+
+
Shares

‘अभिमन्यु’को गीत ‘माली’मा दाजु र बहिनीको निश्चल माया

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १९ गते २०:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘अभिमन्यु : च्याप्टर १’को गीत ‘माली’ सोमबार युट्युबमा सार्वजनिक भएको छ।
  • गीतमा दाजु र बहिनीबीचको निश्चल सम्बन्ध र जिम्मेवारीको कथा समेटिएको छ।
  • फिल्म भदौ २७ गते रिलिज हुँदैछ र हिन्दी भर्सन असोज ६ मा विश्वब्यापी रिलिज हुने छ।

काठमाडौं । फिल्म ‘अभिमन्यु : च्याप्टर १’को गीत सार्वजनिक भएको छ । ‘माली’ बोलको गीत निर्माताले सोमबार युट्युबमा सार्वजनिक गरेका हुन् ।

गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । विषम आचार्यको संगीत संयोजन छ । ‘भ्वाइस अफ नेपाल’को फाइनलिस्ट बन्दै संगीत करिअर थालेका प्रशान्तले सर्वकालिन ब्लकबस्टर ‘पूर्णबहादुरको सारङ्गी’मा पनि संगीत दिएका थिए ।

गीतमा दाजु र बहिनीबीचको निश्चल सम्बन्ध र जिम्मेवारीको कथा छ । दाजुले बहिनीलाई गर्ने मायालाई गीतमा उतार्ने प्रयास गरिएको छ । बहिनीको हाँसोमा खुसी र त्यसैमा संसार देख्ने जिम्मेवार दाजुको कथा छ । माली बनेर बहिनीको रेखदेख गर्ने दाजु र बहिनीको कथा बोलेको गीतले दर्शकको मन छुन्छ ।

रक्षाबन्धनलाई मध्यनजर गरेर गीत ल्याइएको निर्माताले जनाएका छन् । गीत सार्वजनिक गर्दै निर्माताले भिडियो प्रतिस्पर्धाको पनि घोषणा गरेका छन् ।

‘हामीले यो गीतमा दाजुभाइ दिदीबहिनीले रक्षाबन्धनको राखी बाँधेको भिडियो बनाएर सेयर गर्नुहुन अनुरोध गर्छौं’ निर्माण टिमले भनेको छ, ‘उत्कृष्ट ३ भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार रकमको पुरस्कार राखेको छौँ ।’

फिल्म ‘अभिमन्यु : च्याप्टर १’ भदौ २७ गते रिलिज हुँदैछ । हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दी भर्सन पनि विश्वब्यापी रिलिज हुने जनाइएको छ ।

फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलाको अभिनय छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका हुन् । मुकेश खनालको लेखन रहेको फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।

निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सहनिर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?