
News Summary
Generated by OK AI. Editorially reviewed.- यो साता सेयर बजार २.०१ प्रतिशत अर्थात् ६० अंक घटेर २९८२ बाट २९२२ मा झर्यो।
- मंगलबार बजार ३००२ अंकमा पुगेर गत वर्षको उच्चतम रेकर्ड तोड्यो।
- हाल बजारको घटाइलाई करेक्सन मानिएको छ, जुन असार १५ देखि साउन १३ सम्म १५.६८ प्रतिशत बढेको थियो।
१६ साउन, काठमाडौं । यो साता सेयर बजार २.०१ प्रतिशत अर्थात् ६० अंक घटेको छ । गत साता २९८२ अंकमा रहेको बजार यो साता २९२२ मा झर्यो ।
यो साता बजारले गत वर्षको उच्चतम रेकर्डलाई तोड्यो । गत मंगलबार सेयर बजार ३००२ अंकमा पुगेको थियो । यसअघि गत वर्षको साउन ३१ गते बजार ३ हजार अंक पुगेर झरेको थियो । २०७८ भदौ २ गते बजारले हालसम्मकै उच्चतम अंक ३१९८ को रेकर्ड बनाएको छ ।
यो साता ५ दिन कारोबार हुँदा तीन दिन बजार घट्यो भने दुई दिन बढ्यो । आइतबार १८.४४ अंक घटेको बजार सोमबार ७.१० बढ्यो । मंगलबार ३०.७६ अंक बढेर ३००२ अंकमा पुग्यो र गत वर्षको उचाइ जित्यो । बुधबार ४७.९३ र बिहीबार ३१.५० अंक घट्यो ।
यो साता कारोबार रकम उल्लेख्य छ । आइतबार २६ अर्ब ५७ करोडको कारोबार भयो । यो कारोबार रकम गत वर्षको भदौ २ यताकै उच्च हो । सोमबार १९ अर्ब ३६ करोडको भयो । मंगलबार १८ अर्ब ५२ करोडको कारोबार भयो । बुधबार १६ अर्ब ४४ करोडको कारोबार भयो ।
एक महिनामै १५ प्रतिशत बढेको बजार कति घट्ला ?
मंगलबार ३००२ अंकसम्म पुगेको बजारको अहिलेको घटाइलाई करेक्सनका रुपमा लिइएको छ । असार १५ देखि साउन १३ गतेसम्मको छोटो अवधिमै बजार १५.६८ प्रतिशत अर्थात् ४०७ अंक बढेको थियो ।
असार १५ गते कारोबार खुल्दा २५९५ अंकमा रहेको बजार साउन १३ गते ३००२ अंकमा पुग्यो । छोटो समयमा यति बढेकाले बजारको हालको ‘करेक्सन’ सामान्य भएको जानकार बताउँछन् । गत वर्ष ३ हजार अंकबाटै बजार झरेकाले लगानीकर्तामा अहिले मनोवैज्ञानिक प्रभाव परेको देखिन्छ ।
गत वर्ष ३१ साउनमा ३ हजार अंक पुगेपछि सोही वर्षको असोज १३ गते २४६४ अंकसम्म झर्यो । गत वर्षको गिरावट ठूलै देखिएकाले लगानीकर्ता अहिले पनि त्यस्तै अवस्था आउन सक्ने डरमा छन् ।
तर पोहोरको तुलनामा अहिले धेरै नीतिगत व्यवस्था सुधार भइसकेको छ । गत वर्ष ठूलो सेयर कर्जाको जोखिम भार १२५ प्रतिशत थियो, अहिले १०० प्रतिशत छ । व्यक्तिगत सेयर कर्जाको सीमा १५ करोड थियो, अहिले २५ करोड बनाइएको छ, सेयर कर्जा बढेको छ । यीसहित अन्य नीतिगत व्यवस्था सहज बन्दै गएको छ ।
वाणिज्य बैंकहरुको औसत आधार दर २०८१ जेठमा ८.१७ प्रतिशत रहेकोमा अहिले ६.०९ प्रतिशतमा झरेको छ । एक वर्षमा अधिक तरलता झन्डै दोब्बर बढेको छ ।
धेरै कारोबार भएका कम्पनी
यो साता रकमका आधारमा धेरै कारोबार भएकामा कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रह्यो । गत साता नेपाल पुनर्बीमा थियो । हिमालय रिइन्स्योरेन्सको साताभर ३ अर्ब ५५ करोडको कारोबार भयो ।
त्यस्तै दोस्रोमा रहेको शिवम् सिमेन्टको ३ अर्ब ४० करोडको भयो । त्यसपछि धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, ग्रिन भेन्चर्स, नेपाल पुनर्बीमा, हिमालयन डिस्टिलरी, लुम्बिनी विकास बैंक, राधि विद्युत्, सानिमा माइ हाइड्रोपावर, बुटवल पावर छन् ।
कारोबार संख्याका आधारमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, ङादी ग्रुप, निफ्रा, अरुण काबेली, सिंगटी हाइड्रोपावर, नेपाल पुनर्बीमा, ग्रिन भेन्चर्स र प्रभु बैंक रहे ।
आईपीओ, एफपीओ तथा हकप्रद सेयर खुलेका छन् ?
आम सर्वसाधरणका लागि हाल दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुलिरहेको छ । २४ लाख २३ हजार १८५ कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो । अंकित मूल्य १ सयका दरले न्यूनतम १० कित्ता सेयर साउन १९ गतेसम्म भर्न सकिनेछ ।
त्यस्तै वैदेशिक रोजगारमा रहेकालाई झापा इनर्जीको आईपीओ खुलिरहेको छ । उनीहरुले आइतबारसम्म आवेदन दिन सक्नेछन् ।
त्यस्तै स्थानीय प्रभावितका लागि झापा इनर्जीको आईपीओ खुलिरहेको छ । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ मा सौर्य विद्युत् आयोजना निर्माण गरिरहेको छ। प्रभावितका रुपमा आयोजना क्षेत्रबाट १०० मिटर वरपरको क्षेत्र पर्दछ । छिटोमा साउन २८ गतेसम्म यसमा आवेदन दिन सक्नेछन् ।
त्यस्तै तनहुँका प्रभावित स्थानीयका लागि पनि बन्दीपुर केबुलकारको आईपीओ खुलिरहेको छ । साउन २० गतेसम्म प्रभावितले आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितका रुपमा तनहुँ जिल्लाका बन्दीपुर गाउँपालिकाका सबै वडा, आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा नम्बर १ तथा गोरखा जिल्लाको पालुङटार नगरपालिका ७ का स्थानीय पर्दछन् ।
बझाङ जिल्लाका प्रभावित स्थानीयका लागि बुंगल हाइड्रोपावरको आईपीओ खुलिरहेको छ । प्रभावित स्थानीयले २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
५ कम्पनीको हकप्रद सेयरमा आवेदन खुलिरहेको छ । जोशी हाइड्रोपावर, बरुण हाइड्रोपावर, नेपाल इन्स्योरेन्स, पिपुल्स पावर र एसियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन खुलिरहेको छ ।
जोशीमा भदौ ४ गतेसम्म, बरुणमा साउन १९ गतेसम्म, पिपुल्समा साउन २६ सम्म, नेपाल इन्स्योरेन्समा साउन २६ सम्म र एसियन लाइफमा साउन १३ सम्म आवेदन दिन सकिनेछ । जोशीको ६५ प्रतिशत, बरुणको शत प्रतिशत, पिपुल्सको ५० प्रतिशत, नेपाल इन्स्योरेन्सको ३४.७८, एसियन लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत हकप्रद सेयर खुलेको हो ।
विश्वका ठूला बजार ओरालो लागे
नेपालजस्तो अरु मुलुकका स्टक मार्केट धेरै उतारचढाव हुँदैनन् । ठूला बजारले यो साता ओरालो गतिलाई निरन्तरता दिएका छन् । अमेरिकी स्टक मार्केट डाओ जोन्स इन्डेक्स यो साता १.४० प्रतिशत घट्यो ।
विगत एक महिनामा यो सूचक ०.८२ प्रतिशत घटेको छ । अमेरिकाकै एसएण्ड पी ५०० सूचक यो साता ०.४८ प्रतिशत घटेको छ । चीनको सांघाइ कम्पोजिट इन्डेक्स यो साता ०.९५ प्रतिशत घट्यो । विगत एक महिनामा यो सूचक २.९६ प्रतिशत बढेको छ ।
जापानको निक्की २२५ इन्डेक्स यो साता १.७३ प्रतिशत घटेको छ । विगत एक महिनामा यो सूचक २.०३ प्रतिशत बढेको छ ।
लण्डनको एफटीएसई १०० सूचक साताभर ०.५४ प्रतिशत घटेको छ । विगत एक महिनामा यो सूचक ३.२७ प्रतिशत बढेको छ । भारतको बीएसई सेन्सेक्स यो साता ०.४९ प्रतिशत घटेको छ । विगत १ महिनामा यो सूचक ३.३३ प्रतिशत घटेको छ ।
प्रतिक्रिया 4