
२८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई सोसल मिडियाको कन्टेन उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘हाम्रो संसद्लाई होस् वा बहसको सार्वजनिक वृत्तलाई सरकारले के गर्यो भन्ने प्रश्नबाट बहकाएर अर्थहिन विषयमा विषयान्तर गर्ने प्रयास भइरहेको छ,’ प्रधानमन्त्री ओलीले भने ।
यहीँनेर उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गर्दै आएको संसद्को बैठक बहिष्कार र बहिष्कार गर्नु अगाडि उनीहरूले राख्दै आएको विषयलाई सोसल मिडियाको कन्टेन्ट उत्पादन गर्ने प्रयासको रुपमा व्याख्या गरेका हुन् ।
प्रधानमन्त्री ओली भन्छन्, ‘विषयान्तर गरिएका कप्टी बहसले देशको समृद्धिका लागि होइन । देशमा केही गरौं भन्ने युवाहरूलाई भरोसा प्रदान गर्न पनि होइन । उनीहरूलाई गाली, निन्दा, आरोप र भ्रत्सनाका कन्टेन उत्पादनमा भुलाउने र समाजलाई उत्तेजनामा ल्याउने नियत राख्दछ ।’ यस्तै प्रयासमा रास्वपा र राप्रपा रहेको उनको भनाइ छ ।
‘आज संसद्मा उछालिएका कतिपय विषय राष्ट्रिय प्राथमिकता र आवश्यकतामा आधारित छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘देश र जनताको हितमा केन्द्रित नरहेर काम गर्नुपर्ने यस सम्मानित सदनलाई झुटा कथा सिर्जन गरेर कन्फ्युजन पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको छ ।’
रास्वपा र राप्रपाले ७९ दिनदेखि प्रतिनिधि सभाको कामकारबाही बहिष्कार गर्दै आएको छ । भिजिट भिसाको नाममा विदेश जानेसँग अपारदर्शी रुपमा आर्थिक लेनदेन हुने गरेको विषयमा उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने उनीहरूको माग छ । यो विषयमा निश्पक्ष र स्वतन्त्र छानबिनका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने उनीहरूको माग छ ।
बुधबार प्रतिनिधि सभामा प्रधानमन्त्री बोल्नु अगाडि रास्वपा र राप्रपाका सांसदहरू आफ्ना कुरा राखेर बाहिरिएका थिए । बुधबार पनि संसद्मा बोल्दै रास्वपाका सांसद अशोक चौधरीले सरकारलाई विभिन्न प्रश्न गरेका थिए ।
‘जीबी राईलाई कहाँ लुकाइएको छ ?,’ सांसद चौधरीले सोधेका छन्, ‘कति महिना भयो गृहमन्त्री भएको ? उनी (जीबी राई) घर भित्र छन् कि सत्ताको ओढारभित्र ?’
सांसद चौधरीले गिरिवन्धु टिइस्टेटको विषय, नक्कली भुटानी शरणार्थी प्रकरणको विषय समेत कहाँ पुग्यो भनेर पनि प्रश्न गरे ।
‘गिरिबन्धु टिइस्टेटको फाइल कहाँ हरायो ? के यो फाइलले पनि राजनीतिक पासपोर्ट पायो ?’ चौधरीले सोधे, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा को बयान कहाँ पुग्यो ?’
आफ्ना कुरा राखेर बाहिरने रास्वपा र राप्रपाको शैलीप्रति प्रश्न उठाउँदै प्रधनमन्त्री ओलीले यो शैलीले देश र जनताको हित नगर्ने सुझाएका हुन् ।
रास्वपा र राप्रपालाई प्रधानमन्त्री ओलीको प्रश्न छ, ‘के आजको हाम्रो आवश्यकता यही हो ?’
पोजिसनका हिसाबले प्रतिपक्षमा भएपनि जनताको मत लिएर संसद्मा आइसकेपछि जनताप्रति भूमिका खेल्नुपर्ने दायीत्व हुने उनले बताए । उनले भनेका छन्, ‘पोजिसनका हिसाबले प्रतिपक्षमा भएपनि जनताको मत लिएर संसद्मा आइसकेपछि प्रतिपक्षको पनि देशप्रति केही न केही दायित्व त होला नि !’
विगतमा मन्त्री भएका दर्जनौं व्यक्ति कारागारमा रहेको उल्लेख गर्दै उनले रास्वपाका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध भएको भन्ने भास्य बनाउने प्रयास भएको भनेर असन्तुष्टि जनाए ।
आदालतले गरेको काममा अनावश्यक शंका गरेर सरकारमाथि प्रश्न गर्ने विषय आफैँमा अमिल्दो रहेको प्रधानमन्त्री ओलीको दाबी छ ।
कुन कुन व्यक्तिमाथि प्रतिशोध भएको हो र कुन कुन व्यक्तिमाथि जायज भएको हो ? त्यसको जवाफ दिनुपर्ने अन्यथा भिड देखाएर समाजलाई गलत सन्देश दिनुको परिणाम सकारात्मक नआउने उनको सुझाव छ ।
अदालतको निर्णयमा सरकारको हात नरहेको ख्याल गरेर अगाडि बढ्न पनि रास्वपालाई प्रधानमन्त्री ओलीको आग्रह छ ।
प्रतिक्रिया 4