+
+
WC Series
चितवन राइनोज 2025
0/0
VS
कर्णाली याक्स 2025
166/3 (20)
Shares

तटस्थ सरकारमा बस्ने मन्त्रीहरूले पार्टी खोलेर चुनाव लड्न मिल्दैन : पूर्वराष्ट्रपति यादव

‘निर्वाचन गराउनकै लागि पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा तटस्थ सरकार बनेको हो । यो सरकारमा बसेर चुनाव लड्न पार्टी खोल्ने कुरा राम्रो होइन । यसलाई चुनावी सरकारका मन्त्रीहरूको व्यवहार चुनावी सरकारकै जस्तो हुनुपर्छ,’ पूर्वराष्ट्रपति डा. यादवले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २ गते १३:३९

२ मंसिर, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा बनेको तटस्थ सरकारमा रहेका मन्त्रीहरूले पार्टी खोलेर चुनाव लड्न नमिल्ने धारणा राखेका छन् । चुनावी सरकारको निष्पक्षताका लागि पनि यो बाटोमा मन्त्रीहरू लाग्न नहुने उनको धारणा छ ।

अनलाइनखबरसँगको विस्तृत अन्तर्वार्तामा उनले अहिले सरकारले गरिरहेको काम राजनीतिक दलहरूका गतिविधिहरूमाथि आफ्नो धारणा व्यक्त गरेका छन् ।

‘निर्वाचन गराउनकै लागि पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा तटस्थ सरकार बनेको हो । यो सरकारमा बसेर चुनाव लड्न पार्टी खोल्ने कुरा राम्रो होइन । यसलाई चुनावी सरकारका मन्त्रीहरूको व्यवहार चुनावी सरकारकै जस्तो हुनुपर्छ,’ पूर्वराष्ट्रपति डा. यादवले भने ।

चुनावी सरकारमा सहभागी भएका ऊर्जामन्त्री कुलमान घिसिङले चाहीँ आफू कार्यसमितिमा नदेखिइ उज्यालो नेपाल पार्टी दर्ता गराएका छन् ।

उनको डिजाइनमा पूर्वसचिव अनुपकुमार उपाध्यायको नेतृत्वमा पार्टी दर्ता भइसकेको छ । उक्त पार्टीको अनौपचारिक केन्द्रीय बैठकमा घिसिङ सहभागी भएका थिए ।

पूर्वराष्ट्रपति यादवले अहिलेको समस्याका निकास चुनावबाटै दिन सकिने भएकाले यसलाई दलहरूले भरपुर प्रयोग गर्नुपर्ने धारणा राखे ।

पूर्वराष्ट्रपति यादवले गत साता प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री निवास बालुवाटारमै गएर भेटेका थिए । त्यहाँ उनले सरकारलाई चुनावका लागि सुझाव पनि दिएका थिए ।

‘मैले प्रधानमन्त्रीलाई बालुवाटारमै गएर सल्लाह दिएँ । प्रधानमन्त्रीज्यूले सबै पार्टीलाई लिएर जान खोज्नुभएको पाएँ । शीर्षस्थ सबै नेताहरूलाई विना भेदभाव भेट्न खोजिरहनुभएको छ,’ उनले भने ।

उनले अहिलेको सरकारले गरेका कामहरूमाथि टिप्पणी गर्ने बेला नभए उल्लेख गर्दै चुनावमा केन्द्रित सरकारलाई सबैले सहयो गर्नुपर्ने धारणा राखेका छन् ।

‘कांग्रेस, एमाले, अहिले बनेको नेपाली कम्युनिस्ट पार्टी जस्ता दल र जेनजी मुख्य जिम्मेवारी छन् । यत्रो संघर्ष गरेर संविधान बनाएका दलहरू नै निर्वाचनबाट भागे भने त्यो आफ्नो कर्तव्यबाट अलग भएको हुन्छ,’ पूर्वराष्ट्रपति यादवले भने ।

एमाले चुनावमा सहभागी हुन आनाकानी गरिरहेको विषयलाई पनि पूर्वराष्ट्रपति यादवले रुचाएका छैनन् ।

‘एमालेलाई मेरो सल्लाह छ अब अलमल गर्नुभएन । लोकतन्त्रमा एमाले पार्टी र नेताहरूको व्यक्तिगत योगदान पनि ठूलो छ । कांग्रेसले पनि घर व्यवस्थापन गर्न सकिरहेको छैन । कांग्रेस जस्तो नेतृत्वदायी अनुभव भएको पार्टीले त झनै अलमल गर्नुभएन,’  उनले भने,’ जनता ताजा जनादेशको पक्षमा छ । कसले हार्छ, कसले जित्छ त्यसको अर्थ छैन, राष्ट्रले जित्छ, संविधानले जित्छ, राष्ट्र ट्र्याकमा आउँछ ।’

पूर्वराष्ट्रपति यादवसँगको विस्तृत अन्तर्वार्ता आज प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?