८२ को १३ साउनसम्म ९० प्रतिशत धान रोपाइँ भइसकेको थियो भने यस वर्ष ११ साउनसम्म ५१ प्रतिशत मात्रै रोपाइँ भएको छ।
  • मौसम प्रतिकूल र सिँचाइको अभावले मधेशका सिरहा, धनुषा, सप्तरी, महोत्तरी र सर्लाही जिल्लामा धान रोपाइँमा समस्या आएको कृषि मन्त्रालयले जनाएको छ।
  • धान रोपाइँमा कमीले मधेशमा धान उत्पादन २० प्रतिशतभन्दा बढी घट्ने र यसले देशको खाद्य सुरक्षा र जीडीपीमा असर पार्ने कृषि मन्त्रालयका वरिष्ठ अधिकारीले बताएका छन्।

१५ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ को १३ साउनसम्म मधेश प्रदेशमा ९० प्रतिशत धान रोपाइँ भइसकेको थियो । यस वर्ष भने ११ साउनसम्म ५१ प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।

मधेशमा धान रोपाइँ हुने कुल ३ लाख ७३ हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमध्ये १ लाख ९३ हजार १ सय १६ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकले देखाउँछ  ।

यस वर्ष मौसम प्रतिकूल बन्दा मधेशमा रोपाइँ हुन सकेको छैन । यतिबेला मधेशमा रोपाइँ सकिनुपर्ने बेला भए पनि अझै रोपाइँ हुन सकेन । कारण हो– समयमै पानी नपर्नु, सिँचाइको व्यवस्था नहुनु  ।

रोपाइँ भइसकेका खेतमा पनि सिँचाइ सुविधा नहुँदा चिराचिरा परेको छ । सिँचाइको व्यवस्था नहुँदा र आकाशे पानीको भर पर्नुपर्ने बाध्यताले किसानले धान रोप्न नपाएका हुन् ।

कृषि मन्त्रालयका अनुसार मधेश प्रदेशका सिरहा, धनुषा, सप्तरी, महोत्तरी र सर्लाही जिल्लामा रोपाइँमा समस्या भएको छ ।

मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालय धनुषाका सूचना अधिकारी सुदीप चौधरीले ५ जिल्लामा कम रोपाइँ भएको जानकारी दिए ।

‘मधेशको धान रोपाइँ हुने ३ लाख ७२ हजार हेक्टरमा अहिलेसम्म १ लाख ९२ हजार हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको छ,’ चौधरीले अनलाइनखबरसँग भने, ‘रोपेको खेतमा पनि सिँचाइ नहुँदा धाँजा फाटेको छ ।’

कृषि विकास निर्देशनालय धनुषाका अनुसार सिरहाको धान रोपाइँ हुने कुल क्षेत्रफल ५४ हजार हेक्टरमध्ये २० हजार ५ सय २० हेक्टरमा जम्मा ३८ प्रतिशत रोपाइँ भएको छ ।

धनुषामा ४३ हजार ७ सय हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये जम्मा १५ हजार २ सय ९५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । उक्त क्षेत्रफलमा ३५ प्रतिशत मात्रै रोपाइँ भएको छ ।

यस्तै बारामा रोपाइँ हुने कुल क्षेत्रफल ४६ हजार २० हेक्टरमध्ये ३८ हजार ८ सय १६ हेक्टर अर्थात् ८० प्रतिशत रोपाइँ सकिएको छ ।

पर्सामा भने सबैभन्दा धेरै ८१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । धान रोपाइँ हुने ३९ हजार ७ सय ३१ हेक्टरमध्ये ३२ हजार १ सय ३२.११ हेक्टरमा रोपाइँ भएको छ ।

यसैगरी रौतहटमा ३५ हजार हेक्टरमध्ये २३ हजार ८ सय हेक्टरमा अर्थात् ६८ प्रतिशत रोपाइँ भएको छ । सर्लाहीमा ४३ हजार ६ सय ९४ मध्ये २४ हजार ४ सय ६८ हेक्टरमा रोपाइँ भएको छ । यो भनेको ५६ प्रतिशत हो ।

