+
+
Shares

बागमती कांग्रेस विवाद : आज दुई पक्ष संवाद, भोलि देउवासँग भेट्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २५ गते १७:५८

२५ साउन, काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसभित्र देखिएको समस्याको समाधान खोज्नका लागि दुई पक्षको संवाद आइतबार साँझ हुने भएको छ ।

सभापति शेरबहादुर देउवाको उपस्थितिमा मुख्यमन्त्री इन्द्र बानियाँ र बहादुरसिंह लामा बीचमा भएको सहमति कार्यान्वयन हुनुपर्ने माग लामा पक्षले गर्दै आएको छ ।

लामा पक्षका अनुसार पूर्वमुख्यमन्त्री लामाले नियुक्त गरेर मन्त्री हुन नपाएका तीन जनालाई नयाँ बानियाँ नेतृत्वको मन्त्रिपरिषद्मा सहभागी गराउनुपर्ने सहमति बनेको थियो ।

प्रमुख सचेतक रहेका धादिङका गोविन्द लम्साल, चितवनका माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गरेका थिए । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरूङलाई सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त गरेका थिए ।

उक्त सहमतिबाट मुख्यमन्त्री टाढिएको भन्दै लामा पक्ष संशकित बनेको छ । मुख्यमन्त्री बानियाँले कांग्रेसका दुई र एमालेका छ जना गरी आठ मन्त्री नियुक्त गरेका छन् ।

कांग्रेसबाट नियुक्त भएका दुई मन्त्री बानियाँ पक्षका हुन् । मन्त्रिपरिषद्मा आफ्नो हिस्सेदारी सम्मानजनक हुन नसके २७ साउनमा मुख्यमन्त्री बानियाँले लिन लागेको विश्वासको मत नदिने चेतावनी लामा पक्षले दिएको छ । लामा पक्षको चेतावनीलाई बानियाँ पक्षले दबाबका लागि बोलिएको शैलीको रुपमा व्याख्या गरेको छ ।

विश्वासको मत लिनुअघि दुई पक्षमा आपसी समझदारी गर्नका लागि आज साँझ बानियाँ र लामा पक्षका सांसदहरुको संयुक्त बैठक बस्ने भनिएको छ ।

दुई पक्षमा भएको संवादको आधारमा सोमबार विहान सभापति शेरबहादुर देउवालाई भेट हुने प्रदेशका एक सांसदले जानकारी गराए ।

दुईपक्षको छलफल हुने स्थानबारे भने उनले खुलाउन चाहेनन् । लामालाई संसदीय दलको नेताको मतदान हुँदा १४ जनाले मत दिएका थिए । बागमतीमा कांग्रेसका ३७ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?