+
+
Shares

चितवनका ६ वटा पालिका जल्दा यसरी जोगियो माडी

सूचना पाएलगत्तै आन्दोलनकारीका अगुवासँग फोन गर्दै नगर प्रमुख ताराकुमारी काजी महतोले माडीकै जनताको करबाट बनाएको संरचना नजलाउन आग्रह गरिन् । आन्दोलनकारीलाई कन्भिन्स गर्दै उनीहरूले उठाएका माग पूरा गर्ने प्रतिबद्धता जनाइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३१ गते १९:३४
माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनका ६ पालिकामा जेन-जी प्रदर्शनमा भएको तोडफोड र आगजनीबाट ठूलो क्षति पुगेको छ भने माडी नगरपालिका भने सुरक्षित छ।
  • भरतपुर महानगरपालिकामा दुई अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ।
  • माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले आन्दोलनकारीसँग संवाद गरी पालिका संरचना जोगाउन सफल भएकी छिन्।

३१ भदौ, चितवन । गत २४ भदौको जेन-जी प्रदर्शनमा भएको तोडफोड तथा आगजनीबाट चितवनका ६ वटा पालिका क्षतिग्रस्त हुँदा माडी भने जोगिएको छ ।

भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका प्रदर्शनकारीको आक्रमणबाट क्षतिग्रस्त भएका छन् । माडी नगरपालिकामा भने कुनै क्षति भएको छैन ।

आगजनी भएकामध्ये पनि भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकामा ठूलो क्षति भएको छ ।

प्रदर्शनकारीले वडा कार्यालय, सवारी साधन तथा प्रशासनिक मूल भवनलाई निसाना बनाएका छन् । पालिका प्रमुख र उपप्रमुख तथा कतिपय वडाध्यक्षको घरसमेत तोडफोड गरिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीको घर जलाइएको छ । अन्य पालिका प्रमुखको भने घर तोडफोड भएको छ ।

भरतपुर महानगरपालिकाको मुख्य प्रशासनिक भवनमा प्रदर्शनकारीले आगो लगाएर ध्वस्त पारिदिएका छन् ।

जेन-जी प्रदर्शनका क्रममा भरतपुर महानगरपालिकामा दुई अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको आकलन गरिएको छ ।

प्रदर्शनकारीले महानगरमा गरेको क्षतिको यकिन विवरण संकलनको काम भइरहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताए ।

२९ वडा रहेको महानगरपालिकामा २० वटा वडामा क्षति पुगेको छ । वडा नम्बर २, ९, ११, १२, २०, २५, २७, २८ र २९ बाहेकका कतिपय वडामा पूर्ण क्षति पुगेको छ भने कतिपयमा आंशिक क्षति भएको छ ।

भरतपुरको केन्द्रमा नै भए पनि भरतपुर-२, ११ र १२ वडा जोगिएका छन् । महानगरको स्वास्थ्य र कृषि कार्यालयमा सामान्य क्षति पुगेको छ ।

महानगरका २६ वटा गाडी, पाँच वटा मोटरसाइकल र एउटा स्कुटर जलेर नष्ट भएका छन् । दुई वटा दमकल, एउटा ग्रेडर, दुई वटा कम्प्याक्टर, एउटा ब्रुमर, पानी बोक्ने गाडी एक र सेफ्टी ट्यांकी सफाइ गाडी जलाइएका छन् ।

महानगरपालिका जलाउने र तोडफोड गर्ने समूहले महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीको घर जलाएका छन् । उपप्रमुख अधिकारीको घरमा आगजनी गर्ने क्रममा एक युवकको जलेर मृत्युसमेत भयो । नगर प्रमुख दाहालको घर जलाउन जाने अर्का एक युवक जलेर घाइते भई कीर्तिपुर अस्पतालमा उपचार गराइरहेका छन् ।

पूर्वी चितवनको रत्ननगर नगरपालिकाको मूल प्रशासनिक भवनसहित दुई वटा भवन जलेर नष्ट भएका छन् ।

१६ वटा वडा रहेको रत्ननगरका सबै वडा कार्यालय प्रदर्शनकारीले आगो लगाएर ध्वस्त पारिदिएका छन् । कुनै पनि वडा कार्यालय कामकाज गर्ने अवस्थामा नरहेको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीसहित अन्य दुई सवारी पनि आगो लगाएर नष्ट गरिएका छन् । डोजर २, जेसीबी १, ट्याक्टर ३, पानी बोक्ने गाडी १ र केही मोटरसाइकल प्रदर्शनकारीले जलाइदिएका छन् ।

खैरहनी नगरपालिकाको प्रमुख प्रशासनिक भवनसहित १३ वटै वडा कार्यालय तोडफोड र आगजनी भएको छ । कार्यालयको सभाहल, नगर प्रमुख शशि खनियाँ, उपप्रमुख कविता उप्रेती चढ्ने सवारीका साथै प्रमुख प्रशासकीय अधिकृतको सवारी साधन पनि आगजनीबाट नष्ट भएको छ ।

