+
+
Shares

गोरखा-२ का उम्मेदवार : लेखनाथका ११ किताब, चक्रे मिलनका १२ मुद्दा

यसपालि प्रचण्डले रूकुम पूर्व र नारायणकाजी श्रेष्ठले सर्लाही ३ मा चुनाव लड्ने निर्णय गरेपछि लेखनाथ न्यौपानेले गोरखा २ मा मौका पाएका हुन् । यस्तै आपराधिक तथा गुण्डागर्दी पृष्ठभूमिका मिलन गुरुङ (चक्रे मिलन)लाई एमालेले प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते २०:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूले अधिकांश १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाइसकेका छन्।
  • गोरखा २ मा माओवादी नेता लेखनाथ न्यौपानेले पहिलोपटक चुनाव लड्ने मौका पाएका छन् भने एमालेले आपराधिक पृष्ठभूमिका मिलन गुरुङलाई उम्मेदवार बनाएको छ।
  • प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक बाबुराम भट्टराईले गोरखा २ बाट उम्मेदवारी दिने मनस्थिति व्यक्त गरेका छन् र कांग्रेसको उम्मेदवार टुंगो लागिसकेको छैन।

४ माघ, काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा दलहरूले उम्मेदवार टुंगो लगाउने प्रक्रिया चलिरहेको छ । मुख्य राजनीतिक दलहरूले देशभरका १६५ मध्ये अधिकांश निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको टुंगो लगाइसकेका छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार आउँदो ६ गते उम्मेदवारी दर्ता गर्नुपर्ने छ । अहिलेसम्म टुंगो लागेका मध्ये गोरखा २ का उम्मेदवारमा भने गज्जबको संयोग जुरेको छ ।

गोरखा-२ मा पहिलोपटक प्रतिष्पर्धा गर्न लागेका लेखनाथ न्यौपाने विद्यार्थी आन्दोलनबाट उदाएका नेता हुन् । उनले तत्कालीन माओवादीबाट भूमिगतकालीन राजनीति सुरू गरेका थिए । न्यौपाने अनेरास्ववियु क्रान्तिकारीको अध्यक्ष बनेका थिए । तुलनात्मक रूपमा तत्कालीन माओवादीभित्र राम्रो छविका मानिने लेखनाथ माओवादीभित्र कम अवसर पाउने नेताहरूमध्ये मानिन्छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल र पार्टीले लिने गरेका गलत कदमको खुलेर प्रश्न र विरोध गर्ने निकै कम नेताहरूमध्ये पर्छन् । यसअघिको चुनावमा गोरखा २ मा तत्कालीन माओवादीका बाबुराम भट्टराई, त्यसपछि नारायणकाजी श्रेष्ठ र अघिल्लो चुनावमा अध्यक्ष स्वयम् प्रचण्ड उठेपछि लेखनाथले मौका पाउन सकेका थिएनन् ।

यसपाली प्रचण्डले रूकुम पूर्व र नारायणकाजी श्रेष्ठले सर्लाही ३ मा चुनाव लड्ने निर्णय गरेपछि लेखनाथले गोरखा २ मा मौका पाएका हुन् । विद्यार्थी राजनीतिको पृष्ठभूमिका लेखनाथले अहिलेसम्म ११ किताब लेखेका छन् ।

‘अहिलेसम्म लेख्नेपढ्ने काम नै भयो, ११ वटाजति किताब लेखिएछ,’ न्यौपानेले अनलाइनखबरसँग भने, ‘यसपाली आफ्नै क्षेत्रमा परीक्षण हुने मौका मिलेको छ ।’ उनले प्रतिबन्धित कलम (निबन्धसङ्ग्रह, २०६० र २०६७), शैक्षिक हड्ताल ( २०६१),अखिल ज्ञान ( २०६२, २०६३ र २०६५), तिमी अमर भयौ… ( संस्मरण सङ्ग्रह, २०६३), चिट्ठीमा जनयुद्ध (पत्र साहित्य, २०६५), शिक्षामा पुनर्संरचनाको बहस ( २०६७), विद्यार्थी आन्दोलनमा बाइस वर्ष (२०६७) लगायत किताब लेखेका छन् ।

यस्तै आपराधिक तथा गुण्डागर्दी पृष्ठभूमिका मिलन गुरुङ (चक्रे मिलन) लाई एमालेले प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ ।

