+
+
Shares

बुबा : एक विश्वविद्यालय

अनिता लामा अनिता लामा
२०८२ भदौ ६ गते २०:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखिकाले आफ्ना बुबाको स्वास्थ्य अवस्था र निद्रा समस्या बारे भावुक वर्णन गरिन्।
  • बुबाले सानैदेखि कठिनाइ सहेर पढाइ र परिवारको पालनपोषण गरेका थिए।
  • बुबाको जीवन संघर्ष, राजनीतिक चेतना र सांस्कृतिक मिश्रणले परिवारमा गहिरो प्रभाव पारेको छ।

किन होला आज पनि बुबा निदाउन सक्नुभएन । निदाउनै दिएन दुश्मन समयले । किन यस्तो भएको समय तिमी ? मलाई क्रुर हुतिहारा समयले बुबाको निद, आराम र स्वास्थ्य पटकपटक क्षीण बनाइदिरहेकोमा निकै आक्रोश छ। तर पनि बुबाबाटै सिकेकी छु, सहनु, सहनु र सहनु । हजुरको निन्द्रा टाढिएसँगै म पनि त टाढिन्छु नि निन्द्राबाट ।

जीवनमा अरू के चाहिएको थियो र हजुरलाई ? एक झमक गहिरो आनन्दको निन्द्रा न थियो । त्यही निन्द्रा हिजो शरीरमा रगत, पानीको ऊर्जा हुँदासम्म मजदुरी गर्दागदै हराउँथ्यो । निन्द्रा आइहाले पनि त्यसलाई हराइदिने कलामा धेरै निपुण हुनुहुन्थ्यो बुबा ।

कारखानाका साहु, आफूले सानो तहमा नोकरी गरेको सार्वजनिक संस्थान जतासुकै होस् हजुरको इमान्दारिताको प्रशंसक को थिएनन् ? हजुरको परिश्रमको भजन कसले गाउँदैन थियो ? तर इमान र मेहनतलाई गणितमा जोडिँदोरहेनछ बुबा । नत्र पसलमा साहुले दिने उधारो र कारखानामा साहुले दिने पेश्की किन कहिल्यै घटेन तपाईंको खातामा ?

उधारो र पेश्की खाताहरूले सधैं लखेटिरह्यो तपाईंलाई, जिस्काइरह्यो र त्यो पौरखी शीररलाई शक्तिहीन बनाइरह्यो । कार्यालय सहयोगी पदको तलब पनि महिनाभरको एकमुष्ठ बुझ्ने अवसर कहिल्यै पाउनुभएन किन ?

सक्रिय जीवनमा एक झमक आनन्दले निदाउन पाउनुभएन सायद । अहिले निदाउनै नसक्ने अवस्था आयो ।

रातको ११ बज्यो, बुबा अलासतलास देख्छु । बेडसँगैको मेसिनको एकोहोरो ट्वाँट्वाँ धुनले म कुरुवा स्वयंलाई पनि अलातलास बनाइरहेको थियो । घरि रेस्पिरेसन हाइ, घरि लो, घरि अक्सिजन, घरि हर्ट बिट, बरु प्रेसर निरन्तर कन्ट्रोल छ, तर थाहा छैन कहिले ह्वात्त बढेर रातो इन्डिकेटरसहित मेसिनले खतराको धुन दिने हो ?।

बुबाको अनुहार विभिन्न तारहरूले जेलिएको बेडमै हराउन थालेको च्याँसे शरीर अनि सामुन्नेको स्क्रिन भन्दा अन्त ध्यान नै जाँदैन । इमर्जेन्सीबाट माथि बेडमा ल्याएदेखि मन डराएको छैन । तर अवस्था डराइरहेको छ, बुबा कुनबेला बोल्नुहुन्छ थाहा छैन, कतिखेर पिसाब लाग्यो भन्नुहोला थाहा छैन । प्रत्येक आउटपुटको अभिलेख लेख्नुपर्नेछ ।

