
२० साउन, हेटौंडा । बागमती प्रदेश सभा सदस्यहरू बहादुर सिंह लामा र इन्द्र बानियाँमा नेपाली कांग्रेस हुनुबाहेक पनि अर्को एउटा समानता छ, सभापति शेरबहादुर देउवासँगको निकटता ।
त्यसैले सभापति देउवाका लागि बानियाँ र लामामध्ये जो मुख्यमन्त्री भए पनि फरक पर्ने कुरा होइन ।
तर सभापति देउवासँग नजिक रहेर पनि आपसमा प्रतिष्पर्धा गर्नु र एकले अर्कालाई पराजित गर्नु यी दुबैको राजनीतिक प्रतिष्ठासँग जोडिएको विषय हो ।
त्यसैले गत वर्ष मुख्यमन्त्री बन्न र यस बर्ष मुख्यमन्त्रीमै टिकिरहन लामाले जति कोशिस गरेका थिए, उनलाई हटाएर त्यो मुकाममा आफू पुग्ने कोशिस बानियाँले उत्तिकै गरेका थिए ।
यसपाली बानियाँको पल्लाभारी भयो ।
योसँगै १३ पुस २०७९ मा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा लामासँग ५ मतले पराजित भएका बानियाँले बदला लिए ।
लामालाई मुख्यमन्त्रीमा टिकिरहन नदिनका लागि बानियाँले खेलको सुरुवात भने यो आर्थिक वर्षको बजेट निर्माण प्रक्रियाबाटै गरे । बागमती प्रदेश सरकारले ल्याएको बजेटमा नेपाली कांग्रेसकै चार मन्त्रीसहित अधिकांश सांसदहरूको असन्तुष्टि थियो ।
असन्तुष्टहरू मध्येकै हुन् इन्द्रबहादुर बानियाँ पनि । उनीहरूले असन्तुष्टि देउवासमक्ष पुर्याउन उपयुक्त मौका पर्खिरहेका थिए ।
लामा बेलायत भ्रमणमा गएका बेलामा बानियाँले उनलाई हटाएर आफूलाई मुख्यमन्त्री बनाउन मनाइसकेका थिए । त्यसका लागि उनलाई लामा नेतृत्वमा रहेको सरकारका चार मन्त्रीको साथ दिए ।
उनीहरूले बजेट निर्माणका बेला भएको लफडाबारे पार्टी सभापति देउवालाई सविस्तार बताएका थिए । मन्त्रीहरू सुरजचन्द्र लामिछाने, मिनकृष्ण मजर्हन, विमल ठकुरी र मधुकुमार श्रेष्ठले भनेका कुराबाट देउवा प्रभावित भए ।
साउन पहिलो हप्ता लामा बेलायत भ्रमणबाट स्वदेश फर्किएलगत्तै ५ साउनमा सभापति देउवाले निवासमा बोलाए राजीनामा दिन निर्देशन दिए । ‘सभापतिज्युले बहादुर दाईलाई राजीनामा दिएर बानियाँलाई मुख्यमन्त्री बनाउन निर्देशन नै दिनु भएको थियो,’ कांग्रेसका एक सांसदले भने ।
लामाले राजीनामा दिन अस्वीकार गरेपछि बानियाँको नेतृत्वमा कांग्रेसका २१ जना सांसदले ९ साउनमा दल कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरे ।
लामा नेतृत्व सरकारका पाँच जना मन्त्री सुरजचन्द्र लामिछाने, मिनकृष्ण मजर्हन, श्यामकुमार खड्का, विमल ठकुरी र मदुकुमार श्रेष्ठले राजीनामा दिएर बानियाँलाई साथ दिएका थिए ।
१३ साउनमा अविश्वासको प्रस्तावको पक्ष/विपक्षमा मतविभाजन हुँदा आफ्नो पक्षमा १५ मत मात्रै आएपछि लामाले दल नेताको हैसियत गुमाएका थिए । अविश्वास प्रस्तावको पक्षमा २२ मत परेको थियो ।
कांग्रेस संसदीय दलको नेता चयनका लागि १४ साउनमा भएको निर्वाचनमा कांग्रेसका ३७ सांसदमध्ये बानियाँले २२ मत पाउँदा लामाले १४ मात्रै मत ल्याउन सके । १ मत बदर भएको थियो ।
दलको नेता चयनका लागि भएको निर्वाचनमा लामालाई हराएपछि बानियाँको मुख्यमन्त्री हुने बाटो खुलेको थियो । कांग्रेसकै बहादुर सिंहले आइतबार मुख्यमन्त्रीबाट राजीनामा घोषणा गरेर सोमबार प्रदेश प्रमुखको कार्यालयमा राजीनामा दर्ता गराएका थिए ।
उनको राजीनामा स्वीकृत भए लगत्तै प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि २४ घण्टाको अर्थात मंगलबार दिउसो २ बजेभित्र दाबी पेश गर्न आह्वान गरेको करिब आधा घण्टामै बानियाँले कांग्रेसको ३७ सांसद र सत्ता साझेदार दल नेकपा एमालेको २७ गरी ६४ जना सांसदको समर्थनसहित दाबी पेश गरे ।
कम्युनिष्टको गढ भत्काएर राजनीतिमा
२०६४ को संविधानसभा निर्वाचनमा उम्मेदवार बनेपछि मकवानपुरको राजनीतिमा इन्द्रबहादुर बानियाँको परिचय स्थापित भयो ।
