
विश्वका लोकतान्त्रिक मूल्य, मान्यता र आदर्श स्थापित भएका मुलुकहरूमा शासन सञ्चालनका विभिन्न प्रणाली र प्रक्रिया छन् ।
कुनै मुलुकमा कार्यकारी राष्ट्रपतीय शासन प्रणाली छ भने कतिपयमा संवैधानिक तहमा राष्ट्रपतिको व्यवस्था गरिएको हुन्छ ।
हाम्रो मुलुकमा २०६२/६३ को जनआन्दोलनले वंश आधारित परम्परागत निरंकुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापना गर्यो ।
यस प्रणालीमा जन्मका आधारमा मुलुकको राष्ट्राध्यक्ष भएर शासन गर्ने निरंकुश परिपाटीको सट्टा जनताको अमूल्य मतबाट जनताका छोराछोरी नै आवधिक निर्वाचनमार्फत राष्ट्राध्यक्ष (राष्ट्रपति) बन्ने व्यवस्था गरिएको छ ।
यस शासन प्रणाली अन्तर्गत हालसम्म हाम्रो मुलुकमा दुईजना पूर्वराष्ट्रपति हुनुहुन्छ डा. रामवरण यादव र श्रीमती विद्या भण्डारी ।
लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायप्रतिको मेरो र म जस्ता थुप्रै नागरिकको अपरिवर्तनीय विश्वास र आस्थाका कारण, दुवै जना पूर्वराष्ट्रपतिप्रति हाम्रो गहिरो सम्मान र आदरभाव स्वाभाविक रूपमा प्रकट हुन्छ ।
यो कुनै व्यक्तिविशेषप्रतिको सम्मान मात्र होइन; यो उच्चस्तरको शासन प्रणाली, राजनीतिक तथा सामाजिक रूपान्तरणको पारदर्शी प्रक्रिया र भविष्यका पुस्ताका लागि छाडिने मूल्यवान् संस्कार तथा संस्कृतिको पनि प्रतीक हो ।
त्यसैले, पूर्वराष्ट्रपतिहरू विशेषगरी पुनः सक्रिय राजनीतिमा फर्कनुहुन्छ कि फर्कनुहुन्न भन्ने विषयलाई राष्ट्रिय बहसको मुद्दा बनाउनु सर्वथा अनुचित ठहर्छ ।
पूर्वराष्ट्रपतिहरू सामाजिक तथा सांस्कृतिक जीवनका विविध गतिविधिमा सक्रिय हुन सक्छन् तर प्रत्यक्ष राजनीतिक भूमिकामा संलग्न हुने कुरा न त व्यक्तिगत रूपमा उपयुक्त ठहरिन्छ, न त प्रणालीगत रूपमा स्वीकार्य हुन्छ ।
त्यस्तो संलग्नताले लोकतान्त्रिक शासन प्रणालीलाई कमजोर बनाउन सक्ने सम्भावना रहन्छ । त्यसैले, पूर्व राष्ट्रपतिहरूको सक्रिय राजनीतिमा पुनः प्रवेश गर्नु कुनै तर्कसंगत राजनीतिक मान्यताको रेखाभित्र राख्न सकिंदैन ।
को के गर्दैछन् ?
