
News Summary
Generated by OK AI. Editorially reviewed.- मिलन बस्नेतले बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर भ्यालीमा 'भ्याली एग्रो फार्म' दर्ता गरी आधुनिक प्रविधिमा अर्गानिक च्याउखेती सुरु गरेका छन्।
- उनले भारतबाट अवैध रूपमा आउने रसायनयुक्त च्याउले बजारीकरणमा समस्या ल्याएको भन्दै जैविक खेतीमा केन्द्रित भएको बताए।
- बस्नेतले उत्पादन भएका च्याउको क्याप्सुल बनाएर युरोप र युकेमा निर्यात गर्ने योजना अघि बढाइरहेका छन्।
१८ साउन, नेपालगञ्ज । भारतमा कम्प्युटर इञ्जिनियरिङको पढाइ सकेर नेपाल फर्केका मिलन बस्नेतले बाँकेमा लोभलाग्दो च्याउखेती गरेका छन् । जिल्लाको बैजनाथ गाउँपालिका–१ गाभर भ्यालीमा ‘भ्याली एग्रो फार्म’ दर्ता गरी उनले आधुनिक प्रविधिमा च्याउखेती गरेका हुन् ।
धनगढीका ३२ वर्षीय बस्नेतले कृषिजन्य वस्तु भारतबाट आउने तर गुणस्तरीय नहुने, नेपालमा आउने च्याउ रसायनयुक्त हुने भएकाले अर्गानिक उत्पादनमा केन्द्रित भएको बताए ।
‘भारतबाट पढाइ सकेर आएपछि मलाई विदेश जाने दबाब थियो, तर कृषिमा नयाँ केही गर्नुपर्छ भन्ने सोचले च्याउखेतीप्रति आकर्षण बढ्यो । विभिन्न अध्ययन, अनुसन्धान अनुसार च्याउखेतीमा सम्भावना देखेकाले आधुनिक प्रविधि अपनाएको हुँ’, उनले भने ।
किसान बस्नेतले नेपालका सबै होटलमा च्याउ चीनबाट आएको अध्ययनले देखाएको जनाउँदै यसमा रसायनको प्रयोग बढी हुने भएकाले मानव स्वास्थ्यमा नकारात्मक असर गर्ने धारणा राखे । ‘आफ्नै देशमा केही गरौं भनेर गाभर भ्यालीलाई छनोट गरी आधुनिक प्रविधिमा च्याउखेती सुरु गरेको छु’, उनले भने ।
आठ वर्षदेखि च्याउ उत्पादन गर्दै आउनुभएका बस्नेतले गौमूत्र सहित जैविक मलको प्रयोग गरेर अर्गानिक खेती गर्छन् । यहाँ डल्ले र पाते च्याउको उत्पादन हुने उल्लेख गर्दै उनले नयाँ अभ्यासका रूपमा ‘लाइन्समेन मसरुम’को पनि उत्पादन गर्न लागिएको जानकारी दिए ।
लाइन्समेन मसरुमको बजारीकरणका लागि युरोप र युकेका शहरमा कम्पनी दर्ता गरेर प्रक्रिया अघि बढाइएको जानकारी दिंदै उनले बेमौसमी अवस्थामा पनि प्रतिदिन करिब २०० देखि २५० किलोसम्म र मौसममा प्रतिदिन ४०० किलोसम्म च्याउको उत्पादन हुने बताए ।
‘लाइन्समेन च्याउको क्याप्सुल बनाएर बाहिर पठाउछौं, बस्नेतले भने, ‘उत्पादित च्याउ हवाईजहाज मार्फत काठमाडौं जाने गरेको छ । साथै दाङ, सुर्खेत, बुटवल, धनगढीका भाटभटेनी पसलमा सजिलै पाइन्छ । च्याउका लागि तापक्रम महत्त्वपूर्ण विषय हो । यसलाई १८ देखि २० डिग्री चिसो तापक्रम चाहिन्छ ।’
सबै मिलाएर ५० टनको एसी प्रयोग भएको जानकारी दिंदै उनले यस बाहेक आर्द्रता व्यवस्थापन गर्न उपकरणको प्रयोग भएको बताए
अहिलेसम्म रु ५ करोड लगानी भएको च्याउखेतीमा भारतबाट अवैध रूपमा आउने च्याउ बजारीकरणको प्रमुख चुनौतीका रूपमा रहेको बस्नेतले बताए ।
‘भन्सार छलेर आउने च्याउले हाम्रो बजारीकरणमा ठूलो समस्या आएको छ, यसले हामी जस्ता किसानलाई नोक्सान पुर्याइरहेको छ’, उनले भने ।
करिब एक बिघा जमिन निजी र एक बिघा बीस वर्षसम्मका लागि भाडामा लिएर खेती गरिरहेको बस्नेतले जानकारी दिए ।
भौतिक पूर्वाधारका काम आफ्नो जमिनमा निर्माण भएका भन्दै फार्मका लागि ६ जना स्थायी जनशक्ति राखिएको उनले बताए ।
फार्मको कम्पोष्ट मल उत्पादनमा रु १ करोड मात्र लगानी भएको उल्लेख गर्दै कम्पोष्ट मलको कच्चापदार्थ महाकालीबाट ल्याउने गरेको जानकारी दिए ।
उनले नेपालमा पाइने जडीबुटीयुक्त च्याउको उत्पादन गरेर त्यसको क्याप्सुल र पाउडर बनाएर विदेश निर्यात गर्ने नयाँ सोच रहेको बताए । ‘यसका लागि मैले काम सुरु गरिरहेको छु अब कम्तीमा ६ महिना लाग्ला’, उनले भने ।
आफूले कमाएको रकम कम्पनीमा लगानी गरेको जानकारी दिंदै बस्नेतले आफूसँगै अन्य दुई जना युवाको समेत सो फार्ममा लगानी रहेको बताए । कृषि ज्ञान केन्द्र बाँकेबाट बस्नेतले अहिलेसम्म करिब रु १६ लाख अनुदान पाएका छन् ।
च्याउ खेतीमा प्रयोग हुने उपकरण नेपालमा गुणस्तरीय नभएको भन्दै सबै उपकरण भारतबाट ल्याएको उनको भनाइ छ । उत्पादन भएको च्याउ रु २०० देखि रु २५० प्रतिकिलोमा बिक्री भइरहेको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख विनोद घिमिरेले च्याउखेतीमा युवा किसानले गरेको काम अनुकरणीय भएको उल्लेख गर्दै जिल्लाका केही किसानले सानो अनुदान सहयोगमा पनि ठूलो उपलब्धि हासिल गरेको बताए ।
जिल्ला समन्वय समितिकी उपप्रमुख सीता कार्कीले लोभलाग्दो च्याउखेती भएको उल्लेख गर्दै किसानले देशभित्रै मिहिनेत गरे विदेश धाउनु नपर्ने बताए ।
प्रतिक्रिया 4