
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले आयोजना गरेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवधि सोमबारसम्म थप गरिएको छ।
- एक्स्पोमा पहिलो चार दिनमा ६९ हजार ५ सय जनाले अवलोकन गरेका छन् र शनिबार सबैभन्दा बढी २१ हजार ५ सय अवलोकनकर्ता सहभागी भएका थिए।
- एक्स्पोमा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी छन् र तीन दर्जन सवारीसाधन लन्च गरिएका छन्।
२५ साउन, काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को समय थपिएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नाइमा मोबिलिटी एक्स्पोको अवधि सोमबारसम्म थप गरिएको आयोजकले जनाएको छ । गत बुधबार सुरु भएको एक्स्पो यसअघि आइतबारसम्म चल्ने तय थियो ।
नाइमाले एक्स्पोमा अपेक्षाभन्दा बढी दर्शकको आगमन भएको र यसले प्रदर्शनीस्थलमा रौनकता छाएसँगै ५ दिन खुल्ने भनिए पनि अवलोकनकर्ताको माग सम्बोधन गर्न गाह्रो भएपछि एक दिन अवधि थप गरिएको जनाएको छ ।
नाइमाले प्रदर्शनीको दिनमध्ये शनिबार सबैभन्दा धेरे अवलोकनकर्ता आएको जनाएको छ । नाइमाका अनुसार अरू दिन कार्यालयको कामकाजमा व्यस्त रहने व्यक्तिले शनिबार उत्साहसाथ प्रदर्शनीमा सहभागिता जनाएका छन् ।
मुसलधारे पानी परिरहँदा पनि एक्स्पो निर्वाध सञ्चालन भएको र सवारीसाधन अवलोकन गर्ने, सोधपुछ गर्ने, बुकिङ गर्ने साथै खरिद गर्नेहरूको घुइँचो रहेको नाइमाको दाबी छ ।
नाइमाले दिएको तथ्यांक अनुसार प्रदर्शनीको पहिलो ४ दिनमा ६९ हजार ५ सय जनाले अवलोकन गरेका छन् । त्यसमध्ये पहिलो दिन १५ हजार, दोस्रो दिन १३ हजार ५ सय, तेस्रो दिन १९ हजार ५ सय र चौथो दिन शनिबार २१ हजार ५ सय अवलोकनकर्ताले एक्स्पोमा सहभागिता जनाएका छन् ।
एक्स्पोमा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी छन् । एक्स्पोमा दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे गरी तीन दर्जन सवारीसाधन लन्च गरिएका छन् ।
प्रतिक्रिया 4