१८ पुस, काठमाडौं । गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवारका रूपमा सिफारिस भएका छन् ।
आपराधिक तथा गुण्डागर्दी पृष्ठभूमिका गुरुङलाई एमालेले प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरेको हो । गुरुङले निर्णय आफ्नो व्यक्तिगत इच्छाभन्दा पनि आम जनसमुदाय, विशेषगरी युवा तथा जेनजी पुस्ताको निरन्तर माग र दबाबका कारण लिएको बताएका छन् ।
गुरुङका अनुसार उनी २०५० सालतिरदेखि नै नेकपा एमालेमा सक्रिय रहँदै आएका छन् । उनले पार्टीसँग निरन्तर रूपमा आबद्ध भएर समाजसेवा र राजनीतिमा क्रियाशील रहेको दाबी गर्दै आएका छन् ।
यसैबीच, मिलन गुरुङको उम्मेदवारीबारे प्रतिक्रिया दिँदै गोरखाका युवा नेता प्रविण अधिकारीले भने, ‘जो कोही निस्वार्थ रूपमा राजनीति र समाजसेवाका लागि अघि बढ्छन्, त्यस्ता व्यक्तित्वलाई गोरखामा स्वागत गर्नुपर्छ ।’
एमालेको सिफारिसमा परेका गुरुङ भने विवादै विवादले घेरिएका पात्र हुन् । उनी पटक पटक पक्राउ पर्दै हिरासत र जेल पुग्ने गरेका छन् । पछिल्लो पटक उनी गत साउनमा पक्राउ परेका थिए । त्यतिबेला उनीसहितका व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जको एक होटलबाट पक्राउ गरेको थियो ।
सर्वसाधारणलाई आतंकित पार्ने गतिविधि गरेको आरोप उनीमाथि लागेको थियो । यो मुद्दामा उनी धरौटीमा छुटेका थिए । उनीविरुद्ध भक्तपुरमा ज्यान मार्ने उद्योगको अर्को मुद्दा थियो । काठमाडौंबाट छुटेपछि उनलाई भक्तपुर पठाइएको थियो । भक्तपुर अदालतबाट पनि उनी धरौटीमा रिहा भएका थिए ।
प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)को विवरण केलाउने हो भने उनीविरुद्ध अहिलेसम्म १२ पटक भन्दा बढी मुद्दा चलेको छ ।
कुनै समय (हाल दिवंगत) एमाले नेता प्रदीप नेपालका किचन क्याबिनेटका सदस्य भनेर चिनिने उनै मिलन गुरुङ अहिले चक्रे बनेर परिचित छन् ।
भुतपूर्व गोर्खाआर्मीका छोरा चक्रेको घर गोरखा सिरानचोक गाउँपालिका–५ छोप्राक हो । उनी काठमाडौंमा भने चक्रपथ महाराजगञ्जमा बसे । चक्रपथ क्षेत्रमा आफ्नो गतिविधि बिस्तार गरेर पछि चक्रे नामले नै अपराधको दुनियाँमा प्रख्यात भए । एक समय दरबारको निकट रहेको मानिने चक्रे २०४६ सालपछि भने एमाले बने । अनि महाराजगञ्ज क्षेत्रमा केटाहरू जम्मा पारेर त्यसक्षेत्रका बालुवा खानीका ठेक्काहरूमा कमिसन लिन थाले ।
महाराजगञ्ज एरियालाई आफ्नो आधार इलाका बनाउँदै ठेक्कापट्टामार्फत कमिसन र सलामी शेयर लिन थालेका उनी नदिनेविरुद्ध धम्की दिँदै कमिसन लिन थाले । सोही क्रममा पहिलो पटक चक्रे ७ साउन २०४७ मा पक्राउ परे ।
गुन्डागर्दीको रुपमा उदाउँदै गरेका चक्रेविरुद्ध त्यतिबेला कसैले उजुरी दिएको थिएन । प्रहरी प्रतिवेदनको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध केही सार्वजनिक अपराध (अहिलेको अभद्र व्यवहारको मुद्दा) चलायो । झिनो मुद्दा भएकाले उनी केही दिनमै छुटे ।
यसको करिब डेढ वर्षपछि फेरि चक्रेलाई परिसर काठमाडौंले नै पक्रियो । त्यतिबेला पनि प्रहरी प्रतिवेदनमै आधारमा सार्वजनिक अपराधको मुद्दा चलाइयो । उनी छुटे । त्यसयता भने पक्राउ पर्ने छुट्ने काम निरन्तर भइरहयो ।
२१ साउन २०७१ मा गुन्डा नाइके भनेर दिनेश अधिकारी चरी प्रहरी मुठभेडमा मारिए । ३ भदौ २०७३ मा अर्का गुण्डा नाइके कुमार घैंटे (कुमार श्रेष्ठ) मारिए । गुन्डाविरुद्ध प्रहरीले कठोर नीति लिएपछि काठमाडौंमा गुण्डागर्दी भने सामसुम हुँदै गएको थियो ।
त्यसपछि केही गुन्डाहरूले उपत्यका छाड्नदेखि देश नै छाड्न थालेका थिए । चक्रे पनि आफ्नो पूरानो रवाफ छाडेर सामान्य अवस्थामा लागे । प्रहरी कारबाहीबाट जोगिन उनी झनै सक्रिय भएर राजनीतिमा पनि लागे । पाखुरामा सूर्यको ट्याटु समेत हानेका चक्रे एमालेबाट गोरखाको प्रदेशमा चुनावमा समेत सिफारिस भएका थिए । यद्यपी पछि उनले टिकट पाएनन् ।
अहिले फेरि प्रतिनिधिसभामा सिफारिस भएका छन् । टिकट पाउँछन् वा पाउँदैनन् त्यो भने हेर्न बाँकी नै छ । आफूमाथि लागेको गुण्डाको आरोप बारे उनी भन्छन्, ‘लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएको छु । यसैक्रममा कहिलेकाहीँ आफूलाई ‘गुण्डा’ जस्ता आरोप लगाएर दु:ख दिने प्रयास भएको छ । तर एक साधारण नागरिकका रूपमा समाजसेवामै समर्पित रहेको हु । म समाजको सेवा गर्छु भन्न पनि नपाइने अवस्था बनाइयो ।’
समाजका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएको कारण गोरखाली जनताले आफूलाई जिताएर संसदमा पठाउनेमा आफू ढुक्क रहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4