
२० साउन, काठमाडौं । सडकका ‘भिखारी’लाई रकम बाँड्दै हिँड्ने । कहिले माछालाई चारो हाल्ने । परेवाका बथानलाई आहारा खुवाउने । गाईको पूजा गर्दै केरा खुवाउने । बौद्ध स्तुपादेखि स्वयम्भू, पशुपतिनाथसम्म दर्शन गर्न गइरहने । महाकूम्भ प्रयागराजमा गएर स्नान गर्ने । देवघाटमा गएर जल अर्पण गराउने । कहिले आश्रममा गएर बाबासँग तस्बिर खिचाउने ।
अक्सर गलामा रुद्राक्षको माला नछुट्ने । निधारमा टिका पहिरिने । गेरु बस्त्र धारण गर्ने । जोगीको जस्तो लामो कपाल पाल्ने । ढल्कंदो उमेरका यी व्यक्तिको हुलिया र कर्म हेर्दा उनी कुनै समाजसेवी हुन् भन्ने लख काट्न मुस्किल पर्दैन ।
उनका यी गतिविधिले धर्मकर्ममा अचाक्ली आस्था राख्ने र समाज सेवा कटिबद्ध रहको बुझ्न सकिन्छ । आफूलाई यसरी चिनाउँदै हिँडेका यी व्यक्ति कुनै ठूला गुण्डा होलान् ? मान्छेलाई शंका गर्न पनि गाह्रो पर्छ ।
तर यीनै गतिविधि गर्दै हिँड्ने ती व्यक्ति अहिले गुन्डागर्दी गर्दै हिँडेको आरोपमा प्रहरी हिरासतमा छन् । ती हुन् मिलन गुरुङ उर्फ चक्रे मिलन ।
माथिका कुराहरूलाई आधार मान्दै चक्रे निकटका व्यक्तिहरू उनी समाजसेवी र राजनीतिज्ञ रहेको दाबी गर्छन् । बेकारमा प्रहरीले पक्राउ गरेर हिरो बन्न खोजेको आरोप उनीहरूको छ । तर चक्रेप्रति प्रहरीको बुझाई र विश्लेषण भने ठिक उल्टो छ । चक्रे मिलन सुध्रिएर मिलन गुरुङ भइसकेको झल्कने गरी उनले गतिविधि गरेको देखिए पनि उनीबाट अझै समाज नै त्रसित हुनुपर्ने अवस्था रहेको प्रहरीको बुझाइ छ ।
जहाँ गए पनि १०/१२ जना केटाहरू नलिई नहिँड्ने चक्रेको गतिविधि जति धार्मिक र समाजसेवी देखिन्छ, त्योभन्दा बढी समाजलाई आतंकित पार्ने खालको भित्रि प्रवृति रहेको प्रहरीको विश्लेषण छ ।
प्रहरी अधिकारीले भनेजस्तै चक्रेको टिकटक आईडी मिलन चक्रेमा राखिएका भिडिओहरू नियाल्ने हो भने धार्मिक सामाजिकदेखि विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा केटाहरूको जमात प्रदर्शन गरेको देख्न सकिन्छ । करिब ९० हजार फलओर्स रहेका चक्रे जहाँ गए पनि युवाहरूको हुल अघिपछि हुने गरेको उनैले राखेको भिडिओमा देखिन्छ ।
चक्रेकै अघिपछि हिँड्ने १९ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । समाजलाई आतंकित पार्दै त्रासमा राखेको आरोपमा चक्रे र उनका आसेपासे गरी १९ जनामाथि अहिले अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारी बताउँछन् ।

‘गुण्डागर्दीका विभिन्न स्वरुप हुन्छन् । मान्छे कुट्दै, लुट्दै हिँडेको हुनुपर्छ भन्ने पनि होइन । तर कसैको उपस्थित वा गतिविधिबाट समाज आतंकित हुनुपर्ने र समाजलाई डोमिनेट गर्दै त्यसबाट लाभ लिने चक्रे समूहको उदेश्य देखिन्छ’ एसएसपी अधिकारी भन्छन् ।
१९ जनालाई निन्त्रणमा लिँदा चाँगुनारायण नगरपालिका–१२ का ३४ वर्षीय राहुल खड्काको बागमती बीएसी ३२२१ नम्बरको गाडीबाट २ थान खुकुरी र फलामको फोल्डिङ स्टिक समेत बरामद भएको थियो । यी हतियारहरू गाडीमा राख्नुको पछाडि पनि केही कारणहरू हुने प्रहरीको बुझाइ छ ।
गत बिहीबार राति महाराजगञ्ज क्षेत्रको बाँसबारी रोडमा रहेको होटल साम्बालामा धुमधामका साथ चक्रेको जन्मदिनको पार्टी चलिरहेको अवस्थामा प्रहरीको टोली पुगेको थियो । खाँदाखाँदै प्लेट र दारु छाडेर ४७ जना प्रहरीको भ्यान चढेर हिरासतमा पुगेका थिए ।
