+
+
Shares

खरानी बन्यो कर्णाली प्रदेश सभा (तस्वीरहरू)

प्रदेशका सबै ठूला कार्यालय जले

यज्ञ खत्री यज्ञ खत्री
२०८२ भदौ २५ गते २१:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली प्रदेशसभामा आन्दोलनकारीले तोडफोड र आगजनी गरी एक अर्बभन्दा बढीको क्षति पुर्‍याएका छन्।
  • वीरेन्द्रनगरमा जेनजी आन्दोलनकारीले राजनीतिक दलका कार्यालय, सरकारी भवन र नेताका निवासहरूमा व्यापक तोडफोड र आगजनी गरेका छन्।
  • आन्दोलनका क्रममा क्यान्टिन सञ्चालक लक्ष्मी देवकोटाको रोजीरोटी खोसिएको छ र उनी परिवारसहित सडकमा धकेलिएकी छन्।

२५ भदौ, सुर्खेत । क्यान्टिन अगाडिको ठुलो भवनबाट धुवाँ पुत्ताइ रहेको छ । कुर्सी, टेबुल लगायतका संरचनाहरू जलेर खरानी भएका छन् । प्राङ्गणभरि छरपट्ट छन्, ढुङ्गाहरू । त्यहाँ ठडिएका भवनहरू जलेर राग बनेका छन्।

गेटभित्र थिए– नेपाली सेना र नेपाल प्रहरीका एक हुल सुरक्षाकर्मी । आज बिहान ९ बजेदेखि मात्रै सुरक्षा दिइरहेका जवानहरूको अनुहार भने मलिन देखिन्थ्यो । हातमा हतियार थियो, तर आफैँ असुरक्षित महसुस गरिरहेका थिए।

बुधवार दिउँसो ४ बजे कर्णाली प्रदेश सभा पुग्दा देखिएको दृश्य हो, यो । त्यही प्रदेश सभाको प्राङ्गण अगाडी बरबराउँदै थिइन्, सञ्चालक लक्ष्मी देवकोटा (३४) । ‘कस्ता निर्दयी हुन, चार वटा ग्याँस थिए । कम्तीमा एउटा त छोर्देउँ भनेर बिन्ती गरे। त्यो पनि बाइकमा हालेर लिए,’ प्रदर्शनकारी प्रति आक्रोशित हुँदै उनले भनिन्।

मङ्गलवार बेलुका झमक्क साँझ पर्दै थियो । प्रदेश सभाको गेटमा सुरक्षाकर्मी थिए। सचिवालयका सबैजसो कर्मचारीहरू भने घरतिर गई सकेका थिए । बजार क्षेत्रमा दिनभरि अशान्त थियो । प्रर्दशनकारीहरुले प्रदेशका सबैजसो ठुला सरकारी कार्यालयहरूमा आगजानि र तोडफोड गरिरहेका थिए । तर प्रदेश सभामा भने उनीहरू आइसकेका थिएनन् ।

‘अब आन्दोलनकारी आउँदैनन्, भनेर हामी ढुक्क भएर बसेका थियौँ,’ लक्ष्मीले मंगलबारको घटनाबारे भनिन् । त्यसको केही बेरमा एकाएक प्रदर्शनकारीहरूको समूह प्रदेश सभा परिसरमा छिर्‍यो। एकाएक ढुंगामुडा गर्न थाले। गेटमा खटिएको प्रहरीले भिडलाई नियन्त्रणमा लिनुको साटो खुल्ला छोडिदियो ।

सुरुमा उनीहरू सभाको बैठक भवनमा छिरे । प्रत्यक्षदर्शी लक्ष्मीका अनुसार, उनीहरूले सभाका कुर्सीहरू जम्मा पारेर जलाउन थाले । अर्को हुल, सभाको सचिवालयमा छिरेर कागजातहरू एक ठाउँमा थुपारे, अनि आगो दन्काए ।

सभाको अगाडि रहेको एउटा एम्बुलेन्स र एक कर्मचारीको मोटरसाइकलमा पनि आगो झोसे । ‘धन्न अन्य गाडीहरू दिउँसो नै सुरक्षित ठाउँमा सारिएको थियो । नत्र पुरै खरानी बनाउने रहेछन्,’ सचिवालयका एक कर्मचारीले भने ।

अराजक आन्दोलनकारीले कर्णाली प्रदेशसभालाई पुर्नरुपमा आफ्नो कब्जामा लिए । प्रदेशसभा परिसरमा रहेका सबैजसो संरचनामा तोडफोड र आगलागी गरे । पुस्तकालय, संसदीय समितिका सचिवालयहरू, मिडिया रुम, संसदीय दलका कार्यालयहरू सबैतिर छिरेर जलाए । त्यो क्रम रात भरी रह्यो । ‘केही युवाहरू मध्यरातसम्म सभाका कम्प्युटर, एसी, पर्दा लगायतका सामानहरू वसारे,’ एक छिमेकीले भने।

प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले तोडफोड र आगलागीबाट १ अर्ब बढीको क्षति भएको बताए । क्षतविक्षत भएको प्रदेशसभालाई पहिलेकै अवस्थामा ल्याउन अर्बौं खर्च लाग्ने उनले बताए । बुढाथोकीका अनुसार प्रदेशसभाबाट कुनै पनि सरकारी कागजातहरू सुरक्षित गर्न सकिएन।