म बेडनजिकै सिंगल भुइँखाटमा तेर्सिएकी छु, बुबाको अनुहारमा आफ्नो आँखा सिधा पर्नेगरि सिरानी मिलाएर । बुबा सम्झेर धोक्राका धोक्रा तरङ्गहरू आइरहेकै छन् । बुबाको स्क्रिनको धुनले आक्रमण गरिरहन्छ । मन शान्त पार्ने पारामिताको पुस्तक पढ्छु । फेरि मन बिगततर्फ नै फर्किन्छ ।

बुबा तपाईं प्रत्येकपटक घर आउँदा साइकलको दुवै कानमा वढेमानको नाइलनको झोला हुन्थ्यो । त्यसमा हरिया तरकारीहरू ल्याउनुहुन्थ्यो । बजारमा भेटेको सकेसम्म ठूलो काउली पात नचुँडिकन ल्याउने बानी थियो । साइकलको ह्याण्डलको दुवैतर्फ साग र हरियो लसुन, प्याजको मुठोको टुप्पाहरू झोलाबाट बाहिर निस्किएको अवस्थामा देखिन्थ्यो । सबै तरकारीको झोला झिकेर लस्करै हामी आमाछोरीहरू कति राम्रो भन्दै हेरेर रमाउँथ्यौं अनि बुबा पनि खुसी हुनुहुन्थ्यो ।

साइकलको पछाडि सिटमा पनि राख्न मिलेसम्मको झोला झुण्ड्याएर, च्यापेर ल्याउनुहुन्थ्यो । प्रत्येक शनिबार कुनै न कुनै पत्रपत्रिका ल्याउनुहुन्थ्यो र खुब पढ्नुहुन्थ्यो । कुनै राम्रो पुस्तक, डायरी पनि कहिलेकाहीँ ल्याउनुहुन्थ्यो । दशैंमा रातो ठूलो भाले नाइलनको झोलाबाट टाउको निकालेर बुबासँगै साइकलमा घर आइपुग्थ्यो । हामी घरमा काटमार गर्दैनथ्यो तर बच्चाहरू रमाउँछन् भनेर ज्यूँदो कुखुरा ल्याउनुहुन्थ्यो । हामी कुखुरा बाँधेर त्यसलाई खान दिँदा, चराउन लैजान पाउँदा खुब रमाउँथ्यौँ ।

बुबाले स्कूलको दैला टेक्नुभएन, तर पत्रपत्रिका, पुस्तकहरू पढिरहनुहुन्थ्यो । कहिले ढलेको वा कहिले बसेको दुवै पोजिसनमा पनि दुवै हातले पत्रिका वा पुस्तकको दुवै पेज फिजारेर पढ्नुहुन्थ्यो ।

सानैदेखि बुबा पढ्नलेख्न रुचाउने व्यक्ति भएकैले बुबाले पढ्न थालेपछि थपक्क पढ्ने बानी मेरो पनि बस्यो । बुबा विशेषगरी गोरखापत्र र कहिलेकाहीँ कान्तिपुर अनि विभिन्न साप्ताहिक पत्रिकाहरू किनेर ल्याउनुहुन्थ्यो । त्यहीबेलादेखि गोरखापत्रको शनिबारीय परिशिष्ट र कान्तिपुरको कोसेली नपढी नहुने आदत बस्दै गयो ममा पनि ।

स्कुल नै नगई कसरी पढ्न जान्नुभयो भनेर बुबासँग हामीले सोध्न सकेकै रहेनछौं । काभ्रेको तेमाल थातथलो भएका हामी कसरी काठमाडौंमा संघर्ष सहित बस्यौं भन्ने कुरा धेरै पछि बुबाले सुनाउनुभयो । पछि उहाँका जीवन संघर्षको महत्वपूर्ण वृत्तान्त, ‘पर्खाइ’ २ वर्षअघि प्रकाशित भयो । यसलाई हामीले ठूलो गौरव ठानेका छौं ।

