+
+
Shares

अमेरिकालाई भारतको जवाफ : रुसबाट तेल आयात गरेको भनेर निशाना बनाउनु अनुचित

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २० गते १०:२५

२० साउन, काठमाडौं । रूसबाट तेल आयात गर्ने विषयमा अमेरिका र युरोपेली संघको तर्फबाट उठाइएको प्रश्नप्रति भारतले शब्दमा जवाफ दिएको छ ।

रुसबाट तेल आयात गरेको भनेर भारतलाई निशाना बनाउनु ‘अनुचित र अविवेकी’ भएको भारतको टिप्पणी छ ।

कुनै पनि प्रमुख अर्थतन्त्रजस्तै आफ्नो राष्ट्रिय हित र आर्थिक सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने पनि भारतले स्पष्ट पारेको छ ।

रुस–युक्रेन द्वन्द्व सुरु भएपछि रूसबाट तेल आयात गरेका कुरालाई लिएर अमेरिका र युरोपेली संघले भारतलाई निशाना बनाउँदै आएका छन् । अमेरिकाले गत सोमबार मात्रै भारतबाट आयातित वस्तुमा २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क बढाउने निर्णय गरेको थियो ।

भारतले आफ्ना उपभोक्तालाई सस्तो र स्थिर ऊर्जा आपूर्ति गर्नका लागि आयात गरिरहेको स्पष्ट पारेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भनेका छन्, ‘यो अन्तर्राष्ट्रिय बजारको परिस्थितिबाट उत्पन्न बाध्यता हो । तर उल्लेखनीय कुरा के छ भने भारतमाथि आलोचना गर्ने देशहरूले आफैंले रूससँग व्यापार गरिरहेका छन् । तर भारतजस्तो उनीहरूको त्यो व्यापार कुनै अपरिहार्य आवश्यकता होइन ।’

उनका अनुसार युरोप–रूस व्यापारमा केवल ऊर्जा मात्र होइन, मल, खनिज पदार्थ, रसायन, फलाम र इस्पात, मेसिनरी तथा यातायातका सामानहरू पनि समावेश छन् ।

‘अमेरिकाको कुरा गर्दा, उसले आफ्नो आणविक उद्योगका लागि अझै पनि रूसबाट युरेनियम हेक्साफ्लोराइड आयात गर्छ । आफ्नो विद्युतीय सवारी उद्योगका लागि प्यालेडियम, मल र रसायन पनि आयात गरिरहेकै छ,’ उनले लेखेका छन्, ‘त्यसैले भारतलाई मात्र निशाना बनाउनु अनुचित र अविवेकी हो ।’

जयसवाले भनेका छन्, ‘कुनै पनि प्रमुख अर्थतन्त्रजस्तै भारतले पनि आफ्नो राष्ट्रिय हित र आर्थिक सुरक्षाका लागि आवश्यक सबै कदम चाल्नेछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?