भद्र स्वभावका धनी नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव बेला–बेलामा सार्वजनिक मञ्चमा मन्तव्य दिने, सामाजिक, सांस्कृतिक गतिविधिमा संलग्न भएको देखिन्छ । मेरो बसाइ र उनको बसाइ लगभग एउटै कोणमा पर्छ ।
त्यसैले कहिलेकाहीं बिहानै सामान्य जीवनशैलीमा एक जना सुरक्षाकर्मीसँग हिंडेको देख्न पाइन्छ । अगाडि पछाडि सुरक्षाको लस्कर छैन । यो जीवनशैली देख्ने वरिपरिका सबैले राम्रै शब्दमा मूल्याङ्कन गरेको सुन्न पाइन्छ । एउटा जनताको छोरो मुलुकको राष्ट्राध्यक्ष भएकोमा गर्व लाग्छ ।
उनले हालसम्म कुनै दलविशेषको कार्यकर्ता नभएर गरिमा कायम गरी बस्न सकेका छन् त्यसप्रति उच्च सम्मान छ । बाँकी जीवन सामाजिक तथा सांस्कृतिक जीवनका विविध पक्षमा सक्रिय बनाउन सकेको खण्डमा मुलुक र समाजका लागि हितकारी नै हुन जान्छ ।
मण्डेलाः योगदान
‘म मर्न तयार छु, तर स्वतन्त्रताको संघर्ष छाडेर झुक्न तयार छैन ।’ यो वाक्यले नेल्शन मण्डेलाको अदम्य साहस, अडान र आदर्शपूर्ण जीवन र जगतको सार बोकेको छ ।

२७ वर्षसम्म कठोर राजनीतिक बन्दीका रूपमा जेल जीवन बिताएका यो संघर्षशील योद्धाले सन् १९९४ देखि १९९९ सम्म एक कार्यकाल राष्ट्रपति बनेपछि स्वेच्छाले सत्ताबाट अवकाश लिए । उनले फेरि उम्मेदवारी दिएको भए, सम्भवतः कोही पनि विरोध गर्ने थिएन ।
तर, मण्डेलाले आफूभन्दा ठूलो उद्देश्य रोजे, दक्षिण अफ्रिकाको साझा भविष्य र नयाँ नेतृत्व विकास । उनले शक्ति हस्तान्तरणमार्फत स्थायित्व, समावेशिता र न्यायोचित शान्तिलाई मार्गदर्शन गरे ।
राष्ट्रपतिको पद छाडेपछि उनी नेल्शन मण्डेला फाउण्डेशन मार्फत शिक्षा, सामाजिक न्याय र समानताका पक्षमा क्रियाशील बने । एचआईभी/एड्स सम्बन्धी विश्वव्यापी अभियान सञ्चालन गर्दै, उनले कलङ्कको चक्र तोड्नुपर्ने भन्दै जनचेतना बढाउन आह्वान गरे ।
सन् २००७ मा उनले द एल्डर्स नामक संगठनको स्थापना गरे । जसमा विश्वका पूर्व राष्ट्रनायक, सामाजिक अभियन्ता र मानवअधिकारकर्मीहरूलाई संगठित गरी समानता, शान्ति र मानवअधिकारका मूल्यहरूका पक्षमा अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक हस्तक्षेप गरे ।
सन् २०१३ मा मण्डेलाको निधन भयो। विश्वभरका राष्ट्रनायक, संस्था र सर्वसाधारणहरूले उनलाई शान्ति, सहिष्णुता र मानवताको अमर प्रतीकको रूपमा श्रद्धाञ्जली अर्पण गरे । उनले प्राप्त गरेको यो सम्मान, गौरव र गाथाको जरा संघर्ष, त्याग र निष्ठामा गाढा गरिएको छ जुन आज पनि विश्वमानवता र नेतृत्वका लागि प्रेरणाको उज्यालो दियो बनेको छ ।
बुसले रोजे चित्रकारिता
संयुक्त राज्य अमेरिकाका ४३औं राष्ट्रपति (सन् २००१-२००९) जर्ज डब्लु. बुस उच्च राजनीतिक पृष्ठभूमिमा हुर्किएका एक दूरदर्शी नेता हुन् ।
उनका पिता जर्ज एच.डब्लु. बुस स्वयं अमेरिकाका ४१औं राष्ट्रपति थिए, जसले बुस परिवारलाई अमेरिकी राजनीतिमा एक प्रतिष्ठित स्थानमा स्थापित गरेको छ ।

सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतंकवादी हमला जसलाई विश्वले ‘९/११’ को नामले चिन्ने गर्छ, पश्चात जर्ज बुसले संकटको घडीमा दृढ नेतृत्व प्रदान गरे । अफगानिस्तान र इराक युद्ध, आतंकवादविरुद्धको नीतिहरू र देशभित्रको सुरक्षा संरचनामा परिवर्तनहरू उनको कार्यकालका उल्लेखनीय पक्षहरू हुन् ।
८ वर्षसम्म ह्वाइट हाउसको नेतृत्व सम्हालेका राष्ट्रपति बुसले पदबाट अवकाश लिएपछि आफूलाई सामान्य नागरिक सरहको जीवन बिताउने दिशामा मोडे । उनले विशेषतः कला र चित्रकलामा गहिरो रुचि देखाउँदै चित्रकारितामा सक्रियता बढाए ।
सन् २०१७ मा प्रकाशित उनको चर्चित पुस्तक “साहसका चित्रहरू’ (प्रोट्रेइट्स अफ करेज) मा उनले अमेरिकी सेनाका घाइते र जीवन समर्पण गर्ने सैनिकहरूका चित्रहरू कोरेर उनीहरूको बलिदान र साहसप्रति श्रद्धा प्रकट गरेका छन् ।
यस्ता चित्रहरूमा प्रतिबिम्बित भएका भावना र संवेदनाले बुसको छवि एक संवेदनशील र दूरदर्शी व्यक्तित्वको रूपमा उजागर गरेको छ ।
त्यसपछि सन् २०२१ मा उनले अर्को महत्वपूर्ण पुस्तक ‘आउट अफ मेनी, वन’ (नेपालीमा: ‘अनेक भित्र एक’) प्रकाशित गरे, जसमा अमेरिकी समाजमा आप्रवासीहरूले खेलेको भूमिकालाई सम्मानका साथ प्रस्तुत गरिएको छ ।
विविधतामा एकताको आदर्श झल्काउने यस पुस्तकले राष्ट्रिय एकता, आप्रवासी योगदान र मानवताको सार्वभौमिक मूल्यहरूलाई उजागर गर्छ ।
बुसले टेक्सासमा जर्ज डब्लू बुस प्रेसिडेन्सियल सेन्टर स्थापना गरेर शिक्षा सुधार, आर्थिक नीति विकास, महिला सशक्तिकरण, लोकतन्त्रको प्रवर्धन र नागरिक समाजको सबलीकरणका क्षेत्रमा दीर्घकालीन योगदान पुर्याउँदै आएका छन् ।
राजनीतिक जीवन सकिएपछिको जर्ज डब्लु. बुसको योगदानले प्रमाणित गर्छ कि नेतृत्व सधैं पदको सीमामा मात्र बाँधिने होइन, दृष्टिकोण र कर्मबाट परिभाषित हुन्छ ।
कला, सेवा र सामाजिक सरोकारमा सक्रिय रहँदै उनले अमेरिकी इतिहासमा केवल राष्ट्रपति हैन, एक सचेत र सिर्जनशील नागरिकको पहिचान पनि बनाएका छन् ।
के गर्दैछिन् प्रतिभा पाटिल ?
विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा १२औं र प्रथम महिला राष्ट्रपतिको सफलतापूर्वक भूमिका निर्वाह गरिन् । सुरूआतीका दिनहरूमा वकालत, सामाजिक अभियान र ग्रामीण विकासका मुद्दाहरूलाई उठान गरेकी पाटिलले पछि राजनीति रोजिन् र मुलुकको राष्ट्रपति जस्तो गरिमामय पदमा आसीन भइन् ।

यो दक्षिण एशियाको महिला नेतृत्व र सहभागिताको मात्रै विषय थिएन । लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायमा आधारित विश्वका लागि एउटा उदारहण थियो ।
पाँच दशक लामो विधायिका लगायत अरू थुप्रै अनुभव हासिल गरेकी पाटिलले राष्ट्रपतिको कार्यकाल समाप्तिसँगै पुनः उनले सामाजिक उत्थान, महिला सहभागिता र सशक्तीकरण, सार्वजनिक जीवनमा प्राप्त गरेको ज्ञान, सीप र अनुभवलाई समुदाय तहसम्मै लैजाने काम गरिन् । उनको यस कामको भारतभरि प्रशंसा र चर्चा हुने गरेको छ ।
