+
+
Shares

कृषि समिति चेम्बर र कोरिया ब्रिज इन्टरनेसनलबीच उद्यम विकासमा सहकार्य

सम्झौतामा दुवै पक्षले कृषि तथा उद्यमशीलता सम्बन्धी जानकारी आदान–प्रदान गर्ने, नेपालको बजार अवस्था र व्यावसायिक सम्भावनाबारे संयुक्त अध्ययन गर्ने विषय समावेश छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते १७:०६

३ भदौ, काठमाडौं । कृषि, जडीबुटी तथा वन समिति चेम्बर अफ कमर्स र दक्षिण कोरियाको ब्रिज इन्टरनेसनलबीच कृषि व्यवसाय विस्तार र साना तथा मझौला उद्यम विकासका लागि सहकार्य गर्ने सम्झौता भएको छ ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा कृषि, जडीबुटी तथा वन समिति सभापति कृष्णमान श्रेष्ठ र ब्रिज इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत जिनसोल वाङले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतामा दुवै पक्षले कृषि तथा उद्यमशीलता सम्बन्धी जानकारी आदान–प्रदान गर्ने, नेपालको बजार अवस्था र व्यावसायिक सम्भावनाबारे संयुक्त अध्ययन गर्ने विषय समावेश छन् ।

ब्रिज इन्टरनेसनलले नेपालको नवप्रवर्तन व्यवसायलाई केन्द्रदेखि स्थानीय तहसम्म प्राविधिक सहयोग पुर्‍याउने सम्झौतामा उल्लेख गरिएको छ ।

त्यस्तै नेपाल र कोरियाका स्टार्टअपहरूले उत्पादन गरेका वस्तु प्रदर्शनी र प्रवर्द्धन गर्ने, व्यावसायिक नेटवर्किङ अवसर सिर्जना गर्ने, साथै मेन्टरसिप र सिप आदान–प्रदान गर्ने सहमति भएको छ ।

दुई संस्थाबीच संयुक्त कार्यशाला, प्रशिक्षण र अनुभव आदान–प्रदान मार्फत दुवै देशका नवप्रवर्तन व्यवसायीलाई लाभ हुने विश्वास गरिएको छ ।

दुवै देशका व्यवसायी तथा उद्यमशील युवाबीच एकअर्का देशमा भ्रमण मार्फत व्यवसाय प्रवर्द्धन गर्ने, एक अर्काको बजारमा सम्भाव्यता अवसर खोज्ने र नयाँ सम्भावना विकास गर्ने योजना पनि सम्झौतामा उल्लेख छ ।

साथै, कोरियाबाट सिप सिकेर फर्किएका युवाहरूको लगत संकलन गरी उनीहरूको उद्यमशीलता क्षमता अभिवृद्धि र व्यावसायिक सञ्जाल विस्तारमा नेपाल चेम्बर अफ कमर्सले सहयोग गर्ने भएको छ ।

खासगरी कृषि व्यवसाय, जडीबुटी तथा वन र साना–मझौला उद्यम विकास प्राथमिकतामा राख्दै गरिएको यो सहकार्य सम्झौताले नेपालमा उद्यमशीलताको वातावरण थप मजबुत बनाउने चेम्बरले जनाएको छ ।

यो सम्झौताले नेपाली कृषक, उद्यमी र नवप्रवर्तन व्यवसायीलाई अन्तर्राष्ट्रिय अनुभव र सिप सिक्ने अवसर दिलाउने मात्र नभई दुवै देशबीच दिगो आर्थिक साझेदारीको बाटो खोल्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?