+
+
Shares

संयुक्त राष्ट्रसंघले भन्यो– नेपालमा संवाद र विश्वास निर्माणका प्रयासलाई सहयोग गर्न तत्पर छौं

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते २०:२३

२४ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)ले आन्दोलनरत युवाहरुका माग शान्तिपूर्णरुपमा सम्बोधन गर्न आह्वान गरेको छ । त्यसका लागि सहयोग गर्नसमेत तयार रहेको उसले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयले आज विज्ञप्ति निकालेर भनेको छ, ‘संयुक्त राष्ट्र संघ नेपालमा संवाद र विश्वास निर्माणका प्रयासहरूलाई सहयोग गर्न तत्पर छ, जसले तनाव कम गर्न र शान्तिपूर्ण समाधानमार्फत समृद्ध नेपाल निर्माणमा टेवा पुर्‍याउनेछ ।’

यूएनले अत्यधिक शक्ति प्रयोगमा संलग्न भएका व्यक्ति र संरचनाहरुको स्वतन्त्र र निष्पक्ष छानबिन गर्नुपर्ने पनि जनाएको छ ।

आन्दोलनकारीहरुलाई शान्तिपूर्ण प्रदर्शन गर्ने मौलिक अधिकारको सम्मान गर्दै कुनै पनि हिंसा नगर्न उसले अपिल गरेको छ । साथै  राज्यका निकायहरुलाई पनि अन्तर्राष्ट्रिय मानवीय कानुनहरुको मान्यतामा आधारित रहेर कानुन कार्यान्वयन गर्न सचेत गराएको छ ।

‘प्रदर्शनकारीलाई मौलिक स्वतन्त्रता शान्तिपूर्ण ढंगले प्रयोग गर्न र हिंसाबाट टाढा रहन आग्रह गर्दछौं,’ यूएनले भनेको छ, ‘साथै सुरक्षाकर्मीहरूले गर्ने सबै क्रियाकलाप अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डअनुरूप संयमित र सन्तुलित रहनु आवश्यक छ ।’

यूएनले नागरिकहरुका माग सम्बोधन गर्ने उपयुक्त माध्यम सम्वाद नै हुने सबै सरोकारवाला नागरिक र युवाहरुलाई जानकारी गराएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘बल प्रयोगको अत्यधिक घटनासम्बन्धी सबै आरोपहरू तत्काल स्वतन्त्र, पारदर्शी र निष्पक्ष ढंगले छानबिन गरिनुपर्छ । संवाद नागरिकका चिन्ताहरू, विशेषगरी युवाहरूका आवाज, सुनुवाइ गर्ने सबैभन्दा उपयुक्त माध्यम हो ।’

यूएनले समस्याका मूल कारण सम्बोधन गरी नेपाल समृद्ध भविष्यतर्फ अघि बढ्ने विश्वास समेत व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?