+
+
Shares

मधेशका तीनवटा जेलबाट भागे ९८३ कैदीबन्दी

खोजिकार्यमा जुट्यो सुरक्षाकर्मीको टोली

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २५ गते १८:२६
सर्लाही कारागार।

२५ भदौ, जनकपुरधाम । मधेशका तीनवटा कारागारबाट ९८३ कैदीबन्दी फरार भएका छन् ।

सप्तरीको राजविराज, महोत्तरीको जलेश्वर र रौतहटको गौर कारागारबाट उनीहरू आन्दोलन, आगजनी र तोडफोड गरी भागेका हुन् । मधेशमा धनुषा र बारा बाहेक ६ वटा जिल्लामा कारागार छन् ।

सप्तरीको  राजविराजस्थित सप्तरी कारागारबाट २०५ कैदीबन्दी भागेका छन् । जसमध्ये ३१ जनालाई नियन्त्रणमा लिन सफल भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) टुवराज पोखरेलले बताए ।

दिउँसो १ बजेतिर थुनुवाहरूले भाग्नका लागि कारागार भित्र आगजनी गरेका थिए । प्रहरीहरू आगलागी निभाउन थालेपछि कैदी बन्दीहरू फरार भएका हुन् । त्यस क्रममा २५ जना र ६ जना गरी ३१ जनालाई नियन्त्रणमा लिन सफल भएको सीडीओ पोखरेलको भनाइ छ ।

उनीहरू भारततिर भागेको हुन सक्ने प्रहरीको आशंका छ । ‘इन्डियाको नाकातिर भागेको हुन सक्छ । ३१ जनलाई पक्राउ गरि ल्याइएको छ । बाँकीको पनि खोजी गरिरहेका छौं’ सीडीओ पोखरेलले भने ।

सप्तरी कारागार।

जेनजीको आन्दोलनको क्रममा ललितपुरको नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बाहिर निक्लेसँगै देशभर कैदीबन्दीले ‘जेलब्रेक’ गरेर फरार भएका हुन् । त्यही नजिर राख्दै देशका अन्य जेलहरूबाट समेत कैदीबन्दी भित्रै आन्दोलन चर्काएर भागिरेका छन् ।

महोत्तरीको जलेश्वर कारागारबाट मंगलबार साँझ सबै ५७६ कैदीबन्दी भागेका थिए ।

मधेश आन्दोलनका क्रममा भएका सशस्त्र प्रहरीका सई थमन विक हत्या प्रकरणको अभियोगमा रहेका ६ केदीलाई आन्दोलनकारी रिहाइ गराउन गएको बेला कैदीबन्दी पनि आन्दोलन गरेर भागेका हुन् ।

यस्तै गौर कारागारबाट २३३ कैदीबन्दी फरार भएका छन् । २९१ कैदी रहेको जेलमा तोडफोड गरी २४ जना बाहेक सबै भागेका छन् ।

यस्तै सर्लाहीको मलंगवा कारागारमा आज बिहान आन्दोलन गरेर कैदीबन्दी आगजनी गरेर भाग्न खोजेपनि तीनवटै सुरक्षा निकायले रोक्न सफल भएका छन् । आगजानी नियन्त्रणमा लिएका थिए ।

सो जेलमा विवादित धर्मगुरु रामबहादुर बम्जन छन् । उनका समर्थकहरू उनलाई त्यहाँ आक्रमण गरेर छुटाउन पुगेका थिए ।

यद्यपि, सुरक्षाकर्मीले धपाएका थिए भने आगजनी निभाएका थिए । त्यस क्रममा कयौं राउण्ड हवाई फायर र अश्रुग्यास सुरक्षाकर्मीले प्रहार गरेका थिए ।

वीरगञ्जको कारागारबाट भाग्न खोजेपछि रातिदेखि नै तनाव थियो । नेपाली सेनाले गोली चलाएर वीरगञ्जमा कैदीबन्दीलाई रोकेको छ । अहिले देशका धेरै कारागारमा नेपाली सेना परिचालन गरिएको छ ।

सुरक्षाकर्मीको सक्रियताले रोक्न सफल भएको र अहिले अवस्था समान्य रहेको पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताए ।

सिरहा कारागार भने अहिलेसम्म शान्त छ । मधेशमा रहेका कारागार सदरमुकाम र सीमाको नजिकमा रहेकाले बहु संख्यक कैदी खुल्ला सीमा हुँदै भारत भागेको हुन सक्ने आशंका गरिएको छ ।

कैदीहरू जेलबाट भागेपछि समाजमा असुरक्षा र भयत्रास सिर्जना भएको छ । फरार कैदीहरुको खोजी कार्य भइरहेको प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?