हामी धेरै छोराछोरीहरू बुबाआमासँग निकट भएर उहाँको विषयमा सोध्दारहेनछौं । सिंगो भावना, चाहना शरीर सन्तानमै समर्पित गर्ने आमाबुबाको रूचि, प्रभाव, क्षमता, अनुभवका विषयमा खुलेर कुरा गर्दा परिवार निकै प्रेममय हुन्छ ।

बुबाले पेट्रोल पम्पमा पेट्रोल भर्ने काम गर्नुहुन्थ्यो । पैसा हिसाबकिताब पनि गर्नुपर्ने । साहुको छोराले गोरखापत्र पढ्ने रहेछन्, बुबालाई पढ्न नआउने, पढ्नका रहर गरेको देखेपछि साहुका छोराले कापी, कलम दिएर अक्षर सिकाएछन् । पछि गोरखापत्रका टुक्रा च्यातेर कोठामा लगी पढ्दै, त्यसलाई कपीमा सार्दै गर्दा अक्षर छिचोल्ने हुनुभएछ ।

आफू यसरी पढ्नुभएकैले होला आफ्ना सन्तानलाई जसरी पनि पढाउँछु भन्ने अठोट लिनुभयो । ठूलो अभाव र कष्ट झल्नु परे पनि अठोटले परिणाम दियो । हामी ६ वटै छोरीले पढ्न पायौँ ।

बुबालाई त्यो किशोर अवयवमा पेट्रोल पम्पमा काम दिने साहु अनि अक्षर चिन्न सिकाउने साहुका ती छोरालाई समेत हृदयबाटै धन्यवाद भन्न चाहन्छु ।

किशोर उमेरमै गाउँ छाडेर शहर पसी नचिनेको, नजानेको ठाउँमा संघर्ष गरी नयाँ जीवन सिर्जना गर्नु कम्ती कठिन कुरा होइन ।

बुबा जस्तो एक मजदुरका लागि जीवनको उच्च सफलता भन्नु नै छोरीहरूले पढुन् र आफ्नै पौरखले गरिखाउ हो । यसर्थमा उहाँ जीवनमा पूर्णसफल हुनुभयो ।

बुबाले पढ्नुभएको रातो खोल भएको पुस्तक थियो । इन्द्रजाल भन्ने पुस्तक पनि बाकसमा देखेकी थिएँ । दुवै पुस्तक अलि अलि पढ्दै थिएँ बुबालाई छलेर ।

अरु के के धार्मिक पुस्तकहरू पनि थिए । मलाई रातो पुस्तकले ध्यान खिचेको थियो, त्यो माओत्सेतुङको पुस्तक रहेछ, सानै थिएँ केही नबुझे पनि त्यो पूरा पढ्ने रहर थियो । पछि खोज्दा पाइनँ, बुबालाई सोध्दा पुलिसले समात्छ भनेर च्यातेर मिल्काइसकें भन्नुभयो। मैले त्यो किताबबार सोधेको देखेर अचम्म मान्नुभयो ।

पछि बुझ्दै गएँ कम्युनिस्ट क्रान्तिकारीहरूलाई खोजीखोजी समात्ने, जेल हाल्ने र मार्ने गरिरहेको समय रहेछ त्यो । राजनीतिक विषयमा चासो र जानकारी राख्ने बानी त्यतिबेलादेखि रहेछ उहाँमा। पछि त बुबा युनियन बनाउने, विभिन्न कार्यक्रममा भाग लिने, मन्तव्य दिने गर्दै हिँड्नुभयो । कतिपय कार्यक्रममा हामी पनि सँगसँगै जान्थ्यौँ ।

यसरी बुबाले परिवारमा राजनीतिक चेतनाको बीउ रोप्नुभएको थियो ।

हामी तामाङ समुदायको, आदर सम्मान, देवपितृ व्यवहारहरू बौद्ध संस्कृति अनुसार नै गरिन्थ्यो । तर आमाबुबाले कोठामा सानो लाथान बनाएर पूजा गर्नुहुन्थ्यो । थानमा हिन्दु देवताका फोटोहरू र बुद्ध तथा बुद्ध परम्पराका थान्काहरू सँगै हुन्थे । पूजा प्रार्थना दुवै परम्परा र संस्कृतिबाट गर्नुहुन्छ ।

