+
+
Shares

ओलीजी, योर टाइम इज अप !

दर्जनभन्दा बढी कलिला युवाले सडकमा बगाएको रगतको पृष्ठभूमिमा तपाईंले कुर्सीमा बसिरहन सुहाउँछ ? सोमवारको यो आन्दोलनबाट अहिलेको सरकारको वैधता सकिएको छ। भविष्यका लागि कस्तो नेतृत्व, विधि र रोडम्याप बनाउने भन्ने कुरामा मानिसहरूले बहस गर्लान्। तर, अहिलेका लागि चाहिं प्रधानमन्त्री ओलीजी, योर टाइम इज अप !

सञ्जीव पोखरेल सञ्जीव पोखरेल
२०८२ भदौ २४ गते ८:४०

जेन-जीको विरोध प्रदर्शनमा राज्यबाट भएको दमन त्रासदीपूर्ण र दुखद् छ। निशस्त्र मानिसहरू यति ठूलो सङ्ख्यामा सरकारी सुरक्षाकर्मीको गोली खाएर मर्नुपर्ने अवस्थाले नेपालको संकटपूर्ण अवस्थाको विकराल चित्र प्रस्तुत गरेको छ। यसको चर्चा गर्नुअघि सोमवारको घटनासँग जोडिएका दुई पक्षको संक्षिप्त चर्चा गरौं।

सुरक्षा संगठन विरोध प्रदर्शनको सामना गर्ने क्रममा यति धेरै आततायी कसरी भए ?

लोकतान्त्रिक पद्धतिमा विरोध र प्रदर्शन हुन्छन्। यस्ता प्रदर्शनहरूमा मानिसहरू आक्रोशित बन्न सक्छन्। यसमा ‘घुसपैठ’ पनि हुनसक्छ। राज्यको सुरक्षा निकायले यसको आकलन गर्ने र धनजनको सुरक्षाका लागि आवश्यक उपाय अपनाउने हो। प्रदर्शनकारी आक्रामक भए भन्ने आधारमा अन्धाधुन्ध गोली ठोक्ने र मानिसहरूको ज्यान लिने राज्यको सुरक्षा निकायको रणनीति हुन सक्दैन। यसपटकको जेन-जीको आन्दोलन र यसअघिको राजावादीहरूको आन्दोलनमा प्रहरीले जस्तो चरित्र प्रदर्शन गर्‍यो त्यो भाडामा परिचालित अपराधीहरूको चरित्रसँग मिल्दोजुल्दो छ।

प्रहरीको चरित्र यस्तो हुनमा राजनीतिक दलहरू जिम्मेवार छन्, जसले प्रहरीलाई व्यावसायिक बनाउनमा भन्दा सलामी, गुलामी र मलामीमा उपयोग गरे र गरिरहेका छन्। प्रहरी नेतृत्वको नियुक्तिमा हुने गरेका लेनदेन सतहमा देखिने स-साना पानीका फोका मात्र हुन्। राजनीतिक दलहरूले राज्यको प्रहरी बललाई आम जनताको सुरक्षाका लागि कम र सत्ता र शक्तिको विस्तारका लागि बढी प्रयोग गरेका छन्। यसबाट प्रहरी संगठनमा व्यावसायिकता धराशायी भएको छ। प्रहरी संगठन आम जनताप्रति जिम्मेवार नभएर दलका नेताप्रति जिम्मेवार छ।

राजावादीहरूको आन्दोलनका क्रममा सुरक्षाकर्मीको भूमिकाका बारेमा प्रशस्त बहस हुनसकेन। राजनीतिक दलहरूले त्यसबेला भएको धनजनको क्षतिको विश्लेषण गरेर त्यसमा जिम्मेवारलाई कारबाही गर्न सकेको भए सम्भवतः सोमवारको हिंसा टर्न सक्थ्यो।

भएभरका सामाजिक सञ्जाल एकसाथ बन्द गर्ने मूर्ख बुद्धि देश चलाउनेहरूको मस्तिष्कमा कताबाट आयो ?