भोलिपल्ट ती मध्ये स्क्रिनिङ गरेर १९ जनाविरुद्ध मात्रै म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । अहिले चक्रेसहित उनको समूहका १९ जना हिरासतमा छन् ।
आफूसहित १९ जनालाई हिरासतमा पुर्याउने उनै चक्रे कुनै बेला भने चल्तीका गुण्डा थिए । प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)को विवरण केलाउने हो भने उनीविरुद्ध अहिलेसम्म १२ पटक भन्दा बढी मुद्दा चलेको छ ।
कुनै समय (हाल दिवंगत) एमाले नेता प्रदीप नेपालका किचन क्याबिनेटका सदस्य भनेर चिनिने उनै मिलन गुरुङ कसरी चक्रे बनेर अपराधको दुनियाँमा फैलिए भन्नेसम्म अनलाइनखरले खोतल्ने प्रयास गरेको छ ।
भुतपूर्व गोर्खाआर्मीका छोरा चक्रेको घर गोरखा सिरानचोक गाउँपालिका–५ छोप्राक हो ।
उनी काठमाडौंमा भने चक्रपथ महाराजगञ्जमा बसे । चक्रपथ क्षेत्रमा आफ्नो गतिविधि बिस्तार गरेर पछि चक्रे नामले नै अपराधको दुनियाँमा प्रख्यात भए । एक समय दरबारको निकट रहेको मानिने चक्रे २०४६ सालपछि भने एमाले बने । अनि महाराजगञ्ज क्षेत्रमा केटाहरू जम्मा पारेर त्यसक्षेत्रका बालुवा खानीका ठेक्काहरूमा कमिसन लिन थाले ।
महाराजगञ्ज एरियालाई आफ्नो आधार इलाका बनाउँदै ठेक्कापट्टामार्फत कमिसन र सलामी शेयर लिन थालेका उनी नदिनेविरुद्ध धम्की दिँदै कमिसन लिन थाले । सोही क्रममा पहिलो पटक चक्रे ७ साउन २०४७ मा पक्राउ परे ।
गुन्डागर्दीको रुपमा उदाउँदै गरेका चक्रेविरुद्ध त्यतिबेला कसैले उजुरी दिएको थिएन । प्रहरी प्रतिवेदनको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध केही सार्वजनिक अपराध (अहिलेको अभद्र व्यवहारको मुद्दा) चलायो । झिनो मुद्दा भएकाले उनी केही दिनमै छुटे ।
यसको करिब डेढ वर्षपछि फेरि चक्रेलाई परिसर काठमाडौंले नै पक्रियो । त्यतिबेला पनि प्रहरी प्रतिवेदनमै आधारमा सार्वजनिक अपराधको मुद्दा चलाइयो । उनी छुटे ।
१३ जेठ २०५२ मा ज्यान मार्ने उद्योग अन्तर्गत उनी पक्राउ परे । संजोग गुरुङले जाहेरी दिएपछि उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो । ज्यान मार्ने उद्योगको कसुरमा चक्रेविरुद्ध फेरि १२ वैशाख २०५५ मा मुद्दा चल्यो । त्यतिबेला परमाया गुरुङले चक्रेविरुद्ध जाहेरी दिएकी थिइन् ।
३१ वैशाख २०६१ मा काठमाडौंको महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा चक्रेमाथि सांघातिक आक्रमण भयो । हेल्मेट लगाएर आएको एउटा समूहले चक्रेमाथि अन्धाधुन्दा आक्रमण गर्यो । सो क्रममा चक्रेको देब्रे हात समेत छिन्यो । छिनेको हात बोकर चक्रेलाई उनको समूहले अस्पताल लग्यो । बेलैमा अस्पताल पुर्याइएकाले उनको हात जोडियो ।
चक्रेलाई आक्रमण गर्ने समूह राजिव गुरुङ उर्फ दीपक मनाङे रहेको प्रहरीले निष्कर्ष निकाल्यो । त्यतिबेलाका चल्तापूर्ता गुण्डा नाइके चक्रे र मनाङको दुश्मनी पनि बढ्दो थियो । जसकारण मनाङे समूहको आक्रमणबाट चक्रेको हात काटिएको निष्कर्ष निकाल्दै मनाङे, गणेश लामा, रेवती कार्की, रमेश सुनुवार, उमेश लामाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलायो ।
