
१७ साउन, काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संरक्षण नहुँदा नेपालमा स्वीट्जरल्याण्ड जस्ता हजारौं क्षेत्रहरू ओझेलमा परेको बताएका छन् ।
शनिबार काठमाडौंमा तारापति भट्टराई स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपाल सुन्दर मुलुक भएको बताउँदै उनले यहाँ स्वीट्जरल्याण्ड जस्ता हजारौं क्षेत्रहरू लुकेको बताए ।
‘यो नेपाल सुन्दर मुलुक छ । धेरै स्वीट्जरल्याण्ड हाम्रो देशमा छन् । तर यो देशको संरक्षण छैन,’ उनले भने, ‘चारकोसे झाडी खत्तम मेरै जीवनमा भयो । जंगल बेचेर पञ्चहरूले पहिला पैसा कमाउँथे । रातारात चुरे दोहन भइरहेको छ ।’
अहिले तराइमा खानेपानीको समेत हाहाकार रहेको जिकिर गर्दै उनले जलको भण्डार नै चुरे भएको उल्लेख गर्दै चुरेको संरक्षणमा जोड दिनुपर्ने बताए ।
‘तराइका आठ जिल्लामा पिउने पानीको हाहाकार छ । पूर्वी तराईमा पानी पर्दैन । जंगल छैन । चुरे पहाड खनेर लगेको छ,’ उनले भने, ‘चुरे खनेर लगिदिएपछि प्लान्ट कहाँ लगाउने ? जलको भण्डार भनेकै चुरे हो । नैतिक आचरण हामीले निभाउनु पर्छ । यो समाजलाई कसरी बनाउने, देशलाई कसरी बनाउने भनेर सोच्नुपर्छ ।’
प्रतिक्रिया 4