
२६ भदौ, विराटनगर । विराटनगरका जेनजीहरूले प्रधानसेनापति अशोकराज सिग्देलको भूमिकाप्रति प्रश्न उठाएका छन् । जेनजी युवा समूहले गरेको आन्दोलनको स्टेकहोल्डर दुर्गा प्रसाईंलाई बनाएको भन्दै सेनापति सिग्देलको भूमिकाप्रति प्रश्न उठाएका हुन् ।
उनीहरूले जेनजी आन्दोलनको स्टेकहोल्डर दुर्गा प्रसाईं नभएको दाबी गरे ।
‘प्रधानसेनापति जेनजीका युवाहरूसँग संवाद गर्न खोजिरहेका छैनन्, तर दुर्गा प्रसाईंसँग गर्दैछन्,’ जेनजीको एउटा समूहले पत्रकार सम्मेलन गर्दै भन्यो, ‘यो आन्दोलन दुर्गा प्रसाईंको थियो ? कदापि थिएन ।’
जेनजी समूहले सेना प्रमुखले सरकार गठनको प्रक्रिया लम्ब्याएर शासन सत्ता आफ्नो हातमा लिने प्रयास गरेको हो कि भन्ने शंका पनि व्यक्त गरेका छन् ।
विराटनगरमा जेनजीका दुई समूह छन् ।
अर्को समूहले नेपाली सेनाले सुशीला कार्कीलाई जेनजीसँग संवाद गर्न नदिएको पनि आरोप लगाएको छ ।
‘सेनाले अहिले दुर्गा प्रसाईं र सुशीला कार्कीलाई हेडक्वार्टरमा राखेको छ, सुशीला कार्कीसँग प्रत्यक्ष संवाद हुन सकेको छैन,’ पत्रकार सम्मेलन गर्दै जेनजीको समूहले भन्यो,’ जेनजीका प्रतिनिधि र सुशीला कार्कीबीच प्रत्यक्ष संवाद होस् ।’
दुवै समूहले छुट्टाछुट्टै पत्रकार सम्मेलन गर्दै तत्काल अन्तरिम सरकार गठनको आह्वान गर्न माग गरे ।
बिहीबार एउटा समूहले पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा विघटन गरी अन्तरिम सरकार गठन गर्न माग गरे । लगत्तै अर्को समूहले पत्रकार सम्मेलन गर्दै सोही माग दोहोर्याए । वर्तमान प्रतिनिधिसभा विघटन गरी नयाँ अन्तरिम सरकार गठन आह्वान नगरे आन्दोलन गर्ने जेनजी समूहको चेतावनी छ ।
दुवै समूहले अन्तरिक सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गरेका छन् । तर त्यसका लागि सुशीला कार्कीलाई पनि जेनजीसँगको संवादमा जोड्न माग गरेका छन् ।
प्रतिक्रिया 4