गुरुङका अनुसार उनी २०५० सालतिरदेखि नै नेकपा एमालेमा सक्रिय रहँदै आएका छन् । उनले पार्टीसँग निरन्तर रूपमा आबद्ध भएर समाजसेवा र राजनीतिमा क्रियाशील रहेको दाबी गर्दै आएका छन् ।

एमालेले उम्मेदवार बनाउने निर्णय गरेका गुरुङ भने विवादै विवादले घेरिएका पात्र हुन् । उनी पटक पटक पक्राउ पर्दै हिरासत र जेल पुग्ने गरेका छन् । पछिल्लो पटक उनी गत साउनमा पक्राउ परेका थिए । त्यतिबेला उनीसहितका व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जको एक होटलबाट पक्राउ गरेको थियो ।

सर्वसाधारणलाई आतंकित पार्ने गतिविधि गरेको आरोप उनीमाथि लागेको थियो । यो मुद्दामा उनी धरौटीमा छुटेका थिए । उनीविरुद्ध भक्तपुरमा ज्यान मार्ने उद्योगको अर्को मुद्दा थियो । काठमाडौंबाट छुटेपछि उनलाई भक्तपुर पठाइएको थियो । भक्तपुर अदालतबाट पनि उनी धरौटीमा रिहा भएका थिए ।

प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)को विवरण केलाउने हो भने उनीविरुद्ध अहिलेसम्म १२ पटक भन्दा बढी मुद्दा चलेको छ ।

भुतपूर्व गोर्खाआर्मीका छोरा चक्रेको घर गोरखा सिरानचोक गाउँपालिका–५ छोप्राक हो । उनी काठमाडौंमा भने चक्रपथ महाराजगञ्जमा बसे । चक्रपथ क्षेत्रमा आफ्नो गतिविधि विस्तार गरेर पछि चक्रे नामले नै अपराधको दुनियाँमा प्रख्यात भए । एक समय दरबारको निकट रहेको मानिने चक्रे २०४६ सालपछि भने एमाले बने । अनि महाराजगञ्ज क्षेत्रमा केटाहरू जम्मा पारेर त्यसक्षेत्रका बालुवा खानीका ठेक्काहरूमा कमिसन लिन थाले ।

महाराजगञ्ज एरियालाई आफ्नो आधार इलाका बनाउँदै ठेक्कापट्टामार्फत कमिसन र सलामी शेयर लिन थालेका उनी नदिनेविरुद्ध धम्की दिँदै कमिसन लिन थाले । सोही क्रममा पहिलो पटक चक्रे ७ साउन २०४७ मा पक्राउ परे ।

गुन्डागर्दीको रुपमा उदाउँदै गरेका चक्रेविरुद्ध त्यतिबेला कसैले उजुरी दिएको थिएन । प्रहरी प्रतिवेदनको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध केही सार्वजनिक अपराध (अहिलेको अभद्र व्यवहारको मुद्दा) चलायो । झिनो मुद्दा भएकाले उनी केही दिनमै छुटे ।

यसको करिब डेढ वर्षपछि फेरि चक्रेलाई परिसर काठमाडौंले नै पक्रियो । त्यतिबेला पनि प्रहरी प्रतिवेदनमै आधारमा सार्वजनिक अपराधको मुद्दा चलाइयो । उनी छुटे । त्यसयता भने पक्राउ पर्ने छुट्ने काम निरन्तर भइरहयो ।

२१ साउन २०७१ मा गुन्डा नाइके भनेर दिनेश अधिकारी चरी प्रहरी मुठभेडमा मारिए । ३ भदौ २०७३ मा अर्का गुण्डा नाइके कुमार घैंटे (कुमार श्रेष्ठ) मारिए । गुन्डाविरुद्ध प्रहरीले कठोर नीति लिएपछि काठमाडौंमा गुण्डागर्दी भने सामसुम हुँदै गएको थियो ।

यस्तै गोरखा क्षेत्र नम्बर २ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डाक्टर बाबुराम भट्टराईले पनि उम्मेदवारी दिने भएका छन् । यसअघि आफू अबको निर्वाचनमा प्रतिस्पर्धा नगर्ने बताउँदै आएका भट्टराईले आइतबार पार्टीको बैठक आफू निर्वाचन लड्ने मनस्थितिमा रहेको बताएका थिए ।

पार्टीले सोमबार उनको उम्मेदवारीबारे निर्णय गर्नेछ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि महामन्त्री कविन्द्र बुर्लाकोटीलाई गोरखा २ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसको उम्मेदवारबारे भने अहिलेसम्म टुंगो लागिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?