News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरामा भदौ २० देखि हुने वात्सल्य एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणको ट्रफी वीरगंजमा अनावरण गरिएको छ।
- वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र मधेश युनाईटेडकी ब्रान्ड एम्बेसडर नीति शाहले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरे।
- मधेश युनाइटेडले नयाँ जर्सी सार्वजनिक गरी मार्की प्लेयर निरुता ठगुन्नालाई हस्तान्तरण गरेको छ।
३१ साउन, काठमाडौं । । पोखरामा हुने वात्सल्य एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणको ट्रफी वीरगंजमा अनावरण गरिएको छ।
मधेश स्पोट्स प्रा.लि. को आयोजनामा भएको समारोहमा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र मधेश युनाईटेडकी ब्रान्ड एम्बेसडर नीति शाहले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरे।
सोही अवसरमा मेयर सिंहले लिगमा सहभागी टिम मधेश युनाइटेडको नयाँ जर्सी पनि सार्वजनिक गर्दै मार्की प्लेयर निरुता ठगुन्नालाई हस्तान्तरण गरे। कार्यक्रममा मधेश युनाइटेडका सञ्चालक शर्मिला थापाको अध्यक्षता रहेको थियो।
मेयर सिंहले भलिबलले मधेशमा खेलकुदको विकाससँगै महिला सशक्तीकरणमा योगदान पुर्याउने विश्वास व्यक्त गरे। मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दिपक शाक्यले भलिबलको सामाजिक र मानसिक फाइदाबारे जोड दिँदै यसलाई निरन्तरता दिनुपर्नेमा बल दिए।

उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले खेलकुदले युवालाई सकारात्मक बाटो देखाउने र शहरको प्रतिष्ठा बढाउने बताए। मधेश युनाईटेडका सञ्चालक विशाल अग्रवालले टिमको दीर्घकालीन दृष्टिकोणबारे जानकारी दिए भने सञ्चालन प्रमुख खुशी शिवाकोटीले विगतका अनुभव र आगामी योजनाबारे प्रस्तुति दिइन्।
ब्रान्ड एम्बासडर नीति शाहले मधेश युनाईटेडसँग आबद्ध हुन पाउनु गौरवको विषय भएको बताइन् भने मार्की प्लेयर निरुता ठगुन्नाले यसपटक ट्रफी मधेशमै ल्याउने संकल्प व्यक्त गरिन्।
शिवाकोटीले यस संस्करणका लागि नेदरल्याण्डका तीन अन्तर्राष्ट्रिय खेलाडी अनुबन्धन गरी टिमलाई अझै बलियो बनाइएको जानकारी दिइन्।
कार्यक्रममा सुरक्षाकर्मी, सरकारी निकायका प्रमुख तथा व्यवसायी समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
एभरेस्ट महिला भलिबल लिग पोखरामा भदौ २० देखि सुरु हुँदैछ । लिगको प्रत्यक्ष प्रसारण हिमालय टिभी प्रिमियममा हुनेछ ।

प्रतिक्रिया 4