सप्तरीमा भने ३७ प्रतिशत मात्रै रोपाइँ हुन सकेको छ । सप्तरीमा ६८ हजार हेक्टर क्षेत्रफलमध्ये २५ हजार १ सय ६० हेक्टरमा मात्रै रोपाइँ हुन सकेको हो ।

महोत्तरीको धान रोपाइँ हुने कुल क्षेत्रफल ४२ हजार ५ सय हो । त्यसमध्ये १४ हजार ८ सय ७५ हेक्टरमा ३५.१२ प्रतिशत रोपाइँ भएको छ ।

मधेशकै बारा, पर्सा र सर्लाहीमा सन्तोषजनक रोपाइँ हुँदा धनुषा, महोत्तरी, सिरहा र सप्तरीमा रोपाइँको अवस्था न्यून छ ।

पर्याप्त वर्षा नहुँदा, बोरिङ, डिप ट्युबवेल पनि राम्रोसँग सञ्चालन हुन नसक्दा, भएका नहर मर्मत सम्भार नहुँदा यो वर्ष मधेशमा धान उत्पादनमा ठूलो गिरावट आउने देखिन्छ ।

विज्ञहरू भने मधेशमा पूर्णरोपाइँ हुन नसकेर खेत बाँझै रहने अवस्था सिर्जना हुँदा खाद्य संकटको जोखिम निम्तिन सक्ने बताउँछन् ।

जीडीपीमा पर्छ असर

कृषि मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ तथा सूचना अधिकारी महानन्द जोशी समयमै धान रोपाइँ नहुँदा खेत बाँझो रहने र खेत बाँझो रहँदा धान जति क्षेत्रफलमा उत्पादन हुन्थ्यो त्यति क्षेत्रफलमा उत्पादन नहुँदा समस्या पर्ने बताउँछन् ।

‘यदि अब पानी परेर रोपाइँ नै भयो भने पनि धेरै ढिला भइसक्छ,’ जोशीले अनलाइनखबरसँग भने, ‘धानको बुढो बेर्ना लगाउँदा पछि फेरि पानी परेन भने उत्पादकत्व घट्ने हुन्छ । मधेशबाट करिब साढे १३ लाख टन धान उत्पादन हुँदै गरेको अवस्थामा त्यसमा कमी आएर मधेसको खाद्य सुरक्षा र देशभरिकै धान चामलको उपलब्धतामा कमी आउँछ ।’

उनका अनुसार मधेशमा रोपाइँ नहुँदाको प्रत्यक्ष असर देशैभरि पुग्न जान्छ । मधेशमा उत्पादन हुने धानचामल मधेशमा मात्रै खपत नभई देशैभरि पुग्छ ।

‘उत्पादन घट्नासाथ आपूर्ति शृङ्खला नै प्रभावित हुन पुगी धानचामल आयातमा वृद्धि हुन गई महँगी बढ्छ,’ सूचना अधिकारी जोशी भन्छन्, ‘समग्र धान उत्पादन घट्दा कुल गार्हस्थ उत्पादन (जीडीपी) मै असर पर्छ ।’

जीडीपीमा कृषि क्षेत्रको योगदान २५.१ प्रतिशत हुँदा यसमा धानको हिस्सा सबैभन्दा धेरै छ ।

कृषि मन्त्रालयको तथ्यांकमा गत आर्थिक वर्ष धान उत्पादनले रेकर्ड राखिरहँदा भारतबाट ४० अर्ब बढीको धानचामल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

अन्न भन्डार नै मानिने मधेशलाई सुक्खाग्रस्त घोषणा नै गरिएको अवस्थामा  भारतबाट आयात बढ्ने स्पष्टै देखिएको छ । मधेसमा अझै पानी नपरेर सुक्खा नै भइरहने अवस्था रहेको खण्डमा धान उत्पादन २० प्रतिशतभन्दा धेरै घट्ने अनुमान सूचना अधिकारी जोशीको छ ।