ज्यान मार्ने उद्योग नभइ कुटपिट भएको भन्दै जिल्ला अदालतले मनाङेलाई २ वर्ष सजाय तोक्यो अन्यलाई भने सफाइ दियो । फैसला उल्टिएर ५ वर्ष कैद सुनाएपछि मनाङ अहिले चक्रेलाई आक्रमण गरको कसुरमा डिल्लीबजार कारागारमा छन् ।
कहिले आफैं काटिने त कहिले अरुलाई कुटेको आक्रमण गरेको आरोपमा चक्रेविरुद्ध ज्यान मार्ने उद्योगको शृंखला चल्ने क्रम जारी नै रह्यो । २२ भदौ २०६३ मा राजु थापाले ज्यान मार्ने उद्योगको कसुरमा जाहेरी दिएपछि चक्रेविरुद्ध परिसर काठमाडौंले मुद्दा चलायो ।
चक्रे समातिने, मुद्दा चल्ने, छुट्ने क्रम जारी रह्यो । जसले पक्राउ पर्नु, हिरासत जानु र छुट्ने चक्रेका लागि सामान्य हुन थालिसकेका थियो । त्यसपछिका वर्षहरूमा यसले झनै निरन्तरता पायो । २३ वैशाख २०६४ मा उनीविरुद्ध फेरि ज्यान मार्ने उद्योगको कसुरमा परिसर काठमाडौंले मुद्दा चलायो । त्यतिबेला रुपा वान्ता डंगोलले जाहेरी दिएकी थिइन् ।
२०६४ मा समातिएपछि उनी डेढ वर्ष जेल बसेर छुटे । त्यसपछि उनी एमालेकै युर्थफोर्समा जोडिए ।
यसको एक वर्षपछि ८ माघ २०६५ मा आशा श्रेष्ठले ज्यान मार्ने उद्योगमा जाहेरी दिएपछि चक्रेविरुद्ध फेरि मुद्दा चल्यो ।
यसको एक वर्षपछि २८ असार २०६६ भने चक्रे लागु औषधसहित बुटवलमा समातिए । यसलाई भने शंकास्पद रुपमा लिने गरिन्छ । चक्रे आफू लागु औषध सेवन गर्दैनन् । लागु औषधमा पक्राउ परेर मुद्दा चल्दा लामो समय कारागार बस्न सक्ने भन्दै प्रहरी प्रतिवेदनको आधारमा लागु औषधमा मुद्दा चलाइएको भन्ने आरोप पनि लाग्दै आएको छ ।

प्रहरीको रेकर्ड अनुसार १२ फागुन २०६७ मा प्रहरी वृत्त नयाँ बानेश्वरबाट पनि चक्रेविरुद्ध मुद्दा चलेको देखिन्छ । त्यही समयमा १३ फागुन २०६७ मा चक्रेविरुद्ध प्रहरी वृत्त महाराजगञ्जबाट पनि प्रहरी प्रतिवेदनका आधारमा मुद्दा चलेको थियो ।
यो बीचमा उनी लागुऔषधको केशमा पाँच वर्ष जेल तोकिएपछि जेल गए । छुटेको केही समयपछि २६ वैशाख २०७४ र ११ भदौ २०७४ मा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रतिवेदन अनुसार उनीविरुद्ध साधारण अपराधमा मुद्दा चल्यो ।
२१ साउन २०७१ मा गुन्डा नाइके भनेर दिनेश अधिकारी चरी प्रहरी मुठभेडमा मारिए । ३ भदौ २०७३ मा अर्का गुण्डा नाइके कुमार घैंटे (कुमार श्रेष्ठ) मारिए । गुन्डाविरुद्ध प्रहरीले कठोर नीति लिएपछि काठमाडौंमा गुण्डागर्दी भने सामसुम हुँदै गएको थियो ।
त्यसपछि केही गुन्डाहरूले उपत्यका छाड्नदेखि देश नै छाड्न थालेका थिए । चक्रे पनि आफ्नो पूरानो रवाफ छाडेर सामान्य अवस्थामा लागे । प्रहरी कारबाहीबाट जोगिन उनै झनै सक्रिय भएर राजनीतिमा पनि लागे । पाखुरामा सूर्यको ट्याटु समेत हानेका चक्रे एमालेबाट गोरखाको प्रदेशमा चुनावमा समेत सिफारिस भएका थिए । यद्यपी पछि उनले टिकट पाएनन् ।
गुण्डाविरुद्ध प्रहरी कारबाही भएपछि शान्त बनेका चक्रे अहिले करिब एक दशक पछि फेरि आतंकित पारेको आरोपमा पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो प्रभुत्व जमाउँदै युवाहरूको समूह बनाएर रवाफ देखाउने चक्रे देश–विदेश घुम्नदेखि टिकटक बनाउन व्यस्त हुन्थे । तर ६ दिनदेखि भने उनी प्रहरी हिरासतमा छन् ।
प्रतिक्रिया 4