+
+
Shares

मन्त्री विन्दु थापा : घरव्यवसाय जले, ठगको निशानामा परे

मन्त्री थापा भन्छन्– भौतिक सम्पत्तिहरू जले, आत्मबल जल्न सक्दैन

घरदेखि व्यावसायिक प्रतिष्ठानसम्म जलाइएको मारमा परेका बेला मन्त्री थापाका छोरा ठगी धन्दाको निशानामा परेका छन् ।

अमृत सुवेदी अमृत सुवेदी
२०८२ भदौ २९ गते ९:४१
गण्डकीका सामाजिक विकास मन्त्री विन्दुकुमार थापा

२९ भदौ, पोखरा । भदौ २४ गते जेनजी पुस्ताले गरको आन्दोलनको क्रममा पोखरामा सबैभन्दा बढी गण्डकीका सामाजिक विकास मन्त्री विन्दुकुमार थापा र उनको परिवार निशानामा परे । मन्त्री थापा परिवारको घरदेखि व्यावसायिक प्रतिष्ठानसम्म आगजनी भएको छ ।

पोखरा महानगरपालिकाबाट सुरु भएको आगजनीले सरकारी संरचनाहरुसँगै मन्त्री थापालगायत केही रिसोर्ट, केही नेताका घरसम्म जले ।

नयाँबजारमा रहेको मन्त्रीको थापा र उनकै भाइ ध्रुवको घर तथा गाडी शोरुममा तोडफोड र लुटपाटमात्रै भएन, आगजनीबाट खण्डहर बन्यो ।

अंशुभरा ग्रुपमार्फत थापाकै छोरा सौगातले नेतृत्व गरेर चलाइरहेको लेकसाइडस्थित बगैंचा रिसोर्टमा पनि आन्दोलनकारीले तोडफोड, लुटपाट गरेर आगो लगाइदिए । मन्त्री थापाले भाडामा दिएर सञ्चालन भएका विभिन्न व्यवसायसमेत आन्दोलनकारीले जलाइदिए ।

पोखरा लेकसाइडमै रहेको अंशुभरा स्क्वायर भवनमा पनि आगजनी गरेका थिए । स्क्वायरमा विभिन्न ब्रान्डका व्यवसायदेखि महालक्ष्मी बैंकको शाखा कार्यालयसम्म जलेका थिए ।

मन्त्री थापा र उनका परिवारका घरदेखि व्यापारिक प्रतिष्ठानसम्म जलेर ध्वस्तमात्रै भएनन्, २ जनाले जलेर ज्यान नै गुमाए । मन्त्री थापाको अंशुभरा स्क्वायरमा दोलखाकी स्वस्थानी खड्का र नयाँबजारमा मन्त्रीका भाइ ध्रुवले सञ्चालन गरेको हिमालय अर्गनाइजेसनअन्तर्गतको गाडी शोरुममा जलेर दुई जनाले ज्यान गुमाएका हुन् ।

जेनजी नाममा भएको आन्दोलनको फाइदा उठाउँदै सुनियोजित रुपमा व्यक्तिगत घर, व्यवसाय ध्वस्त पार्नेदेखि ज्यानै लिनेसम्म काम गरेको भन्दै मन्त्री थापा र उनका परिवारका सदस्यहरुले विक्षिप्त भएको बताएका छन् । आन्दोलनमा घुसपैठ गरी आफूहरुले दशकौंको घाम–पानी, आँसु र मिहिनेतले सिर्जना गरेको सम्पत्ति नियोजित रूपमा खरानी पारिँदा हृदय भक्कानिने भन्दै भावुक स्टाटस लेखेका छन् ।

मन्त्री विन्दुकुमार थापाको घरव्यवसायमा भएको आगजनी

नक्कली फेसबुक आईडी बनाएर ठगी  

घरदेखि व्यावसायिक प्रतिष्ठानसम्म जलाइएको मारमा परेका बेला मन्त्री थापाका छोरा ठगी धन्दाको निशानामा परेका छन् । मन्त्री थापाका छोरा सौगात थापाको नाममा नक्कली फेसबुक आईडी बनाएर विभिन्न व्यक्तिहरुसँग पैसा मागेर ठगी गरेको पाइएको छ ।

घर रिसोर्ट जलाइएको भोलिपल्टै नक्कली आईडीबाट आफूलाई ठूलो समस्या परेको भन्दै विभिन्न व्यक्तिहरुसँग पैसा मागिएको थियो ।

थापाको नाममा नक्कली आईडी बनाएर १ लाख रुपैयाँ मागिएको भन्दै पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले फेसबुकमा राखिन् । त्यसपछि अरुले आफूहरुसँग पनि त्यसरी मागिएको बताएका थिए ।

मन्त्री थापासमेतले पोखरामा सञ्चालन गरेको ट्रेड मलमा व्यवसाय गर्नेहरुसँग पनि यसरी नै पैसा मागिएको थियो । थापाको नक्कली आईडीबाट पैसा मागिएको सार्वजनिक भएपछि एक व्यवसायीले आफूसँग नगदमात्रै भएको बताउँदै लिन बोलाएका थिए ।

नगदै पैसा लिनका निम्ति थापाले एकजना मानिस पठाइदिने बताएपछि त्यहाँका व्यवसायीले प्रहरीलाई सूचना दिएका थिए । पोखरा ट्रेड मलमा नगदै पैसा लिन पुगेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमजुङ मध्यनेपाल नगरपालिका वडा नम्बर ८ घर भई पोखरा–१० अमरसिंह चोक बस्ने २८ को विवेक गुरुङ, पोखरा–२९ का २७ वर्षीय बुद्ध गुरुङ, पोखरा–५ घर बताउने ३७ वर्षीय मीनराज तामाङ र पोखरा–१७ बस्ने ४० वर्षीय दीपक ढकाल छन् । उनीहरुले अन्य ठाउँमा पनि धारिलो हतियारसमेत देखाई लुटपाट गरेको भन्ने सूचना प्रहरीलाई पाएको थियो ।

विवेकको साथबाट विभिन्न दरका १ लाख २२ हजार, दापसहितको धारिलो तरबार र बुद्ध गुरुङको साथबाट फलामको स्टिकसमेत बरामद गरी चारै जनालाई अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ ।

मन्त्री थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दशकौंको घाम–पानी, आँसु र मिहिनेतले सिर्जना गरेको सम्पत्ति नियोजित रूपमा खरानी पारिँदा हृदय भक्कानिन्छ । तर, त्यसैमा अल्झिने छुट मलाई छैन ।’

‘थापाको नाममा नक्कली आईडी बनाएर विभिन्न व्यक्तिहरुसँग पैसा मागेको र ट्रेडमलमा पनि हातहतियारसमेत देखाएर डरधम्की देखाइ रकम असुली गरेको सूचना प्राप्त हुनासाथ प्रहरी पुगेको थियो,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतले भने, ‘उनीहरुले विभिन्न व्यक्तिहरुसँग पैसासमेत उठाएको पाइएको छ ।’

पछिल्लो पुस्ता (जेनजी)ले भ्रस्टाचारका विरुद्ध नेताका छोराछोरीहरुको विलासी जीवनयापनमाथि प्रश्न उठाउँदै आन्दोलन गर्दा नै निशानामा परे, पोखराका व्यवसायी तथा गण्डकीकी सामाजिक विकास मन्त्री विन्दुकुमार थापाका छोरा सौगात थापा । सामाजिक सञ्जाल टिकटकमा उनको जीवनशैलीमाथि प्रश्न गर्दै थुप्रै भिडियोहरु भाइरल थिए ।

मन्त्री थापा भन्छन् : भौतिक सम्पत्तिहरू जले, आत्मबल जल्न सक्दैन

जेनजी आन्दोलनको नाममा घरदेखि व्यावासायिक प्रतिष्ठानसम्ममा आगो लगाइएपछि मन्त्री थापा र उनको परिवारका सदस्यहरुले भावुक स्टाटस लेखेका छन् ।

मन्त्री थापा, उनका भाइ नेपाल अटो मोबाइल एसोसिएसन (नाडा)का पूर्वअध्यक्ष ध्रुवले दशकौंको मिहिनेत खरानी पारे पनि आत्मविश्वास खरानी पार्न नसक्ने बताएका छन् । उनीहरुले वर्षौंको पसिना ध्वस्त पारिए पनि फेरि उठ्ने आत्मविश्वास कायमै रहेको उल्लेख गरेका छन् ।

मन्त्री थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दशकौंको घाम–पानी, आँसु र मिहिनेतले सिर्जना गरेको सम्पत्ति नियोजित रूपमा खरानी पारिँदा हृदय भक्कानिन्छ । तर, त्यसैमा अल्झिने छुट मलाई छैन ।’

‘भदौ २३ गतेको आन्दोलनमा कालिला नानीबाबुहरुसहित १९ जनाले ज्यान गुमाउँदा अन्त्यन्त पीडावोध महसुस गरायो । जुन हिसाबले मानवीय क्षति भयो, मन विक्षिप्त भयो । अहिले त्यो संख्या बढेर ५० जना नाघिसकेको छ । त्यो घटनापछि मेरो पनि जेनजी पुस्ताको मागप्रति समर्थन थियो,’ थापाले भनेका छन्, ‘तर, भोलिपल्टको आन्दोलनमा जसरी घुसपैठ भयो, अराजक समूहले ध्वंस मच्चायो, त्यसले देशमा ठूलो आर्थिक तथा ऐतिहासिक अभिलेख, दस्तावेज नष्टमात्रै गरेन, ममाथि ठूलो अपमान र दुश्मनी साँधियो ।’

उनले आन्दोलनलाई आपराधिक समूहहरूले अपहरण गरे र त्यसैको बहानामा मेरो घर, मेरो पसिना र मेरो सपना नियोजित रूपमा लुटपाट, तोडफोड र आगोले खरानी पारिदिएको बताएका छन् ।

राष्ट्रबैंकको जागिरबाट २०६० सालमा अवकाशपछि व्यवसायमा नयाँ मोड लिएको बताउँदै थापाले उपदान र पैत्रिक सम्पत्तिलाई आधार बनाएर मोटरसाइकल वर्कसपको सानो कोठाबाट सुरु भएको मेरो व्यवसाय तीन दशकमा रि–कन्डिसन, अटोमोबाइल, वित्तीय संस्था, घरजग्गा आवास, आतिथ्य र पर्यटनसम्म विस्तार गरेको उल्लेख गरेका छन् ।

‘यस यात्रामा अनेकौँ कठिनाइ थिए । ऋणका लागि बैंकको ढोका ढकढक्याएको दिन, घाटा सहेर पनि मजदुरको तलब नरोकिन दिने संघर्ष, निराशाले ढाकेको लामो रातहरू ताजै छन् । तर यी सबै संघर्षलाई जितेर हजारौँ युवालाई रोजगारी दिने अवसर पाएँ,’ थापाले भने, ‘आज मेरो इमान र श्रमलाई कलंकित गर्दै, भ्रष्टाचारको निराधार आरोप लगाइयो र मेरो सम्पत्ति खरानी बनाइयो ।’

जसले जीवनभर इमानदारीलाई धर्म ठानेर पसिना बगायो, उसलाई दोषी मान्नुभन्दा ठूलो अन्याय के होला ? भन्दै उनले प्रश्न गरेका छन् । व्यावसाय विस्तार गर्दै जनताको सेवा, युवाको भविष्य र जनजिविकासँग जोडिनुपर्छ भनेर राजनीतिमा प्रवेश गरेको उनले बताएका छन् ।

२०७४ सालमा गण्डकी प्रदेश सभा सदस्य हुँदै मन्त्री भएर फेरि पनि २०७९ सालमा फेरि जनताले विश्वास गरेर जिताएपछि सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीको रुपमा सेवा दिइरहेको उनको भनाइ छ ।

देशमै बसेर व्यवसाय गर्नु, युवालाई रोजगारी सिर्जना गर्नु, समाजसेवामा लगाव देखाउनु ठूलो अपराध हो ? भन्दै थापाले प्रश्न गरेका छन् । उनले एक पैसा भ्रस्टाचार गरेको प्रमाणित भए जस्तोसुकै कठोर सजाय भोग्न तयार रहेको बताएका छन् ।

‘दशकौँको मिहिनेतले, आफ्ना आँसु र पसिनाले जोडेको श्रम–सम्पत्ति एकै झड्कामा धुलोमा मिलेको देख्दा, लाग्छ—आफ्नै हातले माया गरेर हुर्काएको बिरुवालाई कसैले निर्ममतापूर्वक उखेलेर जलाइदिएको हो,’ थापाले भनेका छन्, ‘भौतिक सम्पत्तिहरू जलेर नष्ट भए, संरचना खण्डहर बने पनि मेरो आत्मबल, इमानदारी र प्रतिबद्धता जल्न सक्दैन ।’

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?