+
+
Shares

सिंहदरबारभित्रैको भवनमा बस्नेछ अबको संसद बैठक

बुधबार अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङले आगामी पुससम्म सिंहदरबारमा निर्माणाधीन नयाँ संसद भवनको काम सम्पन्न हुने र त्यही नै संसदको बैठक बस्ने जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १ गते १७:३५

१ असोज, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीले क्षतिग्रस्त बानेश्वस्थित बिआईसीसी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अब संसद बैठक नबस्ने भएको छ ।

बुधबार क्षतिको अवलोकनका लागि पुगेका अन्तरिम सरकारका मन्त्रीहरूले सिंहदरबारभित्रै निर्माण सम्पन्न हुनेक्रममा रहेको भवनबाट संसद बैठक चल्ने बताएका हुन् ।

संघीय संसदका दुवै सदनको बैठक चल्दै आएको बीआईसीसी सम्मेलन केन्द्रमा गएको भदौ २३ र २४ गते आगजनी र तोडफोड भएको थियो ।

बुधबार अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङले आगामी पुससम्म सिंहदरबारमा निर्माणाधीन नयाँ संसद भवनको काम सम्पन्न हुने र त्यहीँ नै संसदको बैठक बस्ने जानकारी दिए ।

आगामी निर्वाचनपछि सिंहदरबारभित्र निर्माण सम्पन्न हुनेक्रममा रहेको संसद भवनबाट बैठक चल्ने मन्त्री घिसिङले बताए ।

आन्दोलनकारीको आक्रमण र आगजनीबाट ध्वस्त भएको बानेश्वरको बीआईसीसी भवनलाई पुनर्निर्माण गरी पुरानै स्वरुपमा फर्काइने उनले बताए ।

मन्त्री घिसिङले तत्कालै सरसफाइ कार्य सुरु गरेर डिजाइनको प्रक्रियामा अघि बढ्ने र अल्पकालीन, दिर्घकालीन योजनामा पुनर्निर्माण सुरु गर्ने बताए ।

मन्त्री घिसिङसँगै अर्थमन्त्री खनाल, गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले समेत आगजनीले ध्वस्त संघीय संसदको भवन निरीक्षण गरेका छन् ।

प्रतिनिधि सभा विघटन भएर आगामी फागुन २१ गतेका लागि निर्वाचन तोकिएको छ । जेनजी युवाहरूले प्रतिनिधि सभा विघटनको माग गरेपछि भदौ २७ गते राति प्रधानमन्त्री नियुक्त भएलगत्तै सुशीला कार्कीले गरेको विघटनको सिफारिश राष्ट्रपतिले सदर गरेका थिए ।

राष्ट्रिय सभाको अधिवेशनको हकमा सिंहदरबारस्थित कृषि तथा प्राकृतिक स्रोत समितिले प्रयोग गर्दै आएको हललाई प्रयोग गर्ने तयारी छ । यस सम्बन्धमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र प्रधानमन्त्री कार्कीबीच छलफल समेत भएको छ ।

हालै भएको भेटमा तिहारपछि राष्ट्रिय सभाको अधिवेशन बोलाउने विषयमा समेत छलफल भएको राष्ट्रिय सभा सचिवालय स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?