मकवानपुरको राजनीतिमा कांग्रेसभित्र रामचन्द्र अर्याल ‘माइकल’, रघुरमण न्यौपानेलगायतका सिनियर नेताहरु पछाडि बानियाँको नाम आउँथ्यो । सशस्त्र युद्धबाट राजनीतिमा आएको माओवादीको प्रभाव रहेकाले ०६४ को निर्वाचनमा उनी पराजित भए ।
२०७० को निर्वाचनमा फेरि संविधानसभा सदस्य उम्मेदवार बनेका बानियाँले क्षेत्र नम्बर १ बाट चुनाव जिते । संविधानसभा निर्वाचनको चुनाव जित्ने बानियाँ मकवानपुरको पहिलो कांग्रेस नेता थिए । मकवानपुरको इतिहासमा कांग्रेसले त्यसअघिका कुनै पनि चुनाव जित्न सकेको थिएन ।
०४६ सालमा बहुदल आएदेखि (०५१ को मध्यावधिबाहेक) मकवापुरमा हिरण्डयलाल श्रेष्ठदेखि महेश बर्तौलासम्मका कम्युनिष्ट उम्मेदवारहरुले चुनाव जितिरहे । ०४८, ०५६ मा भएको निर्वाचनमा नेकपा एमाले, २०६४ मा माओवादीले चुनाव जितेका थिए ।
राजनीतिका कुनै बेलाका खेलाडी मानिएका कमल थापा, कांग्रेस सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’हरुले हल्लाउन नसकेको कम्युनिष्टहरुको गढ भत्काएर बानियाँ राजनीतिमा उदाएका हुन् । तत्कालीन हर्नामाडी गाविस–४ दियावती (हाल हेटौंडा उपमहानगरपालिका–१८)मा १५ भदौ २०२७ मा जन्मिएका बानियाँ बागमतीको छैठौं मुख्यमन्त्री बने ।
बानियाँ २०५१ सालमा काँग्रेस महाधिवेशन प्रतिनिधि, २०५२ सालमा नेविसंघ जिल्ला सहसचिव, २०५५ सालमा तरुण दल जिल्ला सचिव हुँदै २०५६ मा तरुण दल जिल्ला अध्यक्ष बने ।
पेशाले निर्माण व्यवसायी उनी २०५६ सालदेखि निरन्तर महासमिति सदस्य, २०५८ सालमा नेपाली काँग्रेस जिल्ला सदस्य भएका थिए ।
२०७२ सालदेखि २०७९ सम्म नेपाली कांग्रेस मकवानपुरको जिल्ला सभापति थिए नेता बानियाँ । २०७३ सालमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री र २०७३ फागुनमा गृह राज्यमन्त्री बने ।
२०७४ मंसिरमा उनी मकवानपुर संघीय क्षेत्र नम्बर १ को (ख) बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।
३ पुस २०७४ मा बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता सर्वसम्मत चयन भएका थिए । प्रदेशसभा सदस्य हुँदै बानियाँ २० मंसिर २०७८ मा हेटौंडामै भएको प्रदेश अधिवेशनबाट नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा निर्वाचित भए ।
पहिलो कार्यकालमा मुख्यमन्त्री बन्न रोकिएका थिए बानियाँ
प्रदेशसभाको पहिलो कार्यकालमा पूरा पाँच वर्ष बानियाँ दलको नेता थिए । दलको नेता हुँदै मंसिर २०७८ मा उनी पार्टीको बागमती प्रदेश सभापतिमा निर्वाचित भएका थिए । तर मुख्यमन्त्री बन्न भने पाएनन् ।
२०७४ देखि २०७९ सम्म बागमती प्रदेशको पहिलो कार्यकालमा तीन कम्युनिस्ट मुख्यमन्त्री भए । नेकपा हुँदा डोरमणि पौडेल, नेकपा विभाजनपछि दुई महिना एमालेका अष्टलक्ष्मी शाक्य र एमाले फुटेर नेकपा एकीकृत समाजवादी बनेपछि राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका थिए ।
कात्तिक २०७८ सालपछि बानियाँ मुख्यमन्त्री बन्ने सम्भावना थियो । तर संघमा भएको राजनीतिक भागबन्डा अनुसार बागमती प्रदेश सरकारको नेतृत्व गर्ने अवसर एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले पाएका थिए ।
४ मंसिर २०७९ सालको दोस्रो प्रदेशसभा निर्वाचनपछिको कार्यकालमा बानियाँले दलको नेता दोहोर्याउन पाएनन् । त्यसपछि उनको मुख्यमन्त्री बन्ने चाहनामा धक्का लागेको थियो । १३ पुस २०७९ मा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा बहादुरसिंह लामासँग ५ मतले पराजित भएपछि बानियाँ मुख्यमन्त्रीको दाबीबाट पछि हट्न बाध्य भए ।
दलको निर्वाचनमा लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत मात्रै पाएका थिए । दलको नेता चुनिएकाले नुवाकोटका लामा ८ साउन २०८१ देखि मुख्यमन्त्री थिए ।
प्रतिक्रिया 4