+
+
Shares

खुकुरी काण्डमा स्टाटस लेखेपछि चक्रे समूहबाट भक्तपुरमा कुटिएका थिए युवक

आज बिहीबार चक्रेविरुद्ध मुद्दा दर्ता भए पनि बयान र थुनछेक नभ्याइएका कारण चक्रे हिरासतमै रहने भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १७:५९

२९ साउन, काठमाडौं । काठमाडौं जिल्ला अदालतले तोकेको धरौटी बुझाउँदा समेत चक्रे मिलन उर्फ मिलन गुरुङ नछुट्नुमा एक वर्षअघि बाँकेमा भएको खुकुरी प्रहारपछि उत्पन्न विषय जोडिएको खुलेको छ ।

बाँकेको राप्ती सोनारी-२ बिलौना चोकमा २ भदौ २०८१ मा समीर बिष्ट, सन्दीप बिष्ट, सुलभ लगायतमाथि खुकुरी प्रहार भएको थियो । गम्भीर घाइते भएको भन्दै उनीहरूलाई भारत उपचार गर्न समेत लगिएको थियो ।

यो खुकुरी आक्रमणमा सोनारी-२ का वडाध्यक्ष ज्ञानेन्द्र भनिने ज्ञानु वलीसहित चार जना पक्राउ समेत परेका थिए ।

एमालेबाट वडाध्यक्ष जितेका उनी एमालेकै युवा संघ बाँकेको अध्यक्ष समेत थिए । यता कुटाइ खाने व्यक्तिहरू भने कांग्रेसको तरुण दल र नेविसंघमा आवद्ध थिए ।

यही खुकुरी प्रहारको घटनामा मनिष रायमाझीले गुण्डा नाइके भनेर चिनिएका चक्रे मिलनलाई जोडेर फेसबुकमा स्टाटस लेखे ।

एमालेमा आवद्ध चक्रेको समूहबाट नेविसंघ, तरुण दलमा आवद्ध आफ्ना साथीमाथि खुकुरी प्रहार भएको भन्दै रायमाझीले लेखे, ‘चक्रे मिलन भन्ने मिलन गुरुङ तँ जहाँ छस्, म त्यहीँ खेल्न आउँछु ।’

यतिमात्रै होइन लंगडे, डुडे भन्दै चक्रेलाई गाली गर्दै रायमाझीले फेसबुकमा लेखेका थिए । यो लेखेको ८/१० दिनपछि उनै रायमाझी कुटिए । रायमाझीमाथि खुकुरी आक्रमण भयो । यही घटना चक्रेबाट भएको भन्दै अहिले मुद्दा चलाइएको छ ।

यो स्टाटस लेखेको एक दिनपछि रायमाझीले हटाएका थिए । तर चक्रेका केटाहरूले योजना बनाएर आफूमाथि आक्रमण गरेको दाबी गरिएको छ ।

१० भदौ २०८१ मा सानोठिमीस्थित दिव्यश्जरीमा रहेको बड्डाको तावा रेस्टुरेन्टमा रायमाझीमाथि खुकुरी आक्रमण भएको थियो । नकाव लगाएको १०/१२ जनाको समूहले आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए ।

यो घटनामा त्यतिबेला सर्लाहीको हरिवन नगरपालिका–४ घर भएका २५ वर्षीय अजित खवाससहितका व्यक्तिले आक्रमण गरेको भन्दै जाहेरी परेको थियो । खवास नाम गरेका व्यक्ति पक्राउ परेर मुद्दा चलेको थियो ।

तर खवास स्वयंले समेत आफूले आक्रमण नगरेको भन्दै बयान दिएका थिए । तर चक्रेको हकमा भने वतन नखुलेको भन्दै प्रतिवादी बनाइएको थिएन ।

त्यतिबेला रायमाझीको दुवै कोखमा खुकुरी प्रहारी गरी घाइते बनाइएको बताइएको थियो । सोही विषयमा अहिले चक्रेमाथि मुद्दा दर्ता भएको हो ।

आज बिहीबार चक्रेविरुद्ध मुद्दा दर्ता भए पनि बयान र थुनछेक नभ्याइएका कारण चक्रे हिरासतमै रहने भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज न्याैपानेले मुद्दा दर्ता भए पनि थुनछेक बहस आज नभ्याउने भएकाले चक्रेलाई हिरासतमै ल्याइएको बताए ।

‘आज मुद्दा दर्ता भयो । तर थुनछेक बहस नभ्याउने भएकाले आज हिरासतमै राखेर भोलि पुन: अदालत पेश गरिन्छ’ न्याैपानेले अनलाइनखबरसँग भने ।

खुकुरी आक्रमणमा परेको भनिएका रायमाझी र चक्रेबीच कुनै चिनजान नै नरहेको पाइएको छ । खकुुरी आक्रमणमा परेका रायमाझीले पनि आफूले चक्रेलाई नचिनेको बताएका छन् ।

यता चक्रेले पनि रायमाझीलाई चिन्दै नचिनेको बताएका छन् । चिन्दै नचिनेको मान्छेलाई कुटेको भन्ने आरोपमा सत्यता नरहेको दाबी चक्रेको छ । आफूमाथि मुद्दा रहेको भन्नेसम्म थाहा नपाएको बताएका छन् । घटनामा आफ्नो कुनै साइनो नरहेको चक्रेको भनाइ छ ।

 चक्रे हिजो मात्रै जिल्ला प्रहरी परिसरको हिरासतबाट छुटेका थिए । अभद्र व्यवहारको कसुरमा उनी ३० हजार धरौटी तिरेर रिहा भएका थिए ।

न्यायाधीश खिमानन्द भुसालको आदेशअनुसार उनी धरौटी बुझाएर रिहा भएका थिए । भक्तपुरमा अर्को मुद्दा रहेकाले उनलाई त्यसपछि भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो ।

१५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त अपरेशनमा चक्रेसहित ४७ जना पक्राउ परेका थिए । जसमध्ये २८ जनालाई भने छाडिएको थियो ।

मध्यराति चक्रेको जन्मदिन पार्टी मनाउने नाममा होहल्ला गरेको भन्दै प्रहरीले उनीहरूलाई समातेको थियो । महाराजगञ्जको होटल साम्बालामा चक्रेको जन्मदिनको पार्टी चलिरहेको बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?