पालिकाको इन्जिनियरिङ, राजस्व र जिन्सी शाखामा सबैभन्दा बढी क्षति भएको छ । नगर प्रमुख खनियाँ, उपप्रमुख उप्रेती र वडा नम्बर ८ का वडाध्यक्षको घर तोडफोड गरिएको छ ।

कार्यालयका अधिकृत गौरव न्यौपानले आगलागीबाट क्षति पुगेको कार्यालयको सरसफाइ गरिएको बताए ।

राप्ती नगरपालिकाको मुख्य प्रशासनिक भवनसहित ११ वटा वडा कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका छन् । वडा नम्बर १० र १३ मात्रै सग्ला रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर वलीले जानकारी दिए ।

पालिकाको एक स्कुटरमा आगो लगाइएको छ भने बाँकी सवारी साधन सुरक्षित रहेको प्रमुख प्रशासकीय अधिकृत वलीले जानकारी दिए ।

कालिका नगरपालिकाको निर्माणाधीन नयाँ भवन प्रदर्शनकारीले तोडफोड गरेका छन् । मुख्य प्रशासनिक भवन भने भाडाको भएकोले जोगिएको छ ।

नगर प्रमुख विनोद रेग्मीका अनुसार भवनबाट कुर्सी, फोटाहरु ल्याएर जलाउने काम भए पनि भवन भित्र रहेका कागजात र कम्प्युटरहरु सुरक्षित छन् ।

नगर प्रमुख र उपप्रमुखको सवारी साधनसहित ३ वटा गाडीमा आगजानी गरिएको छ । डोजर र अन्य सवारीमा तोडफोड गरिएको छ । पालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ७ मा आगजनी गरेर नष्ट गरिएको छ । वडा नम्बर ८ र ९ मा तोडफोड गरिएको छ ।

प्रदर्शनकारीले नगर प्रमुख रेग्मी र उपप्रमुख सुनिता लामाको घर तोडफोड गरेका छन् । पालिकाको नगरसभा हल र सुकुम्बासी आयोगको कार्यालय भवन आगो लगाएर जलाइएको छ ।

इच्छाकामना गाउँपालिकाको मूल प्रशासनिक भवन तोडफोड गरिएको छ भने सामान बाहिर निकालेर आगजनी गरिएको छ । कार्यालयका ९० प्रतिशतभन्दा बढी सामानमा आगो लगाइएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए ।

उनका अनुसार वडानम्बर २ को कार्यालय आगजनी गरेर नष्ट गरिएको छ भने ४ को कार्यालय तोडफोड गरिएको छ ।

पालिकामा अध्यक्ष दानबहादुर गुरुङ र उपाध्यक्ष माया सिलवाल चढ्ने सवारीमा आगजनी गरिएको छ । ३ वटा मोटरसाइकल जलाइएका छन् । जेसीबी र टिपरको सिसा फुटाइएको छ ।

यसरी जोगियो माडी

जिल्लाका ६ वटा पालिका प्रदर्शनकारीको निसानामा पर्दा नगर प्रमुखको सुझबुझका कारण माडी नगरपालिका भने जोगिएको छ । नगरपालिकाका ९ वटै वडा कार्यालयसहित सबै भवन र सम्पत्ति सुरक्षित छ ।

युवाहरू सडकमा आउने सूचना पाएलगत्तै नगर प्रमुख ताराकुमारी काजी महतोले सर्वपक्षीय बैठक बोलाएर चलाखी गरिन् । उनले यसै पनि पछाडि परेको माडी आन्दोलनबाट हुने क्षतिबाट थप पछाडि पर्ने हुँदा भवन जोगाउने जुक्ति निकालिन् ।

आन्दोलनकारीका अगुवासँग फोन गर्दै माडीकै जनताको करबाट बनाएको नगरपालिकाको संरचना नजलाउन र तोडफोड नगर्न आग्रह गरिन् । पालिकामा आएका आन्दोलनकारीलाई कन्भिन्स गरिन् ।

आन्दोलनकारीले उठाएका मागहरू पूरा गर्ने प्रतिबद्धता जनाइन् ।

चारैतिरबाट चितवन राष्ट्रिय निकुञ्जले घेरेको माडीबाट भरतपुरसम्म आउने सडक राम्रो नहुँदा भोगिरहेको सास्तीलाई मुक्ति दिलाउन पालिकाले आवश्यक बजेट विनियोजन गरेर सडक स्तरोन्नति गर्ने सहमति भयो ।

नगर कार्यपालिका बैठक र नगरसभा तुरुन्तै राखेर माडी नगरको मर्मत सम्भार कोषको ५० लाख र ९ वटा वडाको पूँजीगत रकम गरी ५ करोड २५ लाख रुपैयाँमा भरतपुर जोड्ने निकुञ्ज भित्रको सडक चौडा गरी स्तरोन्नति गर्ने सहमति भएको नगर प्रमुख महतोले बताइन् । उनले माडीले देशमा नै नयाँ सन्देश दिएर पालिकामा भौतिक क्षति हुनबाट रोकेको बताइन् ।

लेखक
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?