
२ असोज, काभ्रेपलाञ्चोक । माथिल्लो भोटेकोशी जलविद्युतले स्थानीयलाई वितरण गर्नुपर्ने सेयरमा विवाद भएपछि भोटेकोशी गाउँपालिका कार्यालयमा बिहीबार दिउँसो तोडफोड भएको छ ।
जलविद्युतले स्थानीयलाई वितरण गर्ने भनिएको सेयरको विवाद नमिलेपछि आन्दोलित स्थानीयहरूले भोटेकोशी गाउँपालिका कार्यालयमा तोडफोड गरेको जिल्ला प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिए ।
केहीले टायरमा आगो बालेर गाउँपालिकामा आगजनी प्रयाससमेत गरेका थिए । ढुंगामुढा तथा तोडफोडबाट गाउँपालिका कार्यालयको सोधपूछ कक्ष तोडफोड, तथा झ्यालका सिसा फुटेको छ । त्यस्तै सूचना पाटी तथा पालिका परिसरका गमला फुटेका छन्।
घटनामा एक जना सामान्य घाइते भएका छन् । कार्यालयमा तोडफोड हुँदा गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पासहित कर्मचारीहरू कार्यालय भित्र नै थिए । आगजनी प्रयास अगाडी कर्मचारीलाई भने बाहिर निकालिएको थियो ।
स्थानीयले माथिल्लो भोटेकोशी जलविद्युत आयोजनासँग १० प्रतिशत शेयर रकम माग्दै आएका थिए । आयोजनाले वार्षिक १२ करोड (६ प्रतिशत) पालिका मार्फत वितरण गर्ने गरि रकम दिँदै आएको थियो ।
जेन-जी आन्दोलनको क्रममा स्थानीयले १० दिनदेखि पावर हाउस बन्द गरेर विद्युत् उत्पादन रोकेका थिए । स्थानीयले १० प्रतिशत शेयर रकम नभई उत्पादन सुचारु नगर्न भनेपनि कम्पनीले गाउँपालिकाका जनप्रतिनिधिसँग मात्र छलफल गरेको जानकारी पाएपछि आन्दोलित स्थानीय आक्रोशित भएका थिए ।
१० प्रतिशत सेयरमा मिल्यो विवाद
४६ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनाबाट करिब दुई दशकअघि विद्युत् उत्पादन सुरु भए पनि स्थानीयलाई वचनबमोजिम सेयर वितरण नभएको भन्दै पटक–पटक विवाद हुँदै आएको छ ।
यही विषयलाई लिएर भोटेकोशी क्षेत्रमा निरन्तर तनाव भइरहने गरेको थियो । बिहिबार तनावकै बीच गाउँपालिका तोडफोड भयो। स्थानीयले आयोजनासंग १० प्रतिशत शेयर रकम मागेर विद्युत् उत्पादन रोकेका थिए।
साझ पालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा र स्थानीय प्रशासनको रोहबरमा स्थानीय र माथिल्लो भोटेकोशी जलविद्युत आयोजनासँग भएको वार्ताले स्थानीयले आयोजनासंग १० प्रतिशत शेयर रकम पाउने सहमति भएको जिल्ला प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिए।
प्रतिक्रिया 4