+
+
Shares

आन्दोलनकारीलाई संयमित हुन नागरिक अगुवाहरूको अपील

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते २३:०३

२४ भदौ, काठमाडौं। जेनजी आन्दोलनको क्रममा मंगलबार आगजनीका अकल्पनीय घटनाहरु भएपछि विभिन्न क्षेत्रका अगुवाहरुले संयमित हुन अपील गरेका छन्।

प्रदर्शनकारीहरुले मंगलबार प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार, संघीय संसद् भवन, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, जिल्ला प्रशासन कार्यालसहित पूर्वप्रधानमन्त्रीहरुका घर, पार्टी कार्यालयमा आगो लगाएर ध्वस्त बनाएका छन्।

विभिन्न व्यवसायिक प्रतिष्ठान, राजनीतिक दलका नेता तथा राजनीतिक दलका नेता, सञ्चार गृहहरुलगायतमा पनि आगजनी गरेर ठूलो क्षति पुर्याएका छन्।

यस्ता आगजनीले मुलुक सञ्चालनका लागि अति आवश्यक पर्ने महत्वपूर्ण दस्ताबेजहरुसमेत जलेर स्वाहा भएको छ। आगजनीका यस्ता घटना बढिरहेपछि पूर्वप्रधानन्यायाधीशहरु, न्यायाधीशहरु, नागरिक समाजका अगुवाहरु लगायतले संयम अपनाउन अपील गरेका हुन्।

मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्की, केदारभक्त माथेमा, वीरेन्द्रप्रसाद मिश्र, विद्याधर मल्लिक कृष्ण खनाल कृष्ण पोख्रेल हरि शर्मा मोहना अन्सारी र चरण प्रसाईंले संयुक्त रुपमा संयमता अपनाउन र शान्ति कायम गरी राजनीतिक निकास खोज्न आह्वान गरेका छन्।

जेनजी पुस्ताको शान्तिपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनीहरुले मंगलबार भएका व्यक्तिगत तथा सार्वजनिक सम्पतिमाथिको आगजनी तोडफोड लुटपाट तथा योजनाबद्ध रुपमा व्यक्ति नेता तथा तिनका परिवारमाथिको सांघातिक आक्रमणप्रति चिन्ता व्यक्त गरेका छन्।

‘हामी नेपाली नागरिक शान्तिप्रिय छौं र हौं पनि । हिंसात्मक गतिविधि निरन्तरताले राजनीतिक निकास दिन सक्दैन । मुलुकमा शान्ति कायम राख्ने हामी सबै नागरिकको कर्तव्य हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यसको पहल बदलाको भावनाले नभई रचनात्मक राजनीतिक संवाद तथा सम्भावनाबाट मात्र खोज्न सकिन्छ।’

वरिष्ठ नेत्र चिकित्सक डा। सन्दुक रुइतले पनि संयमित रहन जेनजी पुस्तालाई अपील गरेका छन्। असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको भन्दै उनले सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित नहुने उनको भनाइ छ।

सामाजिक सञ्जालमा डा। रुइतले लेखेका छन्, ‘परिवर्तनका लागि सडकमा विरोध प्रदर्शन गरिरहनुभएका भाइबहिनीहरु, तपाईंहरुले देखाउनुभएको अदम्य साहसका कारणले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ। यस्तो अवस्थामा सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन।’

उनले सबै मिलेर देश जोगाउनु पर्ने तथा सबै मिलेर देश बनाउनुपर्ने अपील गरेका छन्।

‘सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो। तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौं र गर्न नदिउँ। संयम बनौं,’ उनले लेखेका छन्, ‘सबै मिलेर देश जोगाऔं, सबै मिलेर देश बनाऔं।’

अभिनेता राजेश हमालले राष्ट्रको सम्पदा जोगाउन जेनजी पुस्तालाई आग्रह गरेका छन्।सोमबार प्रहरीको गोली लागेर मारिएकाहरूको सम्झनामा दीप प्रज्ज्वलन गर्न जेनजीद्वारा आयोजित कार्यक्रममै सहभागी हुँदै हमालले यस्तो बताएका हुन्।

‘नेपालमा जेनजीले जुन कदम उठाएको छ त्यसको समर्थन हामी सबैले गरेका छौं । साथसाथै आन्दोलनमा उत्रिएका जेनजीलाई म विनम्र अनुरोध गर्दछु राष्ट्रको सम्पदा, राष्ट्रको सम्पत्ति कुनै नेताको निजी सम्पत्ति होइन। ती हाम्रा हुन्। तिनको नाश नगरौं संरक्षण गरौं,’ उनले अपील गरेका छन्।

हमालले भोलि देशको नेतृत् वगर्ने अवसर आउँदा नयाँ पुस्तालाई तिनै संरचना र सम्पदा आवश्यक पर्ने भन्दै संयमता अपनाउन अपील गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?