+
+
Shares

उखु बोकेर किसानहरू आज पनि प्रदर्शनमा (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ भदौ ९ गते १४:२१

९ भदौ, काठमाडौं । सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै उखु किसानहरूले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् ।

बजेट अभाव देखाउँदै सरकारले किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि उखु किसान आन्दोलित भएका हुन् ।

माइतीघरमा सोमबार पनि उखु नै बोकेर किसाहरूले अनुदानको रकम घटाउने निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

उखु उत्पादक महासंघको नेतृत्वमा प्रदर्शनका लागि काठमाडौं आएका किसानहरूले माइतीघरमण्डला, बानेश्वर चोकमा प्रदर्शन गरिरहेका छन् ।

सरकारले पहिलेको प्रतिक्विन्टलमा ७० रुपैयाँ कै दरले अनुदान दिने निर्णय नै कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ ।

सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीका किसानहरू प्रदर्शनमा सहभागी छन् ।

सरकारले बजेट अभाव भएको र स्रोत जुटाउन नसकिएको भन्दै किसानलाई प्रतिक्विन्टल उखुमा दिँदै आएको ७० रुपैयाँ बराबर अनुदान आधा घटाएर ३५ रुपैयाँमा झारेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानलाई गत वर्ष दिएकै सरह प्रतिक्विन्टल अनुदान ७० रुपैयाँ तोकेर मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो । तर, मन्त्रिपरिषद्ले उक्त प्रस्ताव अनुमोदन नगरेर किसानको अनुदान कटौती गरी ३५ रुपैयाँ दिने प्रस्ताव स्वीकृत गरेको थियो ।

सरकारले अनुदान कटौतीको रकम मान्य नहुने भन्दै किसानले आपत्ति जनाउँदै आएका थिए ।

आर्थिक वर्ष २०८१/८२ मा देशका १३ वटा चिनी मिलमा किसानहरूले २ करोड १५ लाख क्विन्टल उखु बिक्री गरेका थिए ।

यसअनुसार सरकारले किसानलाई करिब १ अर्ब ६० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

हेर्नुहोस् थप तस्वीरहरू :

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?