
२१ जेठ, बाली । इन्डोनेसियाको इतिहासमा सबैभन्दा भयानक आतंकवादी हमलाका दोषी उमर पाटेक यतिबेला ‘आफू फेरिइसकेको’ बताउँछन् । सन् २००२ मा १८२ जनाको ज्यान जाने गरी भएको बाली विस्फोटका दोषी उनले मंगलबार इन्डोनेसियाको सुराबाया शहरमा आफ्नै क्याफे खोलेका छन् ।
पहिले अल कायदासँग सम्बन्ध भएको आतंकी समूह जेमाह इस्लामियाका लागि बम बनाउने जिम्मेवारीमा निभाएका पाटेक भन्छन्, ‘यी दिनहरूमा म विनाशकारी विष्फोटक पदार्थ बनाउने होइन, शान्ति बनाउने कुरामा बढी रुची राख्छु ।’
उनले हेडन एस्टेट क्याफे उद्घाटनमा जम्मा भएको भिडलाई सम्बोधन गर्दै आफू फेरिएको बताउँदा हलमा गडगडाहट ताली गुञ्जियो । ‘अब म फेरिएको छु,’ उनले भिडलाई सम्बोधन गरे । रामु नामको आफ्नो कफी ब्राण्ड समेत उनले सुरु गरेका छन्, जसको प्याकेजिङमा उनको दाह्रीवाला फोटो राखिएको थियो ।
‘म अब विगततिर फर्किन चाहन्न’, उनले भने, ‘म भविष्यतिर हेरिरहेको छु । म अब बम बनाउँदै छैन । म कफी बनाउँछु ।’
पाटेकलाई सन् २०१२ मा बाली बम विष्फोटनमा संलग्न रहेको आरोपमा २० वर्ष जेल सजाय सुनाइएको थियो । त्यो विष्फोटमा ८८ जना अष्ट्रेलियन र २३ जना बेलायती नागरिकसहित २०२ जनाको मृत्यु भएको थियो ।
यो आतंकवादी हमलामा पाटेकले बममा प्रयोग गरिएका १ टन विस्फोटक पदार्थमध्ये ५० किलो विष्फोटक पदार्थ मिसाएर बम बनाउन सहयोग गरेका थिए । त्यसबेला सरकारी अभियोजनकर्ताहरूले भनेका थिए कि उनले आत्मघाती सुसाइडल भेष्ट, डिटोरनेटर तार र बुस्टरहरू तयार गर्न पनि सहयोग गरेका थिए ।
तर, पाटेक भन्दा ती दिनहरू धेरै टाढा भइसके ।
सन् २०२२ को अन्तिमतिर कैद सजाय पूरा गरेर निस्किएका पाटेकले अहिले आफ्नी आमाको रेसिपीमा आधारित कफी ब्राण्ड बनाएर जीवनलाई नयाँ मार्ग दिने कोशिश थालेका छन् । र, उनी यसलाई उग्रवादीहरूलाई पुनःसामान्यीकरण गर्ने अभियानको एउटा हिस्सा भएको बताउँछन् ।
‘रामु उल्ट्याउँदा उमर बन्छ, (अंग्रेजीमा) जुन मेरो नाम हो,’ उनले भने, ‘इन्डोनेसियाली भाषामा यसको अर्थ मिसाउनु हुन्छ, मिसाउनु । जस्तै म अहिले कफी मिसाउँदैछु ।’
जेलबाट निस्किएपछि उनलाई समाजमा पुनः घुलमिल हुन कठिन भएको थियो, जबसम्म उनी २०२३ मा सुराबायामा रहेको हेडन इस्टेट क्याफेका सञ्चालक डेभिड आन्द्रेअस्मितासँग भेटिएनन् । दन्तचिकित्सक एवं व्यवसायी डेभिडले उनलाई जीवनमा दोस्रो मौका दिने निर्णय गरे ।
‘धेरै मानिसहरूलाई लाग्यो कि एउटा पूर्वआतंककारीसँग काम गर्न चाहनु अनौठो हो,’ आन्द्रअस्मिताले भने, ‘तर म जहिले पनि मानिसहरूलाई सहयोग गर्न रुचाउँछु । यदि मैले उमर (पाटेक)लाई छाडिदिएको थिए उनी फेरि आतंककारी बन्न सक्थे ।’
‘म क्रिष्चियन र उनी मुस्लिम हुन् । तर, हामी एकआपसमा मजाक गर्छौं । उमर मलाई मार्गदर्शक समेत मान्छन्’, उनले थपे, ‘यो कफी व्यवसाय उग्रवादविरुद्धको एउटा प्रयास हो ।’
तर, पीडितहरू र उनीहरूका परिवारहरूका लागि क्षमा दिने विषय अझै अस्वीकार्य कुरा हो ।
मंगलबार उद्घाटन कार्यक्रममा इन्डोनिसियाकी पीडित हुस्नुल खोतीमाहले पाटेकसँग उनको विगतको कामबारे जिज्ञासा राखिन् ।
‘तपाईं अझै मलाई सम्झनु हुन्छ ?’, उनले सोधिन् ।
‘यो हेर्नुस्’, उनले आफ्ना हात र पाखुरामा रहेका दागहरू देखाइन्, जुन उनका शरीरको ७० प्रतिशतभन्दा बढी भागमा रहेको जलनको निशानको एउटा हिस्सा मात्र थियो ।