खोसियो लक्ष्मीको रोजीरोटी

आन्दोलनकारी प्रदेश सभाभित्र छिरेपछि अर्को गेटबाट भागेर लक्ष्मीले आफ्नो बालबच्चाको ज्यान जोगाइन् । लक्ष्मी २०७४ सालदेखि प्रदेश सभाको स्थापना कालदेखि नै परिसरमा क्यान्टिन (खाजा घर) सञ्चालन गर्दै आएकी थिइन् । पलाँता गाउँपालिका कालिकोटकी स्थायी घर भएकी लक्ष्मी क्यान्टिन चलाइ रोजीरोटी चलाउँथिन् ।

प्रदेशका नीति निर्माणदेखि जनताका आवाज मुखरित हुने संसद्को आडैमा निर्मित सानो दुई कोठे भवनमा लक्ष्मीले भाडा तिरेर खाजा पसल सञ्चालन गर्दै आएकी थिइन् । लक्ष्मीलाई उनका श्रीमान्ले समेत सघाउँदै आएका थिए । त्यही खाजा पसलबाट लक्ष्मीको परिवारले आफ्नो गर्जो टार्दै आइरहेको थियो ।

खाजा पसलबाटै लक्ष्मीले छोराछोरी पढाउनेदेखि सुर्खेतमा घर घडेरी जोड्ने सपनासमेत देखेकी थिइन् । तर, सोमबारको दिन भने लक्ष्मीको सपना एकाएक भत्किएको छ ।

आइतबार सामाजिक सञ्जाल बन्द, भ्रष्ट्राचार, अनियमिता र बेथितिका विरुद्ध जेन–जी पुस्ताले सुरु गरेको आन्दोलनले लक्ष्मीका लागि खाइपाइ आएको रोजीरोटी नै खोसिएको छ । उनी जबरजस्त सडकमा धकेलिएकी छन् ।

बुधवार दिउँसो लक्ष्मी आफ्ना श्रीमान् सहित क्यान्टिन बाहिर छरपट्ट बनाएर फालेका भाँडाकुँडा बटुल्दै थिइन् । ‘पापीहरूले चम्चा, प्लेटहरू समेत छोरेनछन् । सबै लिएर गएछन्,’ उनि भन्दै थिइन् । अघिल्लो दिनदेखि नै प्रदेशसभाबाहिर आन्दोलन भइरहेको उनले देखेकी थिइन् । तर, यसरी खाजा पसलभित्रै छिरेर आगजनी होला भन्ने उनले कल्पना पनि गरेकी थिइनन् ।

‘बाहिर आन्दोलन थियो । तर, यसरी तोडफोड र आगो नै लगाउँछन् भन्ने लागेको थिएन । यस्तो हुन्छ भन्ने थाहा पाएको भए केही जोगाउन सकिन्थ्यो,’ उनले भनिन्, ‘जसोतसो चलेको थियो, अब के होला भन्ने चिन्ता लागेको छ ।’ उनले यस्तो अराजक आन्दोलन यसअघि कहिल्यै नदेखेको सुनाइन् ।

ठूला सबै सरकारी कार्यालय जले

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मङ्गलवार जेनजीहरुले गरेको आन्दोलनले प्रदेशका सबैजसो ठुला सरकारी कार्यालयहरू जलेर खरानी भएका छन् । आन्दोलनले उग्र रूप लिँदा राजनीतिक दलका कार्यालय, सरकारी भवन र नेताका निवासहरूमा व्यापक तोडफोड र आगजनी गरिएको छ ।

राजधानीको शान्ति भङ्ग गर्दै आन्दोलनकारीले दर्जनौँ स्थानमा क्षति पुर्‍याएका छन् । ‎जेनजी आन्दोलनकारीले मुख्यतया राजनीतिक दलका कार्यालयहरूलाई निशाना बनाए । ‎नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका पार्टी कार्यालयहरूमा तोडफोड गरी आगजनी गरिएको छ । यसै गरी, वीरेन्द्रनगर नगरपालिकाको कार्यालयमा पनि तोडफोड भएको छ ।

उनिहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तोडफोड गरे भने मुख्यमन्त्री यामलाल कँडेलको सरकारी निवास र भैरवस्थानस्थित निजी निवासमा समेत तोडफोड र आगजनी गरेका छन् । ‎‎नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काको वीरेन्द्रनगरस्थित निवास पनि तोडफोड र आगजनीको सिकार भयो ।

सरकारी वकिल कार्यालय सुर्खेतको गाडीमा आगजनी, प्रदेश लेखा नियन्त्रकको कार्यालयमा तोडफोड र नापी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । ‎‎वीरेन्द्रनगरको सिटी हलमा पनि आगजनी र तोडफोड भएको छ । वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकाल र उपमेयर नीलकण्ठ खनालको घरमा पनि आगजानी गरेका छन् ।

यसरी नागरिक सेवा प्रवाहमा प्रत्यक्ष जोडिने दुई दर्जनभन्दा बढी सरकारी निकायमा अराजक आन्दोलनकारीले निसाना बनाएर आगजनी तथा तोडफोड गरे । वीरेन्द्रनगर नगरपालिका– १ देखि १२ नम्बर वडा कार्यालयमा पूर्ण रूपमा क्षति पुर्‍याएका छन् । आन्दोलनकारीले माया पेट्रोल पम्पमा समेत क्षति पुर्‍याएका छन् ।

बुधाबार दिनभरि भने वीरेन्द्रनगर शान्त रह्यो । नेपाली सेनाले सुरक्षा कमान्डको जिम्मा लिएपछि चोक चोकमा बिहानै देखि ठुलो मात्रामा सेना परिचालन गरिएको छ । कफ्यु आदेश जारी गरिएको छ ।

लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?