‘साउन २० सम्म पनि रोपाइँ हुन सकेन भने मधेशमा धान उत्पादन २० प्रतिशतभन्दा धेरै घट्छ,’ उनी भन्छन्, ‘अहिलेसम्म मधेशमा आधा खेत बाँझै छ । साउन २० सम्म वर्षा भयो भने केही सुधार त हुन सक्ला । तर, धानको उत्पादन भने घट्ने निश्चित नै छ ।’

सबैभन्दा धेरै धान उत्पादन हुने क्षेत्र नै मधेश हो । अहिलेको अवस्थामा समग्र ५१ प्रतिशत मात्रै रोपाइँ भएको छ । साउन अन्तिम सातासम्म कति रोपाइँ हुन्छ, त्यसको आधारमा मात्रै धान उत्पादन कति घट्छ र त्यसले समग्र देशको धान उत्पादनमा कति असर पार्‍यो, त्यसको आधारमा जीडीपीमै कति प्रतिशत असर गर्‍यो भन्ने आकलन गर्न सकिने उनी बताउँछन् ।

‘जीडीपीमा धेरै ठूलो प्रतिशतमा नै असर गर्छ भन्न मिल्दैन, अरू कुराले रिकभर गर्न पनि सक्ला, तर असर भने पर्छ नै,’ उनी भन्छन् ।

यस्तो छ मधेशका ८ जिल्लाको ३ वर्षे धान उत्पादन

मधेशका ८ जिल्लामा पछिल्लो ३ वर्षको तथ्यांक केलाउँदा ६७ लाख २ हजार १ सय २२ टन धान उत्पादन भएको देखिन्छ ।

आव २०७८/७९ मा ती जिल्लामा कुल ६ लाख २० हजार ३ सय ८० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा २२ लाख १० हजार ९ सय ९० टन धान उत्पादन भएको थियो ।

यस्तै २०७९/८० मा कुल ६ लाख २३ हजार २ सय १ हेक्टर क्षेत्रफलमा २२ लाख ५७ हजार ४ सय ६९ टन धान उत्पादन भएको तथ्यांक छ ।

आव २०८०/८१ मा ती जिल्लामा कुल ७ लाख ३९ हजार ८ सय ८१ हेक्टर क्षेत्रफलमा २२ लाख ३३ हजार ६ सय ६३ टन धान उत्पादन भएको थियो ।

कुन जिल्लामा कति उत्पादन ?

आव २०७८/७९ मा सप्तरी जिल्लामा ७२ हजार ६ सय ५४ हेक्टर क्षेत्रफलमा २ लाख ४९ हजार ९ सय ८८ टन धान उत्पादन भएको थियो ।

यस्तै २०७९/८० मा ७६ हजार ७ सय ३ हेक्टर क्षेत्रफलमा २ लाख ६४ हजार ५ सय १६ टन धान उत्पादन भएको थियो भने  २०८०/८१ मा ९० हजार ५ सय ८७ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा २ लाख ८१ हजार २ सय ६१ टन उत्पादन भएको थियो ।

२०७८/७९ मा सिरहामा ६४ हजार ८ सय ७५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकामा २ लाख २० हजार ८ सय ६५ टन उत्पादन भएको थियो ।

यस्तै २०७९/८० मा ६७ हजार ३२ हेक्टर क्षेत्रफलमा २ लाख ३४ हजार ७ सय ५९ टन धान उत्पादन भएको तथ्यांक छ ।  २०८०/८१ मा सोही जिल्लामा ७५ हजार ५८ हेक्टर क्षेत्रफलमा २ लाख ४३ हजार १ सय १३ टन धान उत्पादन भएको थियो ।