पाटेकले उभिएर गम्भीरतापूर्वक सुने । उनी खोतीमाहका शब्दहरूबाट केही भावुक देखिए । उनले सन् २०१२ मा भएको अदालतको सुनवाइमा देखेको स्मरण गर्दै फेरि माफी मागे ।
‘मलाई माफ गर्नुस्, तर मेरो क्षमायाचना तपाईंले भोगेको पीडासँग तुलनायोग्य छैन । यदी मेरो व्यवसाय सफल भयो भने डेभिड र म तपाईं र अन्य पीडितहरूलाई पनि हामीसँग काम गर्न निम्तो दिनेछौं ।’
खोतीमाहले इन्डोनेसिया र अष्ट्रेलियामा गरी ३७ वटा शल्यक्रिया गरिसकेकी छन् । र, अझै पनि उनको खुट्टामा विष्फोटक पदार्थका छर्राहरू छन् ।
‘उमर र उनका साथीहरूलाई मैले माफी दिन एकदमै गाह्रो छ’, उनले भनिन्, ‘विशेष गरी मेरो पीडा र विगतका संघर्षतिर फर्किएर हेर्दा ।’
अष्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी आल्बानीजले २०२२ मा पाटेकको कार्यप्रति घृणा रहेको बताएका थिए भने उनको शीघ्र रिहाइले पीडित परिवारहरूलाई पुनः पीडा दिने बताएका थिए ।
पाटेकले भने विगतमा पनि आफूले धेरैपटक माफी मागिसकेको भन्दै भनेका छन्, ‘आज म फेरि माफी माग्छु, मलाई प्रमाणित गर्न दिनुहोस् कि म परिवर्तन भइसकेको छु । सबैजनाले अहिले मलाई हेरिरहेका छन् ।’
पहिले उनी इन्डोनेसियाबाट पाकिस्तान तथा फिलिपिन्समा पुगेर ९ वर्ष लुकेर बसेका थिए । जहाँ उनको ‘मोरो इस्लामिक लिबरेसन फ्रन्ट’सँग सम्बन्ध बनेको थियो । सन् २०११ मा उनी पाकिस्तानको एबटावादमा पक्राउ परेका थिए, जहाँ पछि ओसामा विन लादेन मारिएका थिए ।
उनी सन् २००० मा क्रिस्मसको पूर्वसन्ध्यामा इन्डोनेसियाको चर्चमा भएको विष्फोटमा समेत दोषी ठहर भएका थिए । जसमा १८ जनाको मृत्यु भएको थियो ।
मंगलबारको कार्यक्रममा स्थानीय र राष्ट्रियस्तरका नेताहरू पनि सहभागी थिए । इन्डोनेसियाको प्रतिआतंकवाद एजेन्सीका पूर्वप्रमुख मार्थिनुस हुकुम पनि त्यसमा सहभागी थिए, जसले पाटेकलाई पक्राउ गर्न भूमिका खेलेका थिए । केही सहभागीहरूले जीवन परिवर्तन गर्ने उनको प्रयासलाई स्वागत गरे ।
सुरक्षा विश्लेषक नुर हुडा इस्माइल, जो इन्च्टिच्यूट फर इन्टरनेश्नल पिस बिल्डिङका संस्थापक पनि हुन्, उनी भन्छन्, ‘हाम्रो टोलीले पाटेकसँग उनको रिहाइपछि काम गरेको थियो । र, उनको केशले सजाय भागेर आएको व्यक्तिको पुनर्स्थापनाको राम्रो सम्भावना देखाउँछ ।’
‘हिंस्रक विचारधाराबाट अलग भएर शान्तिपूर्ण पहिचान बनाउने उनको इच्छाशक्ति महत्वपूर्ण छ,’ उनले भने, ‘यसमा उनलाई समर्थन गर्ने वातावरण पनि उत्तिकै महत्वपूर्ण छ, जो उनका विगतलाई हेरेर होइन, भविष्यलाई हेरेर उनीमाथि विश्वास गरुन् ।’
पाटेकले उग्रवादी सञ्जालबाट टाढा रहेको बताउँदै उनको पुनर्स्थापनामा परिवार तथा इन्डोनेसियाली सरकारको पुनर्स्थापना कार्यक्रमको योगदान रहेको बताएका छन्, जसमा काउन्सिलिङ, धार्मिक पुनर्शिक्षा र आर्थिक सहयोग समावेश छन् ।
‘पाटेक जस्ता व्यक्तिलाई दोस्रो मौका दिनु विगत भुल्नु होइन’, विश्लेषक इस्माइल भन्छन्, ‘यो भविष्यमा हिंसा हटाउने र समाजलाई सुरक्षित बनाउने उपाय हो ।’
पाटेकले भने आफूलाई केहीले कहिल्यै माफ नगर्ने समेत बुझेको बताए । ‘तर, आजदेखि जनताले आफैं मूल्यांकन गर्न सक्छन्,’ उनले भने ।
प्रतिक्रिया 4