मन्दिर पनि जाने, गुम्बा पनि जाने । आमाबुबाको यो मिश्रित संस्कारले धार्मिक, सांस्कृतिक विविधताको उपयोग तथा सहिष्णुताका विषयमा बुझ्न सक्ने ठूलो आधार बनायो । बुबाले माला जप गर्ने र लगभग सबै पुराण पढ्नुभएको छ । आमा भक्ति साधाना, ध्यानको पारखी । मोलम, छ्योपो पनि सँगै, पूजाआरती पनि सँगै । आखिर देवताहरू कहाँ नमिलेका हुन् र ? देवताको नाममा मान्छे पो नमिलेका ।

बुबा !

बलियो, धेरै सामान अट्ने र हातभरि बोकेर हिँड्न सजिलो हुने तपाईंको नाइलनको झोला आज मसँग छैन । तर तपाईंले त्यो झोलाभरी आफूलाई मनपर्ने होइन हामीलाई मनपर्ने तरकारीहरू बोकेर आएर यादहरू ताजै छन् ।

अहिले त हामीलाई सजिलो छ, टोल टोलमै मार्टहरू छन्, पसल छन् । तर पनि कहिलेकाहीँ बुबालाई मनपर्ने असन बजार जान्छु र खोज्छु बुबाले किनेजस्तै तरकारिहरू: ठूलो काउली, कलिलो कांक्रो, रसिलो मुला, हरियो सलक्क परेको ताजा साग, हरियो ताजा लसुनप्याज ।

अनि अरु खत्र्याकखुत्रुक बुबा खुसी हुने खालका चीजबिजहरू । घरमा ल्याएर झोला राख्छु, बुबाको हातहरू सुस्तरी छुनमुन गर्दै के ल्यायौ भनेर जब झोला खोतल्न पुग्छ, मन पूरै भावनाले उडाउँछ । सोच्छु: समय कस्तरी फर्कंदोरहेछ । सायद यस्तै समयलाई भनिएको होला, जीवनमा एकपटक फेरि बालापन फर्किन्छ ।

बुबा !

तपाईंको पुरानो बुढो साइकल आज पनि घरको आँगनमा शान्त छ, जसरी तपाईं शान्त हुनुहुन्छ । सरसफाइ गर्दा छोइन्छ र साइकलको घण्टी टिरिङ्ग टिरिङ्ग बजाउन मन लाग्छ । प्रत्येकपटक घरभित्र आउँदा र बाहिर जाँदा साइकलले हाँसेर स्वागत अनि गुडबाइ गर्छ । प्रत्येक दिन दुई घण्टा त्यही साइकल खियाएर कार्यालय आउजाउ र साँझविहान थप मजदुरी गर्नुहुन्थयो ।

त्यही शरीरलाई एकदिन बिहानै कार्यालय गइरहेको समयमा सिंहदरबारको गेट अगाडि मिनी बसले ठक्कर दिएपछि वीर अस्पतालको बेडमा रक्ताम्य भएर लडिरहनुभएको याद ताजगी गराइदिन्छ यो साइकलले ।

हजुरको जीवनको ठूलो रफ्तार महत्वले हाँकेको त्यो साइकल हामी सन्ततिहरूको जीवन बसाउने र बनाउने आधार हो । नलाग्नुपर्ने सबै रोगहरूका कष्टले छोपिदिएको तपाईंको शरीरलाई । २२ प्रकारका औषधि र बेला-बेलाको अस्पताल बसाइ धानिरहेको छ त्यो शरीरले ।

फेरि पनि जीवनलाई सँधै सकरात्मक, नैतिक र सरल बनाइरहन बाटो देखाइरहने तपाईंको मार्गदर्शनले सगरमाथा जसरी उठाइदिन्छ मनोभावना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?