
News Summary
Generated by OK AI. Editorially reviewed.- जापानी वैज्ञानिकहरूले समुद्रको नुनिलो पानीमा पूर्ण रूपमा घुल्ने नयाँ प्रकारको घुलनशील प्लास्टिक विकास गरे।
- यो प्लास्टिक परम्परागत प्लास्टिकभन्दा छिटो टुक्रिन्छ र कुनै हानिकारक अवशेष छोड्दैन, परीक्षणमा सफल भएको छ।
- वैज्ञानिकहरूले यसलाई व्यवसायिक उत्पादन र दैनिक उपभोग्य वस्तुहरूमा प्रयोग गर्न काम गरिरहेका छन्।
प्लास्टिक प्रदूषणसँग जुझिरहेको विश्वका लागि जापानी वैज्ञानिकहरूले आशाको नयाँ किरण देखाएका छन् । राइकेन सेन्टर फर इमर्जेन्ट म्याटर साइन्स र टोकियो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यस्तो नयाँ प्रकारको घुलनशील प्लास्टिक विकास गरेका छन्, जुन समुद्रको नुनिलो पानीमा केही घण्टाभित्रै पूर्ण रूपमा घुल्दछ ।
शोधकर्ताहरूका अनुसार यो प्लास्टिक परम्परागत बायोडिग्रेडेबल (सड्ने) प्लास्टिकभन्दा पनि धेरै छिटो टुक्रिन्छ र त्यस क्रममा कुनै पनि हानिकारक अवशेष छोड्दैन।
जापानको राजधानी टोकियो नजिकैको वाको भन्ने ठाउँको प्रयोगशालामा गरिएको परीक्षणमा उक्त प्लाष्टिकको एउटा सानो टुक्रा केवल एक घण्टामै समुद्री पानीमा पूर्ण रूपमा घुलेको थियो ।
परीक्षणमा सफलता प्राप्त गरेतापनि हालसम्म वैज्ञानिकहरूले यस प्लास्टिकको व्यवसायिक उत्पादनका विषयमा कुनै योजना सार्वजनिक गरेका छैनन् । तर, परियोजनाका प्रमुख वैज्ञानिक डा. ताकुजो आइडाका अनुसार प्याकेजिङ उद्योगलगायत विभिन्न क्षेत्रले यो प्लाष्टिकप्रति चासो देखाएका छन्।
यो नयाँ प्लास्टिक परम्परागत पेट्रोलियम-आधारित प्लास्टिक जत्तिकै बलियो छ। तर, यसको प्रमुख विशेषता भनेको, यो टुक्रिँदा कुनै माइक्रोप्लास्टिक उत्पादन गर्दैन र पृथ्वीमा पनि करिब २०० घण्टामै पूर्ण रूपमा टुक्रिएर विलय हुन्छ ।
जलवायु र समुद्री जीवनका लागि वरदान
यो प्लास्टिक न त विषालु छ, न त ज्वलनशील। यसले कुनै कार्बन डाइअक्साइड उत्सर्जन पनि गर्दैन। वैज्ञानिकहरू अहिले यो प्लाष्टिकलाई कोटिङ प्रविधिको माध्यमबाट दैनिक उपभोग्य वस्तुहरूमा प्रयोग गर्न मिल्ने बनाउनेतर्फ काम गरिरहेका छन्।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमका अनुसार विश्वमा सन् २०४० सम्म प्लास्टिक प्रदूषण तीन गुणासम्म बढ्न सक्नेछ र यो २३ देखि ३७ मिलियन मेट्रिक टनसम्म पुग्ने अनुमान गरिएको छ। यस्तो अवस्थामा समुद्रको पानीमा घुल्ने यो नयाँ प्लास्टिकको आविष्कार समुद्री जीवन र सम्पूर्ण वातावरणका लागि ठूलो राहत बन्नसक्ने विश्वास गरिएको छ।
प्रतिक्रिया 4