धनुषामा २०७८/७९ मा ९७ हजार २ सय ४८ हेक्टर क्षेत्रफलमा ३ लाख १६ हजार ९ सय १३ टन धान उत्पादन भएकोमा २०७९/८० मा ९३ हजार ४ सय १७ हेक्टरमा रोपाइँ गर्दा ३ लाख १४ हजार ३ सय २५ टन धान उत्पादन भएको थियो ।

२०८०/८१ मा सोही जिल्लामा ८७ हजार ३ सय ८९ हजार हेक्टरमा धान रोपाइँ भएकोमा २ लाख २८ हजार ३ सय ५४ टन धान उत्पादन भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

२०७८/७९ मा महोत्तरी जिल्लामा ७८ हजार ५ सय ७६ हेक्टरमा २ लाख ७३ हजार २ सय ५२ टन धान उत्पादन भएको थियो ।

२०७९/८० मा ७३ हजार ५ सय १९ हेक्टर क्षेत्रफलमा २ लाख ४८ हजार ५ सय टन धान उत्पादन भएको थियो । यस्तै २०८०/८१ मा भने ८६ हजार १ सय ४३ हेक्टरमा २ लाख ४६ हजार ३ सय ३१ टन धान उत्पादन भएको थियो ।

आव २०७८/७९ मा सर्लाहीमा ८० हजार १ सय २३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । उक्त क्षेत्रफलमा रोपाइँ हुँदा २ लाख ७३ हजार १ सय ४९ टन धान उत्पादन भएको थियो ।

यस्तै २०७९/८० मा ८१ हजार ३ सय ३८ हेक्टरमा २ लाख ८० हजार ४ सय ५० टन धान उत्पादन भएको तथ्यांकमा उल्लेख छ । २०८०/८१ मा भने ८३ हजार ९ सय २५ हेक्टर क्षेत्रफलमा २ लाख ८६ हजार १ सय ७५ टन धान उत्पादन भएको थियो ।

आव २०७८/७९ मा रौतहटमा ६० हजार १ सय ७ हेक्टरमा १ लाख ९५ हजार ५ सय ५४ टन धान उत्पादन हुँदा २०७९/८० मा ५६ हजार ४ सय २९ हेक्टरमा २ लाख २ हजार ३ सय ६३ टन धान उत्पादन भएको थियो ।

यस्तै २०८०/८१ मा ६७ हजार ५९ हेक्टर क्षेत्रफलमा धान खेती हुँदा १ लाख ९७ हजार ८ सय ४१ टन धान उत्पादन भएको तथ्यांक छ ।

२०७८/७९ मा बारा जिल्लामा ९४ हजार ३ सय ५५ हेक्टरमा ३ लाख ५५ हजार ९ सय ८६ टन धान उत्पादन भएको थियो ।

यस्तै  २०७९/८० मा ९७ हजार ३ सय ८ हेक्टरमा ३ लाख ९८ हजार ७ सय ४४ टन धान उत्पादन हुँदा २०८०–८१ मा १ लाख ४ हजार ८८ हेक्टरमा ४ लाख ३१ हजार ४ सय १ टन धान उत्पादन भएको थियो ।

आव २०७८/७९ मा पर्सा जिल्लामा ७२ हजार ४ सय ४२ हेक्टर क्षेत्रफलमा ३ लाख २४ हजार ७ सय ८३ टन धान उत्पादन भएको थियो ।

२०७९/८० मा भने ७७ हजार ४ सय ५५ हेक्टरमा ३ लाख १३ हजार ९ सय १२ टन धान उत्पादन हुँदा २०८०/८१ मा भने १ लाख ३५ हजार ६ सय ३२ हेक्टरमा ३ लाख १८ हजार ७ सय ८७ टन धान उत्पादन भएको तथ्यांकले देखाउँछ ।

यसैगरी आव २०८१/८२ मा मधेशमा करिब १५ लाख टन धान उत्पादन भएको थियो ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?