
News Summary
Generated by OK AI. Editorially reviewed.- देशभरिका ८ बन्दरगाहमध्ये सबैभन्दा धेरै क्षति काँकडभिट्टा सुक्खा बन्दरगाहमा भएको छ।
- नेपाल इन्टरमोडल यातायात विकास समितिले क्षति भएको सुक्खा बन्दरगाहमा पुनर्निर्माणको काम थालिएको जनाएको छ।
- अर्थ मन्त्रालयका अनुसार मेची, भद्रपुर, कैलाली र जनकपुर भन्सार कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका कारण व्यापार सुचारु हुन सकेको छैन।
३१ भदौ, काठमाडौं । देशभरिका ८ बन्दरगाहमध्ये सबैभन्दा धेरै क्षति काँकडभिट्टा सुक्खा बन्दरगाहमा भएको पाइएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार त्यसपछि विराटनगर र भैरहवास्थित सुक्खा बन्दरगाहमा समेत धेरै क्षति भएको छ ।
अहिले इन्टरमोडल विकास समितिले प्राविधिक सहितको टोली क्षति भएको सुक्खा बन्दरगाहहरुमा खटाएर क्षतिको आंकलन सुरु गरेको समितिका कार्यकारी निर्देशक आषिश गजुरेलले जानकारी दिए । उनका अनुसार बन्दरगाहहरुमा अहिले पुनर्निर्माणको काम थालिएको छ । संरचनागत के के सुधार गर्न सकिन्छ भन्नेमा अध्ययन गरी सो अनुसार काम थालिएको उनले बताए ।
काँकडभिट्टा बन्दरगाहको गोदाममा सबैभन्दा बढी क्षति भएको पाइएको छ । आन्दोलनको एक सातापछि मंगलबारसम्म पनि गोदाममा आगो लागिरहेको थियो । गोदाम पूर्ण रूपमा क्षति भएको र सामान जलेको पाइएको छ । गोदाममा घरायसी सामान, सिसा, मदिरा, कागजजन्य सामान र चिया रहेको उनले जानकारी दिए । यी सामानमध्ये कतिपय चोरी भएको र कतिपय जलेर नष्ट गराइएको पाइएको गजुरेलले बताए ।
मेची भन्सारमा तोडफोड र आगजनी गरिएको पाइएको छ । कतिपय व्यक्तिले आफूले लगेका सामान फिर्ता समेत गर्न थालेको गजुरेलले जानकारी दिए ।
उनका अनुसार मेची भन्सार कार्यालयका झ्यालका सिसा फुटाइएको छ । क्याबिनहरूमा क्षति गरिएको छ । भन्सार प्रमुख बस्ने कोठा शतप्रतिशत जलेको छ । यहाँ प्राविधिक चेकजाँच पनि सो भवनको के गर्ने भन्ने निर्णय गरिने उनले जानकारी दिए ।
अर्थ मन्त्रालयका अनुसार भन्सार विभाग मातहतका मेची, भद्रपुर, कैलाली र जनकपुर भन्सार कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त अवस्था छ । सोही कारण त्यहाँबाट व्यापार सुचारु हुन सकेको छैन ।
विराटनगर, नेपागञ्ज, भैरहवा र ठाँडी भन्सार कार्यालयमा भने आंशिक क्षति पुगेको देखिएको छ । मुख्य भन्सार कार्यालयहरूमध्ये वीरगञ्जमा क्षति नभएका कारण सुचारु रहेको छ ।
अर्थ मन्त्रालयका अनुसार क्षति नभएका भन्सार कार्यालयहरूबाट २६ भदौदेखि नै सेवा सुचारु गरिएको थियो । सोहीकारण अहिले वैदेशिक व्यापार नियमित भएको छ ।
अर्थ मन्त्रालयका अनुसार आन्तरिक राजस्व विभाग मातहतका दमक, इटहरी, विराटनगर, लाहन, जनकपुर, सिमरा, हेटौडा, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेलधुरा र पोखरास्थित कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । कृष्णनगर र धुलिखेलस्थित आन्तरिक राजस्व कार्यालय र इलाम तथा सिन्धुली जिल्ला स्थित करदाता सेवा कार्यालयमा आंशिक क्षति पुगेको छ । काठमाडौं उपत्यकाका ३ र बाहिरका ४ गरी कुल ७ कोष तथा नियन्त्रक कार्यालयको भौतिक संरचनामा क्षति पुगेको पाइएको छ ।
प्रतिक्रिया 4