
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौँ डिल्लीबजार कारागार र नेपालगञ्ज बाल सुधार गृहबाट भागेका दुई कैदीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ।
- जिल्ला कारागार पर्वतबाट फरार भएका १९ मध्ये पाँच जनालाई नियन्त्रणमा लिएर पुनः कारागारमा चलान गरिएको छ।
- प्रहरीले फरार कैदीबन्दीलाई समयमा नै सम्पर्कमा आउन अनुरोध गर्दै सूचना दिने व्यक्तिको विवरण गोप्य राखिने जनाएको छ।
२८ भदौं, कर्णाली । जेनजी आन्दोलनका क्रममा काठमाडौँ डिल्लीबजार कारागार र नेपालगञ्ज बाल सुधार गृहबाट भागेका दुई कैदीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा आठबिसकोट नगरपालिका–३ रुकुमपश्चिम गोतामकोट निवासी कर्तव्य ज्यान मुद्दाको कैदी १७ वर्षीय मनिष विष्ट रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिए। उनका अनुसार विष्ट यही भदौ २५ गते नेपालगञ्जस्थित हिर्मुनियामा रहेको बालसुधार गृहबाट फरार रहेका थिए।
काठमाडौँ डिल्लीबजार कारागार कार्यालयबाट भदौ २४ गते फरार रहेका वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेत बामेखोला निवासी कर्तव्य ज्यान मुद्दाको कैदी ३१ वर्षीय गणेश नेपालीलाई पक्राउ गरिएको प्रवक्ता बुढ्थापाले बताए।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी सहायक निरीक्षक किशोर खत्री नेतृत्वको टोलीले दुवैलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला कारागार सुर्खेतमा पठाइएको उनले जनाए ।
यसैबीच जेनजी प्रदर्शनका क्रममा रहेको कमजोर सुरक्षा अवस्थाको फाइदा उठाउँदै जिल्ला कारागार पर्वतबाट फरार भएका कैदीबन्दीमध्ये पाँच जना नियन्त्रणमा आएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार बिहीबारसम्म विभिन्न कसुरका पाँच जनालाई नियन्त्रणमा लिएर पुनःजिल्ला कारागारमा चलान गरिएको छ। कारागारबाट फरार भएका १९ जनामध्ये पाँच जना पुनःकारागारमा पुगे बाँकी १४ जनालाई समयमा नै प्रहरीको सम्पर्कमा आउन भनिएको छ ।
अदालतबाट कैद फैसला भएका व्यक्तिले जसरी कैद भुक्तानी गर्नुपर्ने र प्रहरीले जुनसुकै समयमा पक्राउ गरेर सजाय भुक्तानीको लागि कारागारमा राख्ने भएकाले इमानदार भएर समयमा नै प्रहरीको सम्पर्कमा आउन अनुरोध गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।
विभिन्न अपराधमा संलग्न भएका व्यक्तिलाई ३०/४० वर्षपछि पक्राउ गरेर कारागारमा राखिएको सम्झाउँदै प्रहरीले लामो समय प्रहरीको आँखा छल्न नसकिने भएकाले समयमा नै सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ ।
आन्दोलनको मौकामा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दी भने आत्मसमर्पण गर्दै प्रहरी चौकीमा जाने क्रम बढिरहेको छ । सुरक्षा व्यवस्था कमजोर पारिएको अवस्थामा भाग्ने मौका पाएको भए पनि अब विस्तारै सुरक्षा प्रत्याभूति बढ्दै गएपछि जेलबाट भागेका स्वतःस्फूर्त प्रहरीमा आउन थालेका हुन् ।
अदालतको फैसला कार्यान्वयन गर्नका लागि प्रहरीले जसरी पक्राउ गर्ने र अहिले भागेका कानुनी रूपमा झनै अप्ठ्यारोमा पर्न सक्ने, सजाय झनै लम्बिन सक्ने, थप मुद्दा झेल्नुपर्ने अवस्था आउन सक्ने भएकाले त्यसबाट सुरक्षित हुनका लागि कैदीहरूले आत्मसमर्पण गरिरहेका हुन् ।
आफ्नो समुदायमा कोही नयाँ मान्छे आएमा, फरक खालको क्रियाकलाप देखाएमा वाशंका स्पद कुनै गतिविधि गरेको भएमा समयमा नै सुरक्षाकर्मीलाई खबर गरेर समुदायलाई सुरक्षित राख्नुपर्ने उनको भनाइ छ।
प्रहरीले गरिरहेका गस्तीहरूमा भेटिएका शङकास्पद व्यक्ति माथि अनुसन्धान तथा सोधपुछ गर्ने क्रममा उनीहरूले गर्वका साथ आफूहरूले जेल तोडेर आएको बताएकाले उनीहरूबाट थप घटनाको जोखिम हुनसक्ने चेतावनी प्रहरीले दिएको छ ।
भाग्ने र भगाउन मद्दत गर्ने सबै जना अपराधी भएको भन्दै उनले प्रहरीलाई केही समय हाँसोको पात्र बनाउँदा जनताकै घर लुटिने, आफ्नै दिदीबहिनी माथि दुर्व्यवहार, बलात्कारलगायत हिंसा हुने जोखिम रहेकाले आफ्नो समाजको बारेमा नागरिक चिन्तित बन्नुपर्ने प्रहरीले बताएको छ।
कोही कसैले देशका विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीहरू छरछिमेकमा आएको जानकारी पाएर प्रहरीमा खबर गरेमा सूचना दिने व्यक्तिका विवरण गोप्य राखिने सूचना दिने व्यक्ति सुरक्षित नै रहने प्रहरी नायब उपरीक्षक विष्टले बताए ।
प्रतिक्रिया 4