News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघ (एन्फा) ले युवा फुटबल विकास र बालबालिकाको संरक्षणका लागि ग्रासरुट कार्यक्रम सुरु गरेको छ।
- एन्फाले तेर दे होम्स र चाइल्ड नेपालसँग सम्झौता गरी कार्यक्रमको औपचारिक सुरुवात गरेको छ।
- तीन वर्षे कार्यक्रम विश्व फुटबल महासंघ (फिफा) को आर्थिक सहयोगमा ३९ जिल्लामा सञ्चालन हुने एन्फा प्रवक्ता सुरेश शाहले बताए।
२७ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युवा फुटबलको विकास र बालबालिकाको संरक्षण सुनिश्चित गर्नका लागि ग्रासरुट कार्यक्रम सुरु गरेको छ । एन्फाले यसलाई एक महत्वपूर्ण कदम रहेको जनाएको छ ।
एन्फाले मंगलबार तेर दे होम्स (टिडिएच) र चाइल्ड नेपालसँग सम्झौता गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरेको हो । दुवै संस्थासँग भिन्न भिन्नै सम्झौता पत्रमा हस्ताक्षर भएको एन्फाले जनाएको छ ।
सम्झौता पत्रमा एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ, टिडिएचका सेफगार्डिङ संयोजक कमल लामा र चाइल्ड नेपालका कार्यकारी निर्देशक मनोज डंगोलले हस्ताक्षर गरे ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा ग्रासरुट्स फुटबल लोगो पनि सार्वजनिक गरिएको छ ।
देशभरिका युवा प्रतिभाहरूको पहिचान र अभिवृद्धिका लागि ग्रासरुट कार्यक्रम लक्षित रहेको एन्फाले जनाएको छ । जसअन्तर्गत उनीहरूलाई सुरक्षित, समावेशी र सहयोगी वातावरणमा प्रशिक्षण र खेल्ने अवसर प्रदान गरिनेछ ।
विषयगत क्षेत्रमा सहकार्य गर्दै बालबालिकाको सुरक्षित रूपले फुटबलमा सक्रिय रहने वातावरण सृजना गर्ने कुरामा सहकार्य भएको ग्रास रुट विभागका प्रमुख पङ्कज शाहीले जानकारी दिए ।
३ वर्षे सो कार्यक्रम विश्व फुटबल महासंघ (फिफा) को आर्थिक सहयोगमा हुन लागेको हो । ३ वर्षे कार्यक्रम ३९ जिल्लामा सञ्चालन हुने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
प्रतिक्रिया 4