
२३ भदौ, काठमाडौं । जेनजी आन्दोलनकारी उपचाररत सिभिल अस्पताल परिसरभित्रै प्रहरी पसेर धरपकड गरेको छ । प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी अस्पताल हाताभित्रै प्रवेश गरेको हो ।
बानेश्वर क्षेत्रमा प्रदर्शनको क्रममा घाइते भएकाहरुको उपचार नजिकैको सिभिल अस्पतालमा भइरहेको छ । घाइतेहरुलाई लैजाने क्रममा प्रदर्शनकारी पनि प्रवेश गर्ने र उनीहरुलाई पछ्याउँदै प्रहरी पनि प्रवेश गरेर धरपकड गरेको एक स्वास्थ्यकर्मीले बताए ।
उनले अनलाइनखबरसँग भने, ‘अस्पतालको अवस्था निकै तनावपूर्ण छ । प्रहरीले प्रदर्शनकारीलाई इमर्जेन्सी भवनको अगाडि नै गोली र अश्रुग्याँस प्रहार गरेको छ । हामी उपचारमा खटिने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले नै अश्रुग्याँस खानुपरेको छ ।’
प्रहरीहरु अहिले पनि अस्पताल परिसरभित्र छन् । उनीहरुले माइकिङ प्रदर्शनकारीलाई बाहिर निस्किन भनिरहेका छन् । चिकित्सकहरुले भने प्रहरीलाई अस्पताल हाताबाट बाहिरिन आग्रह गरेका छन् । तर प्रहरीहरु रोकिएका छैनन् ।
सिभिल अस्पतालमा उपचारको क्रममा तीन जनाको मृत्यु भएको छ भने करिब एक सय जना घाइते छन् ।
अस्पतालका एक स्वास्थ्यकर्मीले भने, ‘हरेक १०–१० मिनेटजस्तोमा घाइतेहरु आइरहेका छन् । हामीले सक्ने उपचार यहीँ गरिरहेका छौं, नसक्नेलाई अन्यत्र रिफर गरिरहेका छौं ।
घाइतेहरुको बीर अस्पताल नजिक रहेको राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल, केएमसी, एभरेष्ट अस्पताल र पाटन अस्पतालमा समेत उपचार भइरहेको छ ।
प्रतिक्रिया 4