+
+
Shares

ज्यान मार्ने उद्योगमा १ लाख १० हजार धरौटी बुझाएर रिहा भए चक्रे

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते १४:५७

३० साउन, काठमाडौं । गुन्डा नाइकेको रूपमा चिनिँदै आएका चक्रे मिलन (मिलन गुरुङ) लाई जिल्ला अदालत भक्तपुरले पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख १० हजार धरौटीमा छाड्न आदेश जारी गरेको हो ।

बिहीबार मुद्दाको सुनुवाइ नभ्याउने भएपछि पेशी तोकिएको थिएन ।

आज शुक्रबार भने न्यायाधीश न्यौपानेको इजलासले चक्रेको मुद्दामा बयान र थुनछेक सकेर आदेश जारी गरेको हो ।

‘तोकिएको धरौटी चक्रेले बुझाइसकेका छन् । रिहाको प्रक्रियामा रहेको छ,’ जिल्ला प्रहरी परिसरका भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले भने ।

चक्रेविरुद्ध बिहीबार ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको थियो । एक वर्षअघिको एक ज्यान मार्ने उद्योगको कसुरको मुद्दामा चक्रेविरुद्ध जाहेरी परेको थियो । आफ्नो भतिज मनिष रायमाझीलाई १० भदौ २०८१ मा सानोठिमीस्थित दिव्यश्जरीमा रहेको बड्डाको तावा रेस्टुरेन्टमा आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए ।

सर्लाहीको हरिवन नगरपालिका–४ घर भएका २५ वर्षीय अजित खवाससहितका व्यक्तिले आक्रमण गरको भन्दै जाहेरी परेको थियो । जहाँ चक्रेको समेत नाम उल्लेख थियो । जाहेरीपछि प्रहरीले खवासलाई पक्राउ गरेर अनुसन्धान गरी मुद्दा चलाएको थियो । तर चक्रेको हकमा भने वतन नखुलेको भन्दै प्रतिवादी बनाइएको थिएन ।

त्यतिबेला रायमाझीको दुवै कोखमा खुकुरी प्रहारी गरी घाइते बनाइएको बताइएको थियो । सोही विषयमा अहिले चक्रेमाथि मुद्दा दर्ता भएको हो ।

चक्रे बुधरबार मात्रै जिल्ला प्रहरी परिसरको हिरासतबाट छुटेका थिए । अभद्र व्यवहारको कसुरमा उनी ३० हजार धरौटी तिरेर रिहा भएका थिए । न्यायाधीश खिमानन्द भुसालको आदेशअनुसार उनी धरौटी बुझाएर रिहा भएका थिए । भक्तपुरमा अर्को मुद्दा रहेकाले उनलाई त्यसपछि भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो ।

१५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त अपरेशनमा चक्रेसहित ४७ जना पक्राउ परेका थिए । जसमध्ये २८ जनालाई भने छाडिएको थियो ।

मध्यराति चक्रेको जन्मदिन पार्टी मनाउने नाममा होहल्ला गरेको भन्दै प्रहरीले उनीहरूलाई समातेको थियो ।

महाराजगञ्जको होटल साम्बालामा चक्रेको जन्मदिनको पार्टी चलिरहेको बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?