
२७ भदौ, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरको भवन मर्मतसम्भार र पुनर्निर्माण गर्ने भएको छ ।
जेन जीको भ्रष्टाचार विरुद्धको आन्दोलनका क्रममा भूमिसुधार तथा मालपोत कार्यालय जलेर नष्ट भएको थियो ।
पुनर्निर्माण सम्बन्धी सम्झौतामा मालपोत कार्यालय विराटनगरका तर्फबाट मालपोत अधिकृत अजय राजवंशी र बैंकका तर्फवाट कोशी प्रदेशका प्रदेश प्रमुख खिमलाल भुसालले हस्ताक्षर गरेका छन् ।
जलेर नष्ट भएको कार्यालयको क्षतिको विवरण संकलनको कार्य हाल भइरहेको र विवरण संकलन पश्चात पुनर्निर्माणको काम सुरु हुने बैंकले जनाएको छ ।
साथै, आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, पथरीका उपकरणसहितका सम्पूर्ण सामग्री जलेर नष्ट भएको र कार्यालय सञ्चालन नै असम्भव हुने अवस्थामा तत्काल आवश्यक कम्प्युटर डिएसपी तुलसीप्रसाद अर्याललाई हस्तान्तरण गरिएको बैंकका कोशी प्रदेश प्रमुख भुसालले जानकारी दिए ।
सो अवसरमा डिएसपी अर्यालले कार्यालय सञ्चालनमा गम्भीर चुनौती खडा भएको अवस्थामा बैंकले उपलब्ध गराएको कम्प्युटरले सहयोग पुगेको भन्दै आभार प्रकट गरे ।
त्यसैगरी, बैंकका प्रदेश प्रमुख भुसालले कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समुदायमुखी गतिविधि गर्दै आएको उल्लेख गर्दै पथरीस्थित इलाका प्रहरी कार्यालयलाई सहयोग गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे ।
उक्त हस्तान्तरण कार्यक्रममा प्रहरी अधिकृतहरू र बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
बैंकले अन्य स्थानका विभिन्न वडा कार्यालय, मालपोत कार्यालय, प्रहरी कार्यालय पुनर्निर्माण तथा मर्मत सम्भारका लागि सहकार्य गर्ने समेत जनाएको छ ।
प्रतिक्रिया 4