+
+
Shares

चक्रे आज पनि हिरासतमै, भोलिबाट अदालतमा बहस थालिने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १६:३४

२९ साउन, काठमाडौं । गुण्डा नाइके भनेर चिनिने मिलन गुरुङ उर्फ चक्रे मिलनविरुद्ध जिल्ला अदालत भक्तपुरमा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको छ ।

चक्रेविरुद्ध आज बिहीबार मुद्दा दर्ता भएको हो । मुद्दा दर्ता भए पनि आज बयान र थुनछेक नभ्याइएका कारण चक्रे हिरासतमै रहने भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेले मुद्दा दर्ता भए पनि थुनछेक बहस आज नभ्याउने भएकाले चक्रेलाई हिरासतमै ल्याइएको बताए ।

‘आज मुद्दा दर्ता भयो । तर थुनछेक बहस नभ्याउने भएकाले आज हिरासतमै राखेर भोलि पुन: अदालत पेश गरिन्छ,’ नेउपानेले अनलाइनखबरसँग भने ।

एक वर्षअघिको एक ज्यान मार्ने उद्योगको कसुरको मुद्दामा चक्रेमाथि मुद्दा दर्ता भएको हो । चक्रेसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै प्रहरी वृत्त थिमिमा जाहेरी परेको थियो ।

आफ्नो भतिजो मनिष रायमाझीलाई १० भदौ २०८१ मा सानोठिमीस्थित दिव्यश्जरीमा रहेको बड्डाको तावा रेस्टुरेन्टमा आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए ।

सर्लाहीको हरिवन नगरपालिका–४ घर भएका २५ वर्षीय अजित खवाससहितका व्यक्तिले आक्रमण गरको भन्दै जाहेरी परेको थियो । जहाँ चक्रेको समेत नाम उल्लेख थियो । जाहेरी पछि प्रहरीले खवासलाई पक्राउ गरेर अनुसन्धान गरी मुद्दा चलाएको थियो । तर चक्रेको हकमा भने वतन नखुलेको भन्दै प्रतिवादी बनाइएको थिएन ।

त्यतिबेला रायमाझीको दुवै कोखमा खुकुरी प्रहारी गरी घाइते बनाइएको बताइएको थियो । सोही विषयमा अहिले चक्रेमाथि मुद्दा दर्ता भएको हो ।

चक्रे हिजो मात्रै जिल्ला प्रहरी परिसरको हिरासतबाट छुटेका थिए । अभद्र व्यवहारको कसुरमा उनी ३० हजार धरौटी तिरेर रिहा भएका थिए । न्यायाधीश खिमानन्द भुसालको आदेशअनुसार उनी धरौटी बुझाएर रिहा भएका थिए । भक्तपुरमा अर्को मुद्दा रहेकाले उनलाई त्यसपछि भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो ।

१५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त अपरेशनमा चक्रेसहित ४७ जना पक्राउ परेका थिए । जसमध्ये २८ जनालाई भने छाडिएको थियो ।

मध्यराति चक्रेको जन्मदिन पार्टी मनाउने नाममा होहल्ला गरेको भन्दै प्रहरीले उनीहरूलाई समातेको थियो । महाराजगञ्जको होटल साम्बालामा चक्रेको जन्मदिनको पार्टी चलिरहेको बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?