+
+
Shares

कर्णाली प्रदेश सभाको चालु अधिवेशन अन्त्य 

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २१ गते १६:२३

२१ साउन, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश सभाको दोस्रो कार्यकालको छैठौ अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बुधवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्ने  प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारको पत्र अनुसार प्रदेश प्रमुख यज्ञराज जोशीले आज राति १२ बजेदेखि लागू हुनेछ चालु अधिवेशन अन्त्य गर्नेछन् । यो अधिवेशनलाई बर्खे वा बजेट अधिवेशनका रूपमा लिइन्छ । अधिवेशनको पहिलो बैठक वैशाख अन्तिम सातातिर बसेको थियो ।

प्रदेश मन्त्रीपरिषद् बैठकले अधिवेशन अन्त्यसँगै अन्य चार वटा महत्त्वपूर्ण निर्णयहरू पनि गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले जानकारी दिए । उनका अनुसार सरकारले मन्त्रालयहरूको कामकारबाही अनुगमन गर्न एक अनुगमन इकाई गठन गर्ने निर्णय गरेको छ ।

त्यसका लागि तीन सदस्यीय समिति गठन गर्ने र उक्त समितिले प्रत्येक मन्त्रालयको कामकाज, सूचनाको हक कार्यान्वयनको अवस्था र सूचना अधिकारीको कार्यसम्पादनबारे अनुगमन गर्ने छ । उक्त इकाईको संयोजकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासकीय सुधार महाशाखाका सचिव रहनेछन् ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव ढोलकराज ढकाललाई सामाजिक विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको छ । उनलाई कामकाजका लागि उक्त मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको हो ।

त्यस्तै जाजरकोटको चुनीचाँदे गाउँपालिकाको केन्द्र तोक्ने विषयमा पनि मन्त्रीपरिषद् बैठकले निर्णय गरेको छ । गाउँ कार्यपालिकाले तोकेको केन्द्रलाई प्रदेश मन्त्रिपरिषद्ले परिवर्तन गरेपछि उक्त विषय सर्वोच्च अदालत पुगेको थियो ।

सर्वोच्चले गाउँपालिकाकै निर्णयलाई सदर गरेपछि सोही निर्णय कार्यान्वयनका लागि प्रक्रिया अघि बढाउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय प्रदेश मन्त्रिपरिषद्ले गरेको प्रवक्ता शाहले जानकारी दिए ।

यस्तै बैठकले ‘पत्रकारिता पुरस्कार वितरण कार्यविधि, २०८१’ लाई पनि स्वीकृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?