+
+
Shares

बुटवलको रानीगञ्जमा सार्वजनिक जग्गा बिक्री : लिखित जवाफ पेश गर्न उच्चको आदेश

बुद्ध मन्दिर समेत बनाएर संरक्षण गरी राखेको जग्गा बिक्री गरेको र भवन निर्माण गरेको भन्दै भवन निर्माण रोक्न निषेधाज्ञा माग गर्दै अदालतमा रिट निवेदन दिएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २० गते १८:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उच्च अदालत तुलसीपुरले बुटवल उपमहानगरपालिका–१७ रानीगञ्जको सार्वजनिक जग्गा बिक्रीविरुद्ध विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।
  • मुद्दामा उक्त जग्गा नेपाल सरकारको नाममा रहेको र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई प्रदान गरिएको उल्लेख छ।
  • सार्वजनिक जग्गाको संरक्षण गर्ने दायित्व बुटवल उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारको रहेको आदेशमा भनिएको छ।

२० साउन, बुटवल । बुटवल उपमहानगरपालिका–१७ रानीगञ्जमा बुद्धमूर्ति राखिएको सार्वजनिक जग्गा बिक्री विरुद्धको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले विपक्षीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय रमेश ढकाल र सागर विष्टको संयुक्त इजलासले व्यक्तिका नाममा बिक्री भएको उक्त एक कठ्ठा जग्गा सार्वजनिक भएको ठहर गर्दै विपक्षीलाई यस सम्बन्धमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न अन्तरिम आदेश दिएका हुन् ।

बुटवल–१७ रानीगञ्जको जनशक्ति टोल विकास संस्थाका दिवाकर पौडेलले समुदायले बुद्ध मन्दिर समेत बनाएर संरक्षण गरी राखेको जग्गा बिक्री गरेको र भवन निर्माण गरेको भन्दै भवन निर्माण रोक्न निषेधाज्ञा माग गर्दै अदालतमा रिट निवेदन दिएका थिए ।

उक्त मुद्दामा न्यायाधीश रमेश ढकालले सार्वजनिक जग्गा बिक्री गर्न नपाइने, कसैले कब्जा गर्न नपाइने, संचरना निर्माण गर्न रोक लगाउनुपर्ने र निर्माण भएको भए भत्काउनुपर्ने कानूनी व्यवस्था रहेको रायसहित विपक्षीसँग लिखित जवाफ मागेका हुन् ।

‘रिट निवेदनमा उल्लेखित जग्गा नेपाल सरकारको नाउँमा रहेको र २०७३ बैशाख २९ गतेको निर्णयबाट औद्योगिक क्षेत्र व्यवस्थापन लि. लाई प्रदान गरिएको देखिन्छ । जग्गा नापजाँच ऐन २०१९ को दफा २ को खन्ड (ङ० र (च) , मालपोत ऐन २०३४ को दफा २ को खण्ड (ख २) र (ख ३), मुलुकी देवानी संहिता २०७४ का २९९ र ३०० एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा १० को उपदफा (२) समेतका प्रचलित कानूनी व्यवस्थाहरुको आलोकमा उक्त जग्गा सरकारी/सार्वजनिक जग्गाको परिभाषा भित्र पर्ने विषयमा कुनै विवाद हुन सक्दैन’, आदेशमा उल्लेख छ ।

आदेशमा सार्वजनिक जग्गाको संरक्षणको विषय अत्यन्तै संवेदनशील रहेको र उक्त कित्ता नम्बर ४७ को सरकारी जग्गाको संरक्षण गर्ने दायित्व बुटवल उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समेत रहेको उल्लेख छ ।

उक्त मुद्दामा रिट निवेदकको पक्षबाट अधिवक्ता विमल गिरी र अनुप पोखरेल, बुटवल उपमहानगरका तर्फबाट अधिवक्ता घनश्याम पन्त र  विपक्षीका तर्फबाट अधिवक्ता घनश्याम पन्तले बहस गरेका थिए ।

२०६८ साल असार ७ गते तत्कालीन मोतिपुर गाउँ विकास समितिले उक्त स्थानको एक कठ्ठा जग्गामा बुद्ध मूर्ति स्थापना गर्न सिफारिश गरेको थियो ।

सोही सिफारिशका आधारमा त्यहाँको बुद्धपथमा रहेको जग्गा संरक्षण गरी पर्खाल लगाएर बुद्धको मूर्ति  स्थापना गरि लामो समयदेखि संंरक्षण हुंदै आएको थियो ।

तर जग्गा कारोबार गर्ने केही व्यक्तिहरूले अनधिकृत रूपमा उक्त जग्गा दुई महिलालाई बेचेको पत्ता लागेपछि जग्गा संरक्षणका लागि स्थानीय दिवाकर पौडेल अदालत पुगेका थिए ।

पौडेलका अनुसार उक्त सार्वजनिक जग्गा एक लाखमा खरिद गरेर २५ लाखमा बिक्री भएको थियो ।

तत्कालीन अवस्थामा श्री ५ को सरकारको नाममा रहेको साविक मोतिपुर गाविस हाल बुटवल उपमहानगरपालिका–१७ मा पर्ने कित्ता नम्बर ४७ को जग्गा मध्ये १० बिघा ९ कट्ठा जग्गा केही व्यक्तिले आफ्नो नाउँमा दर्ता गराउने प्रक्रिया अन्तिम चरणमा पुगेका बेला स्थानीयले अख्तियारमा मुद्दा दिएर सार्वजनिक कायम भएको उक्त जग्गामध्ये ३ बिघा ४  कट्ठा जग्गामा हाल ३०० घरधुरीको बसोबास रहेको र एक शिवालय र एक बुद्ध मूर्ति रहेको जनशक्ति टोल अन्तर्गत जनसंघर्ष टोल समितिका उपाध्यक्ष केशरबहादुर खड्काले जानकारी दिए ।

गत वर्ष रानीगञ्जमै सार्वजनिक जग्गामा अनधिकृत रुपले भवन बनाउन भन्दै बोर्ड राखेका एक दर्जन संस्थाका बोर्ड तत्कालीन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्थानीयको उजुरीका आधारमा तत्कालै हटाइदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?