सामाजिक सञ्जाल आम मानिसका दिनचर्यासँग जोडिएका छन्। तिनीहरू केवल मनोरञ्जन वा समय बिताउने माध्यम मात्र होइनन्। इन्टरनेटका प्ल्याटफर्ममार्फत आम मानिस दैनिक जीवनका महत्त्वपूर्ण गतिविधिमा संलग्न हुन्छन्। यस्ता माध्यमहरूमा सरकारको नियमन नहुने होइन, तर यसको निश्चित विधि र प्रक्रिया हुन्छ। एकाएक सारा माध्यमहरू बन्द गर्नाले आम मानिसमा अन्योल मात्र हुँदैन, यसले दैनिक जीवनलाई कष्टकर बनाउँछ। सर्वसाधारण मानिसले क्षति र नोक्सानी बेहोर्छन्। यसको हेक्का नराखी एकाएक सबै लोकप्रिय माध्यम बन्द गर्ने मूर्खता शासकीय अहंकारको निकृष्ट प्रदर्शन हो।

आम जनताले प्रशस्त उपयोग गर्ने इन्टरनेटका प्ल्याटफर्म र सामाजिक सञ्जाल एकाएक बन्द गर्ने रवैयाले नेपालमा सरकार चलाउनेहरू आम मानिसको दैनिक जीवनको यथार्थबाट कति टाढा छन् भन्ने कुरा देखाएको छ।

अब नेपालको समग्र हाल र जेन-जीको आन्दोलनले उजागर गरेको यथार्थबारे छोटो चर्चा गरौं।

जेन-जीको आन्दोलन जसले सुकै आयोजना गरेको किन नहोस् त्यसमा बहुसङ्ख्यक नेपालीको सहानुभूति छ। यस आन्दोलनमा संलग्न मानिसहरूलाई बदनाम गर्ने वा उनीहरूमाथि सत्ताको तागत देखाउने प्रयास सरकारको आत्मघाती कदम हुनेछ। यसले न सरकारको आयु बढाउँछ न त मानिसहरूको असन्तुष्टि कम गर्न सकिन्छ

मैले विगत केही समयदेखि आफ्ना लेखहरूमार्फत भनिरहेको छु- नेपालको अवस्था नाजुक छ। यो यथार्थलाई स्वीकार गर्न जति ढिला भयो संकट त्यति नै गहिरा हुँदै जानेछन्।

तीव्र गतिमा बदलिरहेको विश्वको राजनीतिक, आर्थिक र सांस्कृतिक परिवेशमा नेपाल सुस्त भए पनि आफ्नो गति बनाउनु त परको कुरा दुई खुट्टा टेकेर उभिन पनि सकिरहेको छैन। नेपाली अर्थतन्त्रको तस्वीर भयावह छ। आधारभूत सेवा प्रवाहमा राज्यको भूमिका विगतको तुलनामा झन् खस्केको छ। शिक्षा र स्वास्थ्य सुरक्षामा निरन्तर ह्रास आएको कुरा सरकारी विश्वविद्यालय तथा अस्पतालहरूको अवस्थाले स्पष्ट देखाएका छन्। डिजिटाइजेशनका माध्यमले संसारका गरीब मानिएका देशहरूले समेत सार्वजनिक सेवा प्रवाहमा महत्त्वपूर्ण फड्को मारिसक्दा नेपालको राज्य सवारीचालक अनुमति-पत्र छाप्न भएभरको तागत खर्चिरहेको छ, र पनि सफल भइरहेको छैन।

नेपालको यस्तो खराब अवस्थाको कारण के हो त ?

जेन-जी भ्रष्टाचारबाट आक्रान्त देखिएको छ, जुन स्वाभाविक छ। राज्यका स्रोत र साधनमाथि राजनीतिक दलहरूको अनैतिक मनोमानीले सीमा नाघेको जेन-जीको बुझाइ सही छ। अनुपात तल–माथि जे भए पनि भ्रष्टाचार नेपालको खराब अवस्थाको लक्षण, कारण र परिणाम सबै हो।

शासक वर्गमा जनताप्रतिको जवाफदेही शून्य भएर जानु र अहंकार त्यही अनुपातमा बढ्नुको कारण उनीहरूमा रहेको जातिवादी र स्त्रीद्वेषी अहंकार हो। नेपालमा जुनसुकै तन्त्र, प्रणाली र पद्धति आए पनि अर्थ–राजनीतिमा केही परिवर्तन आउन सकेको छैन। पुरातनपन्थी मानसिकता नेपालको राज्यसंरचनाको अपरिवर्तनीय चरित्र बनेको छ। यस्तो चरित्रमा उदारवाद, विविधता, समावेशिताका लागि कुनै स्थान छैन। नेपालको शासक वर्गका लागि शक्ति र अवसरको स्रोत समाज होइन- भाग्य हो। राजनीतिक दलको नेतृत्वको समग्र तह र संरचना जातीय शुद्धतावादको मान्यताबाट प्रेरित छ जसमा निश्चित मानिसका निश्चित विचार शुद्ध छन् र बाँकी विचार स्वतः अयोग्य छन्। आश्चर्य लाग्दो कुरा के छ भने आफूलाई क्रान्तिकारी र कम्युनिष्ट भन्ने राजनीतिक दलहरू यथार्थमा झन् बढी पुरातनपन्थी, जातिवादी र स्त्रीद्वेषी छन्।

