+
+
Shares

सुगम पोखरेलले ल्याए ‘जय जय शङ्कर’, कर्णालीको पर्यटन प्रवर्द्धन हुने आशा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते १२:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पपगायक सुगम पोखरेलको नयाँ भक्ति गीत ‘जय जय शंकर’ कांग्रेस महामन्त्री गगन थापाले सार्वजनिक गरे।
  • गीतको भिडियो हुम्ला जिल्लाको लिमी उपत्यकाको लाप्चामा ५,१०० मिटर उचाइमा खिचिएको छ।
  • पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले भिडियोले कर्णालीको पर्यटन प्रवर्धनमा योगदान गर्ने बताए।

काठमाडौं । पपगायक सुगम पोखरेलको नयाँ गीत ‘जय जय शंकर’ सार्वजनिक भएको छ । भगवान महादेवप्रति समर्पित यो भक्ति गीतलाई कांग्रेस महामन्त्री गगन थापाले सार्वजनिक गरे ।

आइएनआईको नयाँ बानेश्वरस्थित हलमा आयोजित समारोहमा नेता थापासहित कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही पनि उपस्थित थिए ।

डिजिसेन्स नेपाल प्रालिले निर्माण गरेको गीतमा स्वर्गीय नातिकाजीको सङ्गीत छ भने मोहित मुनालले पुनःसंयोजन तथा नयाँ सङ्गीत संयोजन गरेका छन् । गीतमा थप शब्द विजय अधिकारीले दिएका छन् ।

गीतको भिडियो हुम्ला जिल्लाको लिमी उपत्यकाको लाप्चामा ५,१०० मिटरको उचाइमा खिचिएको हो । यस स्थानबाट प्रत्यक्ष रूपमा कैलाश पर्वत र मानसरोवर ताल देखिने भएकाले यो स्थानले धार्मिक, सांस्कृतिक र पर्यटन दृष्टिले प्रचुर सम्भावना बोकेको छ ।

निर्माताले पहिलोपटक यस दुर्गम क्षेत्रमा म्युजिक भिडियो खिचिएको दाबी गरेको छ । भिडियोमा कलाकार बद्रीप्रसाद तिवारीको एकल अभिनय छ भने निर्देशन विजय अधिकारीले गरेका छन् ।

किरण थापाले नृत्य निर्देशन गरेका छन् । हरि हुमागाईँको छायाङ्कन निर्देशन तथा भरत रेग्मीको सम्पादन छ । निर्माण नियन्त्रकमा दिपेन गौतम ’माइकल’ छन् ।

प्रदेशका पूर्वपर्यटनमन्त्री समेत रहेका शाहीले भिडियोले कर्णालीको पर्यटन प्रवर्धनमा योगदान गर्ने बताए । उनले भने, ‘यस भिडियोले हामी सबैलाई झकझक्याउनेछ । हाम्रा स्रोत प्रचुर छन् तर कानुनी संरचना बलियो भए देशलाई पाल्न सक्ने ठाउँ यही हो ।’

महामन्त्री थापाले गीतप्रति विशेष प्रशंसा व्यक्त गर्दै भने, ‘सुगम पोखरेलको शक्तिशाली आवाज र बद्रीको अभिनयले गीतलाई जीवन्त बनाएको छ । कर्णालीमा दुःख मात्रै छ भन्ने होइन, यस्ता अनुपम स्थल पनि छन् भन्ने सन्देश यसले दिएको छ । सरकारले जिम्मेवारी खेल्नुपर्ने ठाउँमा यो टिमले गरेको पहल प्रशंसनीय छ ।’

निर्देशक विजय अधिकारीले पुराणमा वर्णित लङ्काका राजा रावणले कैलाश पर्वत पुगेर गरेको साधनाको प्रसङ्ग स्मरण गर्दै भने, ‘हामीले पनि लाप्चा पुगेर कैलाश र मानसरोवर प्रत्यक्ष देख्यौँ र त्यही स्थानमा यो गीतलाई जीवित तुल्यायौँ ।’

कार्यक्रममा म्युजिक भिडियो प्रदर्शन गरिएको थियो । यसलाई डिजिसेन्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?