२ फागुन, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिएका छन् । महाशिवरात्रि तथा २६३ औँ सेना दिवसका अवसरमा शनिबार जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले शुभकामनासँगै निर्वाचनबारे पनि निर्देशन दिएका हुन् ।
सम्बोधनको क्रममा उनले नेपालको गौरवका गाथा, परम्परा र संस्कृति चिन्न, गौरव गर्न र इतिहासका पाठबाट सिक्न नेपाली सैनिक कर्मचारीलाई निर्देशन दिएको जंगी अड्डाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
‘सबै सैनिक तालिमहरूमा नेपाल र नेपालीको इतिहास अध्ययन-अध्यापन गराउन निर्देशन दिनुभयो,’ निर्देशनालयद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘साथै, नेपाली सेनाले विभिन्न क्षेत्रहरूमा निर्वाह गर्दै आइरहेको जिम्मेवारीहरू उत्कृष्ट ढंगले पुरा गर्ने क्रममा आसन्न निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउनसमेत विशेष निर्देशन दिनुभयो ।’
प्रतिक्रिया 4