जातिवादी हुनु भनेको जात व्यवस्था मान्नु मात्र होइन। जातिवाद यस्तो मान्यता हो जसले विभेदलाई सामान्यीकरण र असमानतालाई शुद्धीकरण गर्छ। क्षमतालाई नभएर वर्ग, जात वा लैंगिकतालाई सम्मान गर्ने मानसिकताका आडमा खडा भएका राज्य र राजनीतिक संस्थाहरू जनताप्रति जवाफदेही हुन सक्दैनन्। त्यसैले, नेपालको आमूल परिवर्तनका लागि जातिवादी मानसिकतालाई चिन्न र त्यसको अन्त्यका लागि प्रयास हुन जरूरी छ।

नेपालको कर्मचारीतन्त्र पुरातनपन्थी सोच तथा उच्चजातीय अहंकारबाट भरिपूर्ण शुद्धतावादीहरूको झुण्ड हो। अनुमति, स्वीकृति, दर्ता, नवीकरण, शुल्क, दण्ड र जरिवानाको रट बाहेक नेपालको कर्मचारीतन्त्रसँग आम जनतालाई सेवा प्रवाह गर्ने प्रभावकारी पद्धति र सीपमा चासो छैन। चासो ठेक्कापट्टा, कमिशन र तस्करीमा मात्र छ। त्यसैले, पैसा र पहुँच नहुने हरेक करदाता नागरिक नेपाल सरकारबाट हरेक दिन अपमानित हुन बाध्य छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरीब र सिधा नेपालीहरूमाथि हुने व्यवहार होस् वा सरकारी अस्पतालहरूमा निम्न वर्गका मानिसहरूले भोग्नुपर्ने सास्ती- सबै नेपाली कर्मचारीतन्त्रको अकर्मण्यताका परिचायक हुन्।

नेपाली राज्यको असफलताका कारणहरूको चर्चा लामो हुनसक्छ। यसलाई यहीं थाती राखेर फेरि जेन-जीको आन्दोलनतर्फ फर्कौं।

जेन-जीको आन्दोलन जसले सुकै आयोजना गरेको किन नहोस् त्यसमा बहुसङ्ख्यक नेपालीको सहानुभूति छ। यस आन्दोलनमा संलग्न मानिसहरूलाई बदनाम गर्ने वा उनीहरूमाथि सत्ताको तागत देखाउने प्रयास सरकारको आत्मघाती कदम हुनेछ। यसले न सरकारको आयु बढाउँछ न त मानिसहरूको असन्तुष्टि कम गर्न सकिन्छ।

जेन-जीका आन्दोलनकारीले आफ्नो आन्दोलनलाई कसरी अघि बढाउँछन्- यो उनीहरूको कुरा हो। आजको विश्व परिवेशमा विभिन्न चुनौतीले जेलिएको नेपालमा केपी ओली, देउवा वा प्रचण्ड अनि यही पुस्ताका अरू पुरातनपन्थी नेताहरूबाट शाषित हुनुपर्ने दुर्भाग्यको अन्त्य हुनुपर्छ भन्ने उनीहरूको आवाजमा मेरो पूराका पूरा साथ र समर्थन छ। म्याद गुज्रेको औषधि खाएर रोग निको हुनेछ भनेर विश्वास गर्नु र यी मानिसहरूको बुताबाट नेपालको मुहार फेरिएला भनेर विश्वास गर्नु एउटै कुरा हो।

सोमवारको आन्दोलनको प्रसङ्गमा अहिलेको सरकार र यसको नेतृत्व गर्ने केपी ओलीलाई मेरो एउटा मात्र प्रश्न छ :

दर्जनभन्दा बढी कलिला युवाले सडकमा बगाएको रगतको पृष्ठभूमिमा तपाईंले कुर्सीमा बसिरहन सुहाउँछ ? मलाई लाग्छ सोमवारको यो आन्दोलनबाट अहिलेको सरकारको वैधता सकिएको छ।

भविष्यका लागि कस्तो नेतृत्व, विधि र रोडम्याप बनाउने भन्ने कुरामा मानिसहरूले बहस गर्लान्। तर, अहिलेका लागि चाहिं प्रधानमन्त्री ओलीजी, योर टाइम इज अप !

लेखक
सञ्जीव पोखरेल

लेखक ब्लगर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?