+

फुटबल लिग निरन्तर गर्न खेलाडी संघको माग

२०८२ साउन  २७ गते २३:३३ २०८२ साउन २७ गते २३:३३
फुटबल लिग निरन्तर गर्न खेलाडी संघको माग

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल फुटबल खेलाडी संघले डिभिजन फुटबल निरन्तरता दिन माग राख्दै एन्फा महासचिव किरण राईसमक्ष ज्ञापनपत्र बुझाएको छ ।
  • संघले दुई वर्षदेखि ठप्प रहेका सहिद स्मारक ए, बी र सी डिभिजन लिगले खेलाडी र फुटबल समुदायमा गम्भीर असर परेको जनाएको छ ।
  • खेलाडी संघले लिग फुटबलको अभावले खेलाडीहरू अनिश्चिततामा परेको र धेरै प्रतिभा विदेशिन बाध्य भएको उल्लेख गरेको छ ।

काठमाडौं । नेपाल फुटबल खेलाडी संघले डिभिजन फुटबल निरन्तरता दिन माग राख्दै मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईसमक्ष ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष विक्रम लामाको नेतृत्वमा विराज महर्जन, विकेश कुथुको टोलीले नेपाली पुटबललाई चलायमान बनाउनुपर्ने भन्दै एन्फासामु ज्ञापनपत्र बुझाएका हुन् ।

खेलाडी संघले चाँडोभन्दा चाँडो सबै श्रेणीका सहभागी क्लबसँग समन्वय गरेर फुटबल लिग क्यालेन्डरअनुसार काम अघि बढाउन माग राखेको हो ।

नेपाली फुटबललाई चलायमान राख्न डिभिजन फुटबलको निरन्तरता दिने माग राख्दै खेलाडी संघले  लिग निरन्तरको अन्यौलताले खेलाडीहरू र देश भित्रको फुटबल समुदाय दुवैमा गम्भीर र प्रत्यक्ष असर पारेको जनाएको छ ।

खेलाडी संघले सहिद स्मारक ए, बी र सी डिभिजन लिग दुई वर्षभन्दा बढी समयदेखि ठप्प रहँदा खेलाडी, प्रशिक्षक, रेफ्री तथा फुटबलमा निर्भर हजारौं व्यक्तिहरू आर्थिक तथा पेशागत संकटमा परेको जनाएको छ । यस्तै लिग फुटबलको अभावले खेलाडीहरूलाई अनिश्चिततामा धकेलेको र धेरै प्रतिभावान खेलाडी रोजगारीको खोजीमा विदेशिन बाध्य भएको संघको विज्ञप्तीमा उल्लेख छ ।

‘लिग फुटबलको अभावले खेलकुदमा आफ्नो जीवन समर्पित गरेका हाम्रा फुटबल खेलाडीहरूलाई अनिश्चित अवस्थामा पुर्‍याएको छ । हामीजस्तै प्रशिक्षक, रेफ्री र फुटबलकै भर गर्ने अन्य हजारौंको अवस्था पनि यस्तै होला । फुटबलको अभावकै कारण धेरै प्रतिभा जीविकोपार्जनको खोजीमा देश छोड्न बाध्य भएका छन् । यो पलायन केवल व्यक्तिगत प्रतिभाको क्षति मात्र होइन, यसले राष्ट्रिय फुटबललाई दिर्घकालिन हानि पुर्याउँछ । र अन्तर्राष्ट्रिय मञ्चमा पनि हाम्रो स्तरमा प्रत्यक्ष प्रभाव पार्दछ ।’ विज्ञप्तीमा भनिएको छ, ‘पछिल्लो पटक राष्ट्रिय टोली छनोट प्रक्रिया गर्न खेलाडीलाई ट्रायलमा बोलाउनुपर्ने स्थितिले यस पक्षलाई अझ उजागर गरेको छ । राष्ट्रिय टोलीको छनोट प्रतिस्पर्धात्मक खेलबाट हुनुपर्नेहो । र लिग फुटबल गर्नुबाहेकको विकल्प हामीसँग छैन ।’

यी बाहेक फुटबल गतिविधि नहुँदा खेलाडीहरूले सामना गर्ने आर्थिक कठिनाइले उनीहरूको प्रशिक्षण र फिटनेस कायम राख्ने क्षमतामा बाधा पुर्‍याइरहेको संघले जनाएको छ । यस्तै आउने पिढीलाई पनि नराम्रो सन्देश गएको खेलाडी संघले जनाएको छ ।

फुटबल खेलाडी संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय