
१६ साउन, काठमाडौं । विगतमा गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन भनिने मिलन गुरुङलाई प्रहरीले गएराति महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको छ ।
बाँसबारी रोडमा रहेको होटल साम्बालामा पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति उनलाई पक्राउ गरेको हो ।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी कुलदिप चन्दले राति गुण्डागर्दी पृष्ठभूमिका केही व्यक्तिहरु पक्राउ परेको पुष्टि गरे पनि विस्तृतमा बताएनन् । ‘राति प्रहरीले त्यससम्बन्धी अपरेशन चलाएको थियो, तर संख्याबारे अहिल्यै भन्न सकिएन’, उनले अनलाइनखबरसँग भने ।
प्रहरी स्रोतका अनुसार, चक्रे मिलनका समर्थकहरुले दुई दिनअघिबाटै जन्मदिन पार्टी मनाइरहेका थिए । त्यसक्रममा बिहीबार दिउँसो उनी पशुपति क्षेत्रमा देखिएका थिए ।
दिउँसो मन्दिर आसपास सहयोग माग्दै बसेका व्यक्तिहरुलाई पैसा बाँड्दै हिँडेका देखिएका उनी ठमेलमा केही र्यापरहरुसँग समेत देखिएका थिए । उनको जन्मदिनमा भेला भएका समर्थकहरुसँगै चर्चित र्यापरहरु समेत पुगेका थिए । त्यहाँ उनले एकैठाउँमा २० वटासम्म केक काटेको प्रहरी बताउँछ ।
अपराह्न उनको समूहले चक्रे मिलनलाई गाडीहरुको लावालस्करसहित महाराजगञ्जसम्म स्कर्टिङ गरेको थियो । यसको सूचना काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालय दुवैलाई पुगेको थियो ।

तर, पछिल्लो समय कुनै आपराधिक गतिविधिमा प्रत्यक्ष संलग्नता नदेखिएका मिलनको गतिविधिमा चासो दिने वा नदिने भन्नेमा अधिकारीहरु अलमलमा थिए ।
त्यस्तोमा मध्यरातिसम्म उनको समूहले होटलमा बसेर होहल्ला गरेको सूचना प्रहरीले पाएको थियो । त्यसपछि काठमाडौं प्रहरीका एसएसपी विश्व अधिकारीले माथिल्लो तहसम्म कुरा गरे । र, सार्वजनिक स्थानमा हल्लाखल्ला गरेको आरोपमा चक्रे मिलन पक्राउ परे । उनीसँगै जन्मदिन पार्टी मनाउन पुगेका करिब ५० जना ‘आपराधिक पृष्ठभूमि’का व्यक्तिहरु पनि पक्राउ परे ।
तर, उनीहरुविरुद्ध के कसुरमा प्रहरीले मुद्दा चलाउँछ भन्ने टुंगो लागेको छैन ।

२३ माघ २०८१ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले सामाजिक सञ्जाल टिकटकमा ‘तरवारले केक काटेको’, ‘खुकुरी, मसल प्रदर्शन गरेको’ भन्दै ७ जनालाई पक्राउ गरेको थियो ।
उनीहरुविरुद्ध प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा कारबाही प्रक्रिया अघि बढाएको थियो । तर, सरकारी वकिलले त्यसमा मुद्दा नचल्ने निर्णय गरिदिएपछि सबै छुटेका थिए ।
२०६२/६३ को जनआन्दोलनपछि महाराजगञ्जमा चक्रे मिलन, ठमेलमा दिपक मनाङे, चाबहिलमा राजु गोर्खाली गुण्डागर्दीमा संलग्न समूहको नाइकेका रुपमा उदाएका थिए । पछि यिनै समूहमा जोडिएर गणेश लामा, दावा लामा लगायतका व्यक्तिहरु समेत गुण्डागर्दीमा जोडिएका थिए ।
भलै मनाङे, लामाद्वय लगायत राजनीतिमा प्रवेश गरेर आफ्नो पृष्ठभूमिलाई ‘शुद्धीकरण’ गर्ने प्रयास गरिरहेका छन् । मनाङे त प्रदेशसभा सदस्य निर्वाचित भएर गण्डकीमा मन्त्री समेत बने । गणेश लामा सत्तारुढ नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । २०७५ सालसम्म प्रहरीको खोजी सूचनमा रहेको दावा लामा अहिले काभ्रेको भुम्लु गाउँपालिकामा उपाध्यक्ष छन् ।
मनाङे चाहिँ अहिले ३१ वैशाख २०६१ सालमा महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा मिलन चक्रेलाई तरबार हानेको कसुरमा डिल्लीबजार कारागारमा छन् ।
पहिले जिल्ला अदालत, काठमाडौंले ज्यान मार्ने उद्योग नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनाएको थियो । त्यसअनुसार कैद सजाय भोगेर उनी छुटेका थिए ।
तर, पछि उच्च अदालत पाटनले त्यसलाई उल्ट्याउँदै ५ वर्ष कैद सजाय हुने आदेश सुनायो । त्यसविरुद्ध मनाङे सर्वोच्च अदालत गए । तर, सर्वोच्चले पनि २० कात्तिक २०८१ मा उच्चकै आदेश सदर गरिदिएको थियो । त्यसपछि उनी पक्राउ परेका थिए ।
विगतमा चक्रे मिलन ठेक्कापट्टा, टेन्टर र मिटरब्याज असुलीमा सक्रिय थिए । तर, पछिल्लो समय टेन्टर र ठेक्कापट्टामा अनलाइन बिडिङ सुरु भएसँगै यसमा गुण्डागर्दी पृष्ठभूमिका व्यक्तिहरुको संलग्नता घटेको थियो ।
प्रहरीले विगतमा गुण्डा नाइकेका रुपमा चिनिएकाहरुविरुद्ध आक्रामक नीति लिएका कारण पनि कतिपयले आफूलाई परिवर्तन गराएका थिए ।
खासगरी बलियो राजनीतिक संरक्षण रहेका भनिएका गुण्डा नाइकेहरु दिनेश अधिकारी ‘चरी’, कुमार घैंंटे लगायत प्रहरीसँग ‘मुठभेड’मा मारिएपछि उपत्यकामा हुने गुण्डागर्दी घटेको थियो ।
पछिल्लो पटक २०७४ सालमा निर्माण व्यवसायी शरद गौचनको हत्यापछि मनोज पुनको मृत्यु र अरु आरोपीहरुको पक्राउपछि समेत त्यस्ता पृष्ठभूमिका व्यक्तिहरु झस्किएको प्रहरी अधिकृतहरु बताउँछन् । यद्यपि, उपत्यकामा नयाँ प्रहरी अधिकृत नेतृत्वमा आउने वित्तिकै अपराधिक पृष्ठभूमिका व्यक्तिहरुमाथि नजर लगाउने गरेका छन् ।
हालै प्रहरीले सानुभाइ भनिने युवराज गुरुङलाई ठमेलको दोहोरी साँझबाट पक्राउ गरेको थियो । नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा उनी पक्राउ परेका थिए ।
ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा समेत उनी २०८० असारमा पक्राउ परेका थिए । त्यसबेला प्रहरीले उनलाई हत्कडीसहित ठमेल क्षेत्रमा हिँडाएको थियो ।
पछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अभद्र व्यवहारको कसुरमा उनलाई १० हजार रुपैयाँ धरौटीमा छाडेको थियो ।
प्रतिक्रिया 4