ओबामा अभियान
बाराक हुसेन ओबामा संयुक्त राज्य अमेरिकाको इतिहासमा पहिलो अफ्रिकी अमेरिकी राष्ट्रपति बन्न सफल भए । उनी राष्ट्रपति बनेका बेला उमेरले केवल ४८ वर्ष पुगेका थिए, र राष्ट्रपति पद छोड्दा ५६ वर्षका थिए ।
यति कलिलो उमेरमै विश्वकै शक्तिशाली राष्ट्रको नेतृत्वबाट अवकाश पाएका ओबामाले, पदावधिपछि न त राजनीतिक दलमा सक्रियता देखाए, न त कुनै सरकारी पद वा सेवासुविधाप्रति रुचि देखाए ।

उनको तर्फबाट राजनीतिक महत्त्वाकांक्षा या राजकीय लाभको खोजी भएको कुनै चर्चा सार्वजनिक रूपमा भएको छैन, जुन कुराले ओबामाको साधारणपन, दूरदृष्टि र लोकतान्त्रिक संस्कारप्रतिको प्रतिबद्धता झल्काउँछ ।
ओबामाले ह्वाइट हाउसको बिदाइपछि सामाजिक, सांस्कृतिक, दिगो विकास र विश्वमा रचनात्मक तथा सिर्जनात्मक नेतृत्व विकासका लागि पहलकदमीको सुरुआत गरे जसलाई ओबामा अभियान भनेर पनि बुझ्न सकिन्छ ।
उनले ‘मेरो दाजुभाइको संरक्षण गठबन्धन (माइ ब्रदर्स किपर अलायन्स)’ मार्फत अफ्रिकन-अमेरिकन युवाहरूको लागि नेतृत्व विकास र अवसरको लागि विश्वव्यापी अभियान, लोकतन्त्र र पारदर्शी शासन प्रणालीका लागि विश्वव्यापी पहल आदि सञ्चालन गर्दै आएका छन् ।
अमेरिकाका प्रसिद्ध शहर शिकागोमा बाराक ओबामा राष्ट्रपति केन्द्रको निर्माण हुँदैछ र सन् २०२६ मा उद्घाटन गर्ने तयारी गरिएको छ, जसको बहुआयामिक लक्ष्य राखिएको छ ।
उत्साह जगाउने अर्को पक्ष के भने उनले नेटफ्लिक्स र स्पोटोफाईसँग साझेदारी गरेर फिल्म, डकुमेन्ट्री र पोडकास्ट उत्पादन तथा वितरणका काममा सक्रिय छन् भन्दा कतिपय हाम्रो सामन्ती संस्कार र प्रोटोकलले थिचिएको समाजले पत्याउनै मुस्किल पर्छ ।
उनी ग्लोबल स्पिकिङ र विचार प्रस्तुतिका लागि विश्वव्यापी मञ्चहरू, विश्वविद्यालय, निजी कार्यक्रम, लेखन जस्ता कार्यहरूमा उदाहरण बनेका छन् ।
सन् २०२० मा प्रकाशित गरिएको उनको बाचा गरिएको एक भूमि अर्थात् (अ प्रमिस्ड ल्यान्ड) बहुचर्चित रह्यो । उनले ओबामा फाउन्डेशन र राष्ट्रपति केन्द्र स्थापना गेरका छन् । ओबामाले यसरी विश्वभरि लोकतन्त्र, मानवअधिकार, सामाजिक न्याय, मानवीय मर्यादा र नागरिक स्वतन्त्रताका पक्षमा आवाज उठाउँदै आएका छन् ।
कलामले रोजे सादा जीवन
एक महान् वैज्ञानिक, दार्शनिक र सामाजिक रूपान्तरणका सच्चा अभियन्ता भारतको ११औं राष्ट्रपतिको रूपमा भूमिका निर्वाह गरे । महान् वैज्ञानिक तर सादा जीवनका पारखी उनले कहिल्यै राष्ट्रपतिको तडकभडक देखाउन चाहेनन् र कतै पनि उच्चस्तरको प्रोटोकलको दायराभित्र रमाएनन् ।

त्यसैले उनलाई जनताको राष्ट्रपति भनेर सम्बोधन गर्ने गरिन्छ । उनले भन्ने गर्थे ‘सपना त्यो होइन जुन निद्रामा देखिन्छ, सपना त्यो हो जसले तपाईंलाई सुत्न दिंदैन’।
