+
+
Shares

विपद् जोखिम बढेको भन्दै कार्यवाहक प्रधानमन्त्री सिंहले दिए ‘हाईअलर्ट’मा बस्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २० गते ११:४१

२० साउन, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद्‍को जोखिम बढेको भन्दै ‘हाई अलर्ट’मा बस्न सरकारका सम्पूर्ण निकायहरुलाई निर्देशन दिएका छन् ।

शहरी विकास मन्त्रालयमा आज गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानबहादुर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्ट र जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिसहित बसेको बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंहले पछिल्लो अवस्थाबारे जानकारी लिँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।

बैठकमा खोज तथा उद्धारका लागि ‘हाइअलर्ट’मा रहन र कुनै घटना भइहालेमा सकेसम्म क्षति हुन नदिन निर्देशन दिएका थिए । साथै उनले सम्भावित जोखिम क्षेत्रमा पूर्वसूचना प्रणालीलाई चुस्त र प्रभावकारी बनाउन पनि निर्देशन दिएका थिए ।

बैठकमा गृहमन्त्री रमेश लेखकले मनसुन्य विपद्लाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई अतिआवश्यकबाहेक कार्यक्षेत्र नछाड्न निर्देशन जारी गरिएको जानकारी गराए ।

बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख भट्टले देशभरको अवस्था र तयारीबारे जानकारी गराएका थिए ।

जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिले लुम्बिनी प्रदेशका दाङ, बाँके, बर्दियामा पानी पार्ने प्रणाली सक्रिय रहेको जानकारी गराएका थिए । भारी वर्षा हुँदा बबई र राप्ती नदीको पश्चिम भागमा नदी किनारका बस्ती डुबानमा पर्न सक्ने सम्भावना औंल्याउँदै त्यसैअनुसारको तयारी गरिएको जानकारी गराएका थिए ।

आज राति कैलाली र कञ्चनपुरमा भारी वर्षाको सम्भावना रहेको र पानी पार्ने अर्को प्रणाली मकवानपुरमा सक्रिय हुने आँकलन गरिएको पनि जानकारी गराइएको थियो ।

कार्यवाहक प्रधानमन्त्री सिंहले मधेश प्रदेशमा देखिएको खडेरीको अवस्थाबारे पनि चासो राखेका थिए । सो क्रममा प्राधिकरणका प्रमुख भट्टले मधेशमा केही दिनयता वर्षा भइरहेको जानकारी गराउँदै रोपाइँ क्षेत्रफल बढ्न सक्ने बताए ।

बैठकमा गृहमन्त्री रमेश लेखक, रक्षा मन्त्री मानबहादुर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्ट, शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुली लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?