
१ भदौ, काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ८०औं स्वतन्त्रता दिवसका अवसरमा आइतबार काठमाडौंमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ ।
नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आईएमई कम्प्लेक्स परिसर पानीपोखरीमा आयोजित एक विशेष समारोहबीच झन्डोत्तोलन सम्पन्न भएको हो ।
इन्डोनेसियाको ८०औं स्वतन्त्रता दिवसका अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले नेपाल तथा गणतन्त्र इन्डोनेसियाबीच सुमधुर सम्बन्ध रहेको र आगामी दिनमा यसलाई जनस्तरसम्म लैजान आफूले प्रयास गरिरहेको बताए ।
उनले दुई देशबीचको आपसी व्यापार तथा अनुभव आदान–प्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिन सक्ने प्रशस्त सम्भावना रहेकाले यो सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ र मजबुत बनाउनुपर्नेमा जोड दिए ।
नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालका लागि इन्डोनेसियाको राजदूतको आवासीय कार्यालय बंगलादेशको राजधानी ढाकामा छ ।
इन्डोनेसिया आसियान राष्ट्रहरू मध्येको ठूलो अर्थतन्त्र भएको मुलुक हो । नेपाल र इन्डोनेसिया बिचको व्यापारको परिमाण पनि ठूलो रहेको छ । दुई देशबीच पर्यटनलगायत आयात निर्यात व्यापारका क्षेत्रमा थुप्रै सम्भावनाहरू रहेका छन् ।
झन्डोत्तोलन कार्यक्रममा नेपालमा बसोबास गर्दै आइरहेका इन्डोनेसियन मूलका नागरिक, वाणिज्य दूत कार्यालय तथा आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4