राष्ट्रपति भवनबाट बाहिरिएसँगै उनले आफूलाई हिन्दुस्तानका युवाहरूका बीच लगे र देशभरि आफ्ना अनुभव साट्दै राष्ट्रिय एकता, सार्वभौमिक अखण्डता, सामाजिक तथा सांस्कृतिक सद्भाव, विज्ञानको विकास जस्ता विषयमा विचारहरूको प्रस्तुति र व्याख्या गर्दै हिंड्ने काम गरे। जसले भारतभर उनको लोकप्रियताले थप उचाइ थप्यो ।
विद्यार्थीकै बीच शिलङको इन्डियन इन्स्टिट्युट अफ म्यानेजमेन्टमा विद्यार्थीका बीच व्याख्यान गर्दागर्दै २७ जुलाई २०१५ मा हृदयघातका कारण उनको निधन भयो । उनलाई एक सच्चा शिक्षक र असल अभिभावकका रूपमा सारा हिन्दुस्तानले अहिले पनि उच्च सम्मान प्रकट गर्ने गर्छ ।
र, विद्या भण्डारी
भोजपुरको मानेभञ्ज्याङमा २०१८ सालमा जन्मिएकी विद्या भण्डारी २८ असोज २०७२ मा नेपालको प्रथम महिला राष्ट्रपतिको रूपमा निर्वाचित भइन् । उनको ऐतिहासिक जितको दिन, थापागाउँस्थित एकतले निवासमा सयौं शुभेच्छुकहरू फूलका गुच्छासहित लामबद्ध भएर बधाई दिन पुगेका थिए । तीमध्ये म स्वयं पनि एक थिएँ, जो अत्यन्त हर्षित हुँदै त्यहाँ पुगेको थिएँ ।
नेपाली राजनीतिक इतिहासमा गर्विलो उचाइ हासिल गरेकी र प्रेरणाको स्रोत बनेकी पूर्वराष्ट्रपति भण्डारी पछिल्ला केही महिनादेखि राजनीतिक चर्चाको केन्द्रमा रहिरहेकी छिन् । समाजमा उनीप्रतिको समर्थन र आलोचना विभाजित रूपमा प्रस्तुत भइरहेका छन् । मैले माथि चर्चा गरेका पूर्वराष्ट्रपतिको उदाहरणहरू जस्तै सबै पूर्वराष्ट्रपतिले एउटै प्रकारको काम गर्नुपर्छ भन्ने होइन ।
तर, मुलुकको सर्वोच्च पदमा पुगेका व्यक्तिले राजनीतिक र राजकीय मर्यादाको दृष्टिले समाजमा सकारात्मक र रचनात्मक व्यवहार प्रस्तुत गर्नु आवश्यक हुन्छ । यस्तो प्रस्तुतिले भावी पुस्तालाई आदर्श, मूल्य-मान्यता र विधिको शासनप्रति आस्था र विश्वास बढाउन प्रेरणा दिन सक्छ ।

मानवअधिकार, सामाजिक न्याय, महिला अधिकारका विषयमा विशेष योगदान पुर्याएकी भण्डारीले पुनः राजनीतिमा सक्रिय हुन व्यक्त गरेको चाहना र हालैका दिनमा लिएका केही पहलकदमीलाई स्वाभाविक रूपमा बुझ्यौं भने हामी गलत हुनेछौं ।
अन्त्यमा, लोकतान्त्रिक शासन प्रणाली, कानूनी शासनका आधारभूत मूल्य-मान्यता तथा राजनीतिक दलहरूभित्रको स्वाभाविक लोकतान्त्रिक प्रक्रियामा अवरोध सिर्जना गर्ने मात्रै होइन, शासन प्रणालीप्रति नै नकारात्मक प्रश्न खडा हुने गरी पूर्वराष्ट्रपति भण्डारी पुनः राजनीतिक दलको नेताको हैसियतमा सक्रिय हुने विषय उचित र शोभनीय ठहरिंदैन ।
त्यसैले, नेकपा (एमाले) को अध्यक्ष पदका लागि केपी शर्मा ओलीको विकल्प पूर्वराष्ट्रपति विद्या भण्डारी हुन सक्दिनन् ।
राष्ट्रिय आवश्यकता, मुलुकप्रतिको जवाफदेहिता तथा दृढ इच्छाशक्ति भएको नेतृत्व नै आजको समयको प्राथमिक आवश्यकता हो । त्यस सन्दर्भमा, सम्माननीय केपी शर्मा ओलीलाई निर्विकल्प रूपमा अगाडि बढाउनु नै वर्तमान समयको माग र अनिवार्य आवश्यकता हो ।
(शाही, मानवअधिकारकर्मी हुन् ।)
प्रतिक्रिया 4