
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको पर्यटन पुनरुत्थानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले सामूहिक ऐक्यबद्धता जनाएका छन्।
- पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले नीतिगत अडचन फुकाउन मन्त्रालय प्रतिबद्ध रहेको र निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताए।
- पर्यटन बोर्डले नेपाल सुरक्षित गन्तव्य भएको सन्देश प्रवाह गर्न र होटल व्यवसायीले पाहुनालाई स्वागत गर्न तयार रहेको उल्लेख गरेको छ।
३० भदौ, काठमाडौं । नेपालको पर्यटन पुनरुत्थानमा सरोकारवालाले सामूहिक ऐक्यबद्धता जनाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल पर्यटन बोर्डको समन्वयमा सोमबार यसबारे छलफल भएको छ ।
जेनजी प्रदर्शनका कारण नेपालको पर्यटन संरचनामा ठूलो क्षति पुगेको छ । यसबाट सिर्जित चुनौतीबीच नेपालको पर्यटन क्षेत्र पुनरुत्थान हुने बैठकको निष्कर्ष छ ।
पर्यटन मन्त्रालयका सचिव तथा पर्यटन बोर्डका अध्यक्ष हरिप्रसाद मैनालीले पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न नीतिगत अडचन फुकाउन मन्त्रालय प्रतिबद्ध रहेको बताए ।
उनले निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको पनि बताए । पर्यटन क्षेत्र पुनरुत्थानका लागि आवश्यक सुधारका काममा तत्काल पहल थालिएको उनको भनाइ छ ।
नेपालको छवि सुधार र सूचना प्रविधिको अधिकतम प्रयोग मार्फत नेपाल सुरक्षित गन्तव्य भएको विषय पर्यटक लक्षित मुलुकमा प्रवाह गर्न आवश्यक पहल हुने उनले बताए ।
पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले यस सिजनलाई सक्रिय बनाउन ‘पर्यटन प्याकेज’ हरू सार्वजनिक गर्नुपर्ने बताए । उनले दूतावास, एनआरएनए र अन्य सञ्जाल मार्फत नेपाल सुरक्षित छ भन्ने सन्देश दिन आवश्यक रहेको बताए ।
पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख मणिराज लामिछानेले पोखरामा रहेका पर्यटन व्यवसायीसँग त्यहाँ भएको क्षतिको विवरण संकलनका लागि समन्वय भइरहेको उल्लेख गर्दै त्यहाँ आवागमन गर्ने पर्यटकलाई आवश्यक सहजीकरण गर्न तयार रहेको उल्लेख गरे ।
‘हाम्रा ट्रेकिङ रुटहरू सुरक्षित छन् र साहसिक पर्यटकीय गन्तव्यमा पनि सहज आवागमन सुरु भइसकेको छ,’ उनले भने, ‘त्यसकारण पोखरा आवागमन गर्ने पर्यटकलाई सहजीकरणका लागि हामी तयार छौं ।’
त्यसैगरी होटल एसोसिएन नेपाल (हान) अध्यक्ष विनायक शाहले होटल व्यवसायमा क्षति भए पनि पाहुनाका लागि स्वागत र आतिथ्य सेवामा कुनै कमी नहुने बताएका छन् ।
‘साहसिक पर्यटनका क्षेत्रमा खासै असर परेको छैन । साहसिक पर्यटनका क्षेत्र सुरक्षित भएकाले पर्यटक संख्या बढ्दै गएको छ,’ उनले थपे ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा) अध्यक्ष कुमारमणि थपलियाले नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् ।
‘प्राकृतिक विपद् र अहिलेको संकट फरक भएका कारण हामीले दीर्घकालीन समाधानमा काम गरिरहेको छौं र थप रणनीति बनाउनुपर्ने छ,’ उनले भने ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विगतका विपद् तथा विभिन्न संकटका समयमा पनि नेपालको पर्यटन क्षेत्र पुनरुत्थान भएको उदाहरण दिँदै आत्मविश्वास साथ पर्यटन क्षेत्र सक्रिय बनाउन लाग्नुपर्ने बताए ।
त्यसैगरी बोर्डले सोमबार नै नेपालमा रहेका पाँचतारे र चारतारे होटलका प्रमुख, महाप्रबन्धक तथा प्रतिनिधिसँग पनि छलफल गरेको छ । छलफलमा राज्यले सहजीकरण गरिदिएको अवस्थामा होटल व्यवसायी पाहुना स्वागत गर्न तयार रहेका छन् ।
प्रतिक्रिया 4