
News Summary
Generated by OK AI. Editorially reviewed.- रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०२५ को अन्तिम साता भारत भ्रमणमा आउन सक्ने सम्भावना छ।
- भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले दुई देशबीच बलियो साझेदारी र उच्चस्तरीय संवाद भइरहेको उल्लेख गरे।
- भारत र रूसले आपसी व्यापार १०० अर्ब डलरभन्दा बढी पुर्याउने सहमति गरेका छन् र हाल वार्षिक ६० अर्ब डलरको व्यापार भइरहेको छ।
२२ साउन, काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०२५ को अन्तिम साता भारतको भ्रमणमा आउन सक्नेछन् । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई उद्धृत गर्दै रूसी समाचार एजेन्सी तासले पुटिनको भारत भ्रमण बारे जानकारी दिएको छ ।
डोभालले रूसी रक्षा मन्त्री सर्गेई सोइगुसँगको भेटमा भने, ‘अहिले हाम्रो सम्बन्ध निकै मजबुद भएको छ, जसको हामी मूल्यांकन गर्छौं। दुई देशबीच बलियो साझेदारी छ र हामी उच्चस्तरीय संवाद गरिरहेका छौं ।’
भारतका सुरक्षा सल्लाहकार डोभाल बुधबार रूस पुगेका हुन्। उनको राष्ट्रपति पुटिनसँग पनि भेट हुने सम्भावना छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत-रूस सम्बन्धमाथि तिक्ततापूर्ण टिप्पणी गरेपछि भएको यो भ्रमणलाई महत्त्वका रूपमा हेरिएको छ।
रूसी राष्ट्रपति पुटिन अन्तिम पटक ६ डिसेम्बर २०२१ मा केवल ४ घन्टाका लागि भारत आएका थिए । उक्त भ्रमणमा भारत र रूसबीच २८ वटा सम्झौतामा हस्ताक्षर भएको थियो, जसमा सैन्य र प्रविधिसम्बन्धी सम्झौतासमेत थिए ।
दुवै देशले सन् २०२५ सम्ममा आपसी व्यापार ३० अर्ब डलर पुर्याउने लक्ष्य लिएका थिए ।
भारत र रूस आपसी व्यापारलाई दोब्बर गरी १०० अर्ब डलरभन्दा बढी पुर्याउने सहमतिमा पुगेका छन् । हाल दुई देशबीच वार्षिक झण्डै ६० अर्ब डलरको व्यापार भइरहेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०२४ मा दुई पटक रूस गएका थिए । उनी अक्टोबर २२ मा ब्रिक्स सम्मेलनका लागि रूस गएका थिए। त्यसअघि जुलाईमा पनि दुई दिनका लागि उनी रूस गएका थिए । सो भ्रमणमा उनले राष्ट्रपति पुटिनलाई भारत भ्रमणको निमन्त्रणा दिएका थिए ।
मार्च २०२३ मा अन्तर्राष्ट्रिय आपराधिक अदालत (आईसीसी) ले पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । अदालतले युक्रेनमा बालबालिकाको अपहरण र बलपूर्वक स्थानान्तरणको आरोपमा उनलाई युद्ध अपराधका लागि जिम्मेवार मानेको थियो ।
आईसीसीले संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रको शीर्ष नेतामाथि अरेस्ट वारेन्ट जारी गरेको यो पहिलोपटक थियो । अमेरिका, रूस, चीन, बेलायत र फ्रान्स सुरक्षा परिषद्का स्थायी सदस्य हुन् ।
त्यसयता पुटिनले अन्तर्राष्ट्रिय भ्रमणहरू गरेका छैनन् । उनी अघिल्लो वर्ष भारतमा भएको जी-२० सम्मेलनमा सहभागी भएनन्। यस वर्ष ब्राजिलमा भइरहेको जी-२० सम्मेलनमा पनि उनी सहभागी भएका छैनन्।
चीनपछि भारत रूसी तेलको दोस्रो ठूलो क्रेता हो। युक्रेन युद्धअघि भारतले रूसबाट केवल ०.२ प्रतिशत (६८ हजार ब्यारेल प्रतिदिन) मात्र तेल आयात गर्थ्यो । तर मे २०२३ सम्म यो बढेर ४५ प्रतिशत (२० लाख ब्यारेल प्रतिदिन) पुगेको थियो। सन् २०२५ को जनवरीदेखि जुलाईसम्म भारतले हरेक दिन रूसबाट १७.८ लाख ब्यारेल तेल खरिद गरिरहेको छ।
पछिल्ला दुई वर्षदेखि भारतले हरेक वर्ष १३० अर्ब डलर भन्दा बढीको रूसी तेल खरिद गरिरहेको छ । एजेन्सीहरूको सहयोगमा
प्रतिक्रिया 4