News Summary
Generated by OK AI. Editorially reviewed.- मुख्यमन्त्री इन्द्र बानियाँले स्वास्थ्यमा नागरिकको सहज पहुँच प्रदेश सरकारको विशेष प्राथमिकता रहेको बताएका छन्।
- सिन्धुलीको तीनपाटन गाउँपालिकामा करिब १२ करोड रूपैयाँ लगानीमा नवनिर्मित नगर अस्पताल भवन उद्घाटन गरिएको छ।
- विघटित प्रतिनिधिसभाका सदस्य श्याम घिमिरेले संसद् भंग र सरकार गठन असंवैधानिक भएको आरोप लगाए।
२३ मंसिर, सिन्धुली । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले स्वास्थ्यमा नागरिकको सहज पहुँच प्रदेश सरकारको विशेष प्राथमिकता रहेको बताएका छन् ।
सिन्धुलीको तीनपाटन गाउँपालिकामा नवनिर्मित नगर अस्पताल भवन उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले यस्तो बताएका हुन् ।
शिक्षा, स्वास्थ्यजस्ता विषयलाई संविधानले नै नागरिकका मौलिक अधिकारको रूपमा ग्यारन्टी गरेको भन्दै उनले प्रदेश सरकार मौलिक अधिकारलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न तत्पर रहेको बताए ।
‘रोगमुक्त समाज, निरोगी नागरिक बनाउन प्रदेश सरकारले काम गरिरहेको छ । कुनै नवजात शिशु कुपोषणको शिकार नबनुन्, उमेरजन्य कारणले लाग्ने दीर्घ रोगहरू जस्तै- सुगर, प्रेसर, बाथ, युरिक एसिड, थाइराइडलगायत असाध्य रोग लागेका नागरिकलाई सहज र सरल सेवा दिन सकियोस् भनेर प्रदेश सरकार काम गरिरहेको छ,’ मुख्यमन्त्रीले भने ।
गणतन्त्र गरिबको व्यवस्था हो भन्दै उनले मुलुकमा लाभको अवस्थामा रहेको युवा शक्तिलाई प्रविधिमैत्री बनाउँदै रोजगारी सिर्जना गरिने बताए ।
मुलुकभित्रै केही भएन भन्दै असन्तोषको खेती भइरहेको बताउँदै मुख्यमन्त्री बानियाँले त्यसलाई चिर्दै भइरहेका विकासका कामलाई नागरिकसमक्ष पुर्याउन लागिपर्नु पर्ने बताए ।
विकासका पूर्वाधारसँगै नागरिकलाई अर्थोपार्जन गर्ने सीप विकास र लगानीसमेत दिनुपर्ने काममा प्रदेश सरकार लागि परेको बताए ।
बाटो बनाइदिएर मात्र भएन, खल्तीमा नोट कसरी आउँछ भनेर उनीहरूलाई सिप र पूँजीको व्यवस्थासमेत गरिदिनुपर्ने हुन्छ, हामी त्यसतर्फ अग्रसर छन्,’ मुख्यमन्त्रीले भने ।
विघटित प्रतिनिधिसभाका सदस्य श्याम घिमिरेले अवैधानिक र असंवैधानिक रूपमा संसद् भंग गरिएको भन्दै सरकार गठन समेत असंवैधानिक रूपमा गरिएको बताए ।

तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण थापा मगरले सीमित स्रोतसाधनबीच पनि विकासका पूर्वाधार निर्माणलाई पालिकाले पहिलो प्राथमिकता दिएको बताए ।
पूर्वाधार विकाससँगै नागरिकलाई सीप विकासमा पनि ध्यान दिइएको अध्यक्षको भनाइ छ । नागरिकको आर्थिक समृद्धिका लागि पालिका भित्र कृषि, पशुपालन जस्ता क्षेत्र पहिचान गरी कार्यक्रम लागू गराइएको बनाए ।
सुविधाजनक बाटो नहुँदा विरामीले बाटैमा ज्यान गुमाउनु परिरहेको सन्दर्भहरू उल्लेख गरे । उनले सडक निर्माणमा प्रदेश सरकारसँग ठूलो भरोषा रहेको बताए ।
करिब १२ करोड रूपैयाँको लगानीमा नगर अस्पताल भवन निर्माण सम्पन्न भएको हो ।
कार्यक्रममा विघटित प्रतिनिधिसभा सदस्य श्याम घिमिरे, संविधानसभा सदस्य मोहन बराल, नेपाली कांग्रेस सिन्धुलीका पूर्वसभापति उज्वल बराल लगायत सहभागी थिए ।